गृहजिल्लामा ओलीको खेल राजनीति

गृहजिल्लामा ओलीको खेल राजनीति

दमक : केही समयअघि थाइल्यान्डमा भएको एसीसी यू—१९ युथ एसियाकप क्रिकेटमा नेपालले बलियो टेस्ट मान्यता प्राप्त राष्ट्र भारतलाई हराउँदा नेपाली खेलकुदमा गतिलै उत्साह छायो। भारतलाई समेत पछि पार्दै नेपाली युवा उक्त प्रतियोगिताको सेमिफाइनलमा पुगेपछि त आम खेलप्रेमीले त्यसलाई अझ ठूलो उपलब्धिको रूपमा खुसीयाली मनाए।

प्रतियोगिताको सेमिफाइनलसम्म पुगेर नेपाली युवा टोली स्वदेश फर्कंदा भने त्यसको खासै चर्चा परिचर्चा भएन्। तर, केही दिनपछि नै नेपाल कम्युनिस्ट पार्टी एमालको अध्यक्ष केपी शर्मा ओली तिनै युवा खेलाडीको सम्मान गर्न अगाडि आए। सम्मान कार्यक्रममा ओलीले प्रतियोगितामा सहभागी हुन विदेश प्रस्थान गर्नुअघि युवा खेलाडीको बिदाइ नगरिएको तिक्तता पनि पोखे। अनि उनले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलगत्तै वाम गठबन्धनको सरकार बन्ने त्यो सरकारले नेपाल क्रिकेट संघ (क्यान) को विवाद समाधान गर्ने आश्वासन पनि बाँड्न भ्याए।

यसैगरी मंगलबारमात्र वाम गठबन्धनद्वारा काठमाडौं क्षेत्र नम्बर १ मा आयोजित चुनावीसभामा पनि ओलीले राजनीतिसँग खेलकुदलाई जोड्दै बार्सिलोनाको चर्चित अर्जेन्टिनी खेलाडी लियोनल मेसीको उदाहरण अघि सारे। उनले उक्त क्षेत्रका वाम गठबन्धनका उम्मेदवार अनिल शर्माको समर्थन गर्दै विपक्षीलाई कटाक्ष गर्न मेसीलाई उदाहरणको रूपमा प्रस्तुत गरेका थिए। ‘खेलमैदानमा ओर्लिएरमात्र हुँदैन, मैदानमा आइसकेपछि मेसीजस्तो स्कोर पनि गर्न सक्नुपर्छ', सो कार्यक्रममा विपक्षी उम्मेदवारप्रति लक्षित गर्दै ओलीले भनेका थिए।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली बुधबार फेरि चुनावी कार्यक्रमकै क्रममा खेलकुदसँग मजैले जोडिन पुगे। यसपटक भने उनी आफ्नै निर्वाचन क्षेत्रअन्तर्गत पर्ने झापाको दमक नगरपालिकामा आयोजित चुनावीसभामा खेलाडीमाझ प्रस्तुत भएका थिए। पूर्वाञ्चलका करिब एक हजार खेलाडी, प्रशिक्षक तथा खेल पदाधिकारीलाई सहभागी गराएर ओलीको निर्वाचन क्षेत्रमा नेपाल खेलकुद महासंघ र अखिल नेपाल खेलकुद महासंघद्वारा आयोजित कार्यक्रममा ओलीले करिब २० मिनेटसम्म नेपाली खेलकुद क्षेत्रको राम्रा र नराम्रा पक्षको विषयमात्र बोले।

अधिकांश कार्यक्रमहरूमा ठट्यौली पारमा प्रस्तुत हुन ओलीले आफ्नै निर्वाचन क्षेत्रमा खेलाडीहरूद्वारा आयोजित कार्यक्रममा भने खासै ठट्यौली गरेनन्। पछिल्लो समय पटकपटक खेलकुद क्षेत्रसँग नजिकको सम्बन्ध गाँस्न अग्रसर देखिएका ओली खेलकुद क्षेत्रसँग नजिकिएर युवा वर्गको विश्वास जित्न चाहन्छन्। ‘ओली प्रतिकूल अवस्थामा प्रधानमन्त्रीको बागडोर सम्हाल्न आएका थिए। त्यतिबेला रोटीबेटीको सम्बन्ध रहेको भारतले नेपालमाथि नाकाबन्दी लगाएको थियो। तर, उनी अन्तिम समयसम्म पनि आफ्नो अडानमा कायम रहे। भारतले नाकाबन्दी नखोलेर आपत्विपत पर्दा पनि ओलीको पक्षमा आवाज उठाउने युवा नै थिए। त्यसैले पनि पछिल्लो समय युवावर्गसँग नजिकिएर उनीहरूको विश्वास जित्ने अभियानमा छन्। खेलकुदसँग उनको बढ्दो निकटताको एउटा कारण यो पनि हुन सक्छ पछिल्लो समय युवा वर्गसँग नजिकिएर उनीहरूको विश्वास जित्ने अभियानमा छन्', एमालेसँग निकट एक खेल अधिकारी भन्छन्।

उसो त एमाले अध्यक्ष ओली आफंै पनि निवासमा नियमित रूपमा टेबुलटेनिस खेल्छन्। केही समयअघि राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान हरि खड्काले ओलीसँग उनकै निवासमा टेबुलटेनिस खेल्दै गरेको तस्बिर आफ्नो फेसबुकमा राखेका थिए। झापामा आयोजित एक कार्यक्रममा सहभागी हुने निम्तो दिन ओली निवास पुगेका हरिलाई ओलीले नै टेबुलटेनिस खेलेर आफूलाई हराउन चुनौती दिएको हरिले बताएका थिए।

‘खेलकुद क्षेत्रको चाहना, खेलमैत्री सरकारको स्थापना' भन्ने नारासहित बुधबार दमकमा आयोजित कार्यक्रममा ओलीले खेलकुद क्षेत्रलाई बेवास्ता गरेर मुलुकको समग्र विकास सम्भव नरहेको धारणा व्यक्त गरे। उनले आगामी सरकार वामपन्थीको बन्ने र उक्त सरकारले खेलकुद क्षेत्रको विकासका लागि उल्लेख्य रूपमा बजेट छुट्याउने आश्वासन पनि बाँड्न भ्याए। अन्तर्राष्ट्रिय जगत्मा देशको पहिचान र सभ्यतालाई उजागर गर्न पनि खेलकुद अत्यावश्यक रहेको उनको ठम्याइँ छ।

पूर्वप्रधानमन्त्री ओलीले कार्यक्रममा गजबको उदाहरण दिँदै खेलकुदलाई नागरिकको स्वास्थ्यसँग जोडे। ‘मस्तिष्क, मुटु, फोक्सो र मसल्सको उपयुक्त तालमेल नै सफल खेलाडीको परिचय हो। त्यसैले खेलकुदमा गरिएको लगानी स्वस्थ्य नागरिक तयार पार्न गरिएको लगानी हो', ओलीको कथन थियो। कार्यक्रममा ओलीले अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि खेलाडी छनोट गर्दा धाँधली हुने गरेको गुनासो आउने गरेको गुनासो पनि गरे।

ओलीको सम्बोधनलगत्तै धन्यवादज्ञापन गर्न आएका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव केशवकुमार विष्टले पनि ओलीको प्रशंसा गर्न कन्जुस्याइँ गरेनन्। सदस्यसचिव विष्टले ओलीलाई चतुर र कुशल राजनीतिक खेलाडीको संज्ञा दिन भ्याए, त्यो पनि अन्तर्राष्ट्रिय स्तरकै। ‘म ठोकुवा गरेर भन्न सक्छु, एमाले अध्यक्ष ओली अन्तर्राष्ट्रिय राजनीतिकै सबैभन्दा चतुर र कुशल खेलाडी हुनुहुन्छ। नेपाली खेलकुदमा पनि उहाँकै जस्तो नेतृत्वको सल्लाह र सुझाव आवश्यक छ', विष्टले भने।

पूर्वाञ्चलका अधिकांश जिल्लाका खेलाडी र खेल पदाधिकारीको सहभागिता रहेको उक्त कार्यक्रममा नेपाल खेलकुद महासंघका अध्यक्ष एवं पूर्वयुवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेल, पूर्वस्वास्थ्य राज्यमन्त्री धर्मशीला चापागाईं, अखिल नेपाल खेलकुद महासंघका उपाध्यक्ष किरण गिरी, नेपाल खेलकुद महासंघको उपाध्यक्ष कुसुम श्रेष्ठ, राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान हरि खड्कालगायतको उपस्थिति रहेको थियो।

एमाले अध्यक्ष ओली मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभाका उम्मेदवार हुन्। कुल एक लाख ३७ हजार पाँच सय १४ मतदाता रहेको उक्त क्षेत्रमा ओलीका प्रतिद्वन्द्वी हुन् नेपाली कांग्रेसका डा. खगेन्द्रपाण्डव अधिकारी। गौरादह नगरपालिका वडा नम्बर ३ निवासी अधिकारी त्रिभुवन विश्वविद्यालयबाट राजीनामा दिएर चुनावी अभियानमा होमिएका हुन्। अधिकारीले एकसिंगे गैंडामा विद्यावारिधि गरेका छन्। यो क्षेत्रमा राष्ट्रिय प्रजातान्त्रिक पार्टीले वाम गठबन्धनलाई समर्थन गरेको छ। केही समयअघि दमकमै आयोजित कार्यक्रममा राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनले आफ्ना कार्यकर्तालाई ओलीको पक्षमा मतदान गर्न ह्विप जारी गरेका थिए। बुधबार आयोजित कार्यक्रममा समेत राप्रपाका सहमहामन्त्री राम थापा आफैं पनि मञ्चमा उपस्थित थिए। त्यसैले यो क्षेत्रमा ओली र अधिकारीबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।

रंगशाला र राजनीति

यसअघि नेपाल राजनीतिमा खेलकुद सायदै निर्वाचनको मुद्दा बनेको थियो। तर, मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा झापाको ‘आदिवासी रंगशाला' राजनीतिक दलका लागि निर्वाचनको प्रमुख एजेन्डा बन्न पुगेको छ।

यो रंगशालाको नामको विषयलाई लिएर लामो समयदेखि विवाद हुँदै आएको छ। बुधबार दमकमा आयोजित कार्यक्रममा पनि यो रंगशाला चर्चाको विषय बन्यो। कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीले जसले जति विरोध गरे पनि रंगशाला बनाएरै छोड्ने उद्घोष गरे। उनले दमकमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण गर्ने बताए।

ओलीले कमल गाउँपालिकामा अन्तर्राष्ट्रियस्तरको रंगशाला बनाउन खोज्दा नामको विषयलाई लिएर केही पक्षले राजनीतीकरण गरेको बताए। उनले रंगशालाको विषयमा राजनीति नगर्न आग्रहसमेत गरे। उनले भने, ‘जसले जे विरोध गरे पनि अब दमकमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला बन्छ बन्छ।' नामको विषयमा विवाद भएपछि कमल गाउँपालिका-५ मा निर्माणाधीन रंगशालाको निर्माणकार्य पनि अलपत्र परेको छ।

आदिवासी रंगशाला बनाउने सहमतिमा सात वर्षअघि सुरु गरिएको रंगशालाको निर्माणकार्य राजनीतिक खिचातानीले प्रभावित बनेको हो। आदिवासीको समाधिस्थल रहेको साबिक लखनपुर-१ स्थित सो स्थानमा समाधिहरू उत्खनन गरेर २०६६ सालबाट रंगशाला निर्माण सुरु गरिएको थियो। तर, पछिल्लो समय रंगशालाको नाममा विवाद आउँदा निर्माण कार्य अनिश्चित बनेको हो।

निर्माण प्रक्रिया सुरु गर्दा आदिवासी रंगशाला बनाउने सहमति भए पनि ओलीले मदन भण्डारी रंगशाला नामकरण गर्ने भनेपछि आदिवासी रंगशाला तथा स्मृति प्रतिष्ठान रुष्ट बन्दै आएको छ। २०६७ साल वैशाखमा आदिवासी रंगशालाका नाममा तत्कालीन रक्षामन्त्री तथा हालका राष्ट्रपति विद्यादेवि भण्डारीले रंगशालाको शिलान्यास गरेकी थिइन्।

खेलकुदमा लगानी स्वस्थ्य नागरिक तयार पार्न गरिएको लगानी हो । केपी ओली, एमाले अध्यक्ष

पहिलो पटक आर्थिक वर्ष २०६७/०६८ मा अर्थ मन्त्रालयबाट एक करोड रुपैयाँ बजेट विनियोजन भएपछि रंगशाला सम्याउने कार्य भएको थियो। त्यसपछि रंगशालाको नाम परिवर्तन हुने भएपछि आदिवासी रंगशाला तथा स्मृति प्रतिष्ठानले नाम परिवर्तन गरेर कुनै हालतमा निर्माण गर्न नदिने बताउँदै आएको छ। ३५ बिघाभन्दा बढी क्षेत्रफलमा निर्माण सुरु गरिएको उक्त रंगशालाको स्तम्भ, तारजालीको बेरा, प्याराफिट र मैदानको स्तरोन्नतिको कार्य अलपत्र छ। नेपाली कांग्रेसले भने रंगशालाको नाम आदिवासी रंगशाला नै हुनुपर्ने अडान लिँदै आएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.