आर्मी र मनाङको उपाधि जित्ने दाउ

आर्मी र मनाङको उपाधि जित्ने दाउ

काँकडभिट्टा : झापाको काँकडभिट्टामा जारी राजधानी बाहिरको सर्वाधिक पुरस्कार राशिको मेची नेत्रालय काँकडभिट्टा गोल्डकप फुटबल प्रतियोगितामा शुक्रबार मनाङ मस्र्याङ्दी क्लब र विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबबीच उपाधि भिडन्त हुँदैछ । प्रतियोगिताको उपाधि जित्नेमा दुवै टोली ढुक्क रहेको बताएका छन् ।

त्रिभुवन आर्मी क्लबका प्रशिक्षक नवीन न्यौपानेले आफ्नो टोली ‘रिदम’मा रहेकाले उपाधि जित्ने पक्का भएको बताए । ‘म आशावादी छु, हाम्रो टोलीले पक्का पनि जित हासिल गर्नेछ’, न्यौपानेले भने । झापामा आर्मी र मनाङको भेट दोस्रोपटक हुन लागेको हो । यसअघि सताक्षी गोल्डकपको फाइनलमा आर्मीले मनाङसँग खेलेको थियो । उक्त गोल्डकपको उपाधि आर्मीले नै हात पारेको थियो ।

तर, आर्मीलाई मनाङसँग उपाधि खोस्नु सहज भने छैन । आर्मीका प्रशिक्षक न्यौपानेले मनाङ सेटमा खेल्ने टोली भएकाले त्यही अनुसारको रणनीतिमा खेल्ने बताए । ‘मनाङमा नौजना राष्ट्रिय टोलीमा आबद्ध खेलाडी छन् । त्यही कारण हामीलाई पनि त्यही अनुसारको रणनीति बनाउनु आवश्यक छ’, उनले भने । उनले आफ्नो टोलीले खेलको सुरुआतदेखि नै अट्याकिङ गेम खेल्ने बताए ।

आर्मीका कप्तान भरत खवासले आफ्नो टिमका चर्चित खेलाडी नवयुग श्रेष्ठ घाइते भएका कारण उनको अभाव खड्किएको बताए । तर, उनको स्थानमा नयाँ खेलाडी दिनेश हेनजनले राम्रो खेलिरहेका कारण श्रेष्ठको अभाव परिपूर्ति हुने आशा खवासले राखे । ‘हामी कमजोर छैनौं । फाइनलमा हाम्रो रणनीति अन्य खेलको भन्दा फरक हुन्छ’, खवासले भने ।

मनाङ मस्र्याङ्दी क्लबका कप्तान विराज महर्जनले आर्मीसँग सताक्षी गोल्डकपको बदला लिने सुनौलो मौका भएको बताए । उनले आफ्नो टोलीले गरेको गल्तीलाई सुधारेर फाइनलका लागि मैदानमा उत्रने बताए । ‘सताक्षी गोल्डकपमा हाम्रो टोलीबाट भएको कमीकमजोरीलाई सुधार गरेर यसपटकको उपाधि जित्ने प्रयत्नमा छौं’, महर्जनले भने । उनले आफ्नो टोलीमा स्ट्राइकिङ पावर कमजोर भएको स्वीकार गरे ।

यसअघि मनाङले खेलेका दुईवटा खेलमा टाइब्रेकरमा मात्र जित निकालेको थियो । उनले यसपटक भने निर्धारित समयमै गोल स्कोर गर्ने प्लान रहेको बताए । मनाङले दुई महिनाअघि चितवनमा भएको जेसिस कपमा सशस्त्र प्रहरीको एपीएफ क्लबलाई पराजित गर्दै उपाधि जितेको थियो । उनले आफ्नो टोलीले खेल्ने गरेको ४-३-३ को सेटलाई फाइनलमा ४-४-२ को सेटमा खेल्ने बताए । प्रतियोगिताको विजेताले आठ लाख रुपैयाँ पुरस्कार पाउनेछ । उपविजेताले चार लाख एक हजार रुपैयाँ पाउनेछन् ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.