३० घण्टा पैदल हिँडेर मतपेटिका सदरमुकाम

३० घण्टा पैदल हिँडेर मतपेटिका सदरमुकाम

जाजरकोट : ३० घण्टा पैदल हिँडेर मतपेटिका सदरमुकाम ल्याइएको छ। आइतबार बेलुका ५ बजे मतदान सकिएलगत्तै मतदानस्थलबाट मतपेटिका बोकेर सदरमुकाम हिँडेका कर्मचारी ३० घण्टा लगाएर मंगलबार बेलुका  सदरमुकाम आइपुगे।

तीन दिन लगाएर मतपेटिका ल्याएका मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहयोगी कर्मचारी र सुरक्षाकर्मी थाकेर लखतरान देखिन्थे। बारेकोट गाउँपालिका ९ सिलिङ्चौर ख मतदान केन्द्रका मतदान अधिकृत ऋषभदेव खनाल आफूलाई धेरै पटक चुनाव गराएको अनुभव भएपनि यस पटकजस्तो सास्ती कहिल्यै नपाएको बताउँछन्।

‘करिब ३० घण्टा पैदल हिँडेर सदरमुकाम पुग्यौँ। गाडी चल्ने सडकमा समेत हिँड्नु पर्‍यो’, उनले भने, ‘गाडी चल्ने ३० किलोमिटर र सडक यातायातको पहुँच नपुगेको करिब ४० किलोमिटर गरी ७० किलोमिटर बाटो हिँड्न बाध्य भयौँ।’

मतपेटिकाको सुरक्षालाई ध्यानमा राखेर सुरक्षाकर्मीले पैदलै हिँड्न निर्देशन गरेपछि बारेकोट गाँउपालिका, त्रिवेणीनलगाड नगरपालिका, जुनीचाँदे गाँउपालिका र कुशे गाँउपालिकामा मतदानका लागि खटिएका कर्मचारीले सास्ती पाएका हुन्।

हेलिकप्टरको पर्खाईमा बारेकोट र त्रिवेणीनलगाडका मतपेटिका केही बेर दल्लीमा कुरे पनि नआएपछि उनीहरू पैदलै हिँड्न बाध्य भए। कच्ची बाटोमा विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले विद्युतीय धराप थाप्न सक्ने शंकाले सुरक्षाकर्मीले पैदलै मतपेटिका ढुवानी गरेको हो।

मतपेटिका निकै कमजोर भएकोले कच्ची बाटोमा फुट्न सक्ने भन्दै गाडीको प्रयोग नगरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। भौगोलिक विकटता धेरै भएको जाजरकोटका दुर्गमका मतपेटिका हेलिकप्टरबाट ल्याइएको थियो। यसपटक जाजरकोट भन्दा हिमपात हुने जिल्लातिर हेलिकोप्टर केन्द्रित भएपछि पैदलै हिँडाउनु परेको प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीले बताए।

जिल्लाका एक सय १६ स्थानका मतपेटिका कडा सुरक्षाका साथ सदरमुकामस्थित मुख्य निर्वाचनको अधिकृतको कार्यालयमा राखिएको छ। मतपेटिकालाई काँडेतारका सुरक्षा घेरामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले सुरक्षा प्रदान गर्ने भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रत्यक्षतर्फको मतपेटिका कार्यालयकै एक कोठामा राखेको छ भने समानुपातिकतर्फको मतपेटिका कार्यालय परिसर नजिकै वृद्धाश्रम केन्द्रको हलमा राखेको छ।

वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनले मुख्य निर्वाचन अधिकृतले लगाएको तालामा दलहरुले पनि लगाएर पहरा दिइरहेका छन्। जाजरकोटमा ८३ हजार ९ सय ३६ मत मध्ये ७२.४५ प्रतिशत मत खसेको छ। प्रतिनिधिसभामा एक र प्रदेश सभामा दुई निर्वाचन क्षेत्र रहको यस जिल्लामा प्रतिनिधिसभामा ५ र प्रदेशसभामा ९ उम्मेदवार छन्। निर्वाचनमा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनबीच प्रतिस्पर्धा हुने देखिएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.