भक्तपुर २ : दमन र महेशबीच कडा टक्कर, अनुराधाको छुट्टै दाबी

भक्तपुर २ : दमन र महेशबीच कडा टक्कर, अनुराधाको छुट्टै दाबी

भक्तपुर : निर्वाचन नजिकिएसँगै विभिन्न दलका उम्मेदवार सार्वजनिक कार्यक्रमभन्दा भित्री बैठक र भेटवार्तामा व्यस्त हुन थालेका छन्। भक्तपुरका दुई निर्वाचन क्षेत्रमध्ये २ नम्बर क्षेत्रका उम्मेदवारको पछिल्लो दैनिकी पनि यस्तै व्यस्ततामा बित्न थालेको छ। उम्मेदवारले चुनाव प्रचारप्रसार गर्न घरदैलो, सभा, बैठक लगभग टुंग्याइसकेका छन्। त्यसैले उनीहरू अहिले आन्तरिक बैठक र भेटवार्तामार्फत मन्त्रणा गर्न व्यस्त छन्।

भक्तपुरमा क्षेत्र नं २ सबैको चासोको क्षेत्र हो। बीचमा धेरै वर्ष निष्क्रिय रहेका पूर्वसभामुख दमननाथ ढुंगानाले कांग्रेसको टिकट पाएसँगै यस क्षेत्रमा सबैको ध्यान केन्द्रित भएको छ। क्षेत्र नं १ नेपाल मजदुर किसान पार्टीका प्रभाव बढी भए पनि क्षेत्र नं २ मा कडा प्रतिस्पर्धा हुने देखिन्छ। यहाँ लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनबीच कडा प्रतिस्पर्धा छ। त्यसैले पनि यस क्षेत्रमा सबैको ध्यान तानिएको छ। नेमकिपा यहाँ रक्षात्मक स्थितिमा छ भने बाँकी दल निर्णायक अवस्थामा छैनन्।

ढुंगाना र बस्नेतको ‘टर्निङ पोइन्ट’
यहाँ लोकतान्त्रिक गठबन्धनका लागि कांग्रेसका उम्मेदवार पूर्वसभामुख ढुंगाना र वाम गठबन्धनका लागि एमालेका उम्मेदवार महेश बस्नेतबीच कडा टक्करको अवस्था छ।

पूर्वसभामुख ढुंगाना यहाँबाट जितेर आफ्नो राजनीतिको दोस्रो इनिङ सुखद बनाउन लागिपरेका छन्। वाम गठबन्धनका उम्मेदवार पूर्वउद्योगमन्त्री बस्नेत आफू दोस्रोपटक हार्न तयार देखिँदैनन्। यस क्षेत्रको नतिजाले ढुंगाना र बस्नेत दुवैको राजनीतिक भविष्य निर्धारण गर्ने निश्चितप्रायः छ। त्यसैले यो निर्वाचनलाई दुवै उम्मेदवारको राजनीतिको टर्निङ प्वाइन्ट मानिएको छ।

तर, निर्वाचनको अन्तिम नतिजा नआएसम्म केही भन्न सकिने अवस्था छैन। राजनीतिक विश्लेषकहरू निर्वाचनअघि गरिने खुला प्रचारप्रसारभन्दा चुनावको अघिल्लो रात हुने गतिविधिले सम्भावित परिणाम नै उल्ट्याउने बताउँछन्। स्वतन्त्र मतदाता पनि यही समयमा एउटा पक्षबाट अर्कोतिर ढल्कन्छन्। त्यसैले चुनावको अन्तिम नतिजा नआउन्जेल भक्तपुर क्षेत्र नं २ मा कसले बाजी मार्छ, अहिल्यै भन्न सहज छैन।

यस क्षेत्रको नतिजाले ढुंगाना र बस्नेत दुवको राजनीतिक भविष्य निर्धारण गर्ने निश्चितप्रायः छ।

भक्तपुरको आवश्यकता केन्द्रीय नेता : ढुंगाना
लोकतान्त्रिक गठबन्धनका उम्मेदवार पूर्वसभामुख ढुंगानाले यस क्षेत्रमा आफूले जित्ने दाबी गरेका छन्। उनले भक्तपुरको आवश्यकता स्थानीय नभई केन्द्रीय नेता रहेको र त्यो आफ्नो उम्मेदवारीले पूरा गरेको तर्क गरे।

‘भक्तपुरको पहिचान र क्षमता देशभर मात्रै होइन, विश्वमै उजागर गर्न स्थानीय होइन, केन्द्रीय नेताको आवश्यकता छ’, उनले भने, ‘मेरो उम्मेदवारी त्यही आवश्यकताको पूर्ति हो।’

उनले भक्तपुरको अव्यवस्थित र अनियन्त्रित सहरीकरण रोक्दै सांस्कृतिक राजधानी बनाउनु आफ्नो एजेन्डा भएको सुनाए। ‘भक्तपुरका युवालाई पर्याप्त रोजगारी सिर्जना गर्नु मेरो पहिलो प्राथमिकता हो’, उनले भने, ‘भक्तपुरमा पर्यटनको दिगो विकासमा म ध्यान दिनेछु।’ युवालाई देशको सुखद भविष्य जिम्मा लगाउन आफू राजनीतिमा फेरि होमिएको उनको तर्क थियो।

१२-१४ हजार बढी मतले जित्छु’
लोकतान्त्रिक गठबन्धनका उम्मेदवार ढुंगानाले यस क्षेत्रमा आफूहरूको मत बढी रहेको दाबी गर्दा वाम गठबन्धनका उम्मेदवार बस्नेतले प्रतिद्वन्द्वीभन्दा १२ देखि १४ हजार बढी मत ल्याएर जित्ने ठोकुवा गरे।

‘हामीले स्थानीय तहको निर्वाचनमै जितेर देखाइसक्यौं। अहिले वाम गठबन्धन भएपछि चार हजार मत बढेको छ’, उनले भने, ‘कांग्रेसले टुरिस्ट उम्मेदवार उठाएपछि कांग्रेसभित्र असन्तुष्टि छ। लोकतान्त्रिक गठबन्धनमध्ये कांग्रेसबाहेक अरूको मत हामीलाई आउँछ।’

भक्तपुर क्षेत्र नं २ मा दोस्रोपटक उम्मेदवारी दिएका नेता बस्नेतले वाम गठबन्धन जित्ने धेरै आधार रहेको सुनाए। भक्तपुरको विकास निर्माणको फेहरिस्त नै बनाएका उनले भने, ‘भक्तपुरको आधा क्षेत्र स्याटेलाइट सिटी बन्दै गर्दा आधा क्षेत्र प्रदेश राजधानी बन्नेछ। जसले गर्दा भक्तपुर व्यवस्थित सहरमा विकास गर्ने हाम्रो मुख्य एजेन्डा हो।’

जनता ठूला दलको विपक्षमा : थापामगर
लोकतान्त्रिक र वाम गठबन्धनका उम्मेदवारले मतदाता आफ्नो पक्षमा रहेको दाबी गरिरहँदा नेमकिपाकी उम्मेदवार अनुराधा थापामगरले भने जनता ठूला दलको विपक्षमा रहेको दाबी गरिन्।

उनले नेपाललाई हरेक दृष्टिले भारतले दुःख दिँदा पनि कांग्रेस, एमाले र माओवादी केन्द्रजस्ता ठूला दलले विरोध नगरेकोमा जनता ती दलसँग आक्रोशित रहेको सुनाइन्। ठूला दलप्रतिको आक्रोश नेमकिपाका उम्मेदवारलाई मतदान गरेर जनताले व्यक्त गर्ने उनको तर्क थियो।

थापामगरले भ्रष्टाचार गर्ने, चेलीबेटी बेचबिखन गर्ने, देशघातीलाई फाँसी दिनुपर्ने नेमकिपाको एजेन्डाबाट जनता प्रभावित भएको बताइन्।
‘शिक्षा र स्वास्थ्य निःशुल्क गर्ने हाम्रो मुख्य एजेन्डा हो’, उनले भनिन्, ‘युवालाई स्वदेशमै रोजगारीको प्रबन्ध गर्ने, नगर तथा गाउँका वडा वडामा शिशुस्याहार केन्द्र तथा बालउद्यान निर्माण गर्ने हाम्रा प्रतिबद्धता हुन्।’

को कति सुदृढ ?
वैशाखमा भएको स्थानीय तह निर्वाचनको आधारमा पनि लोकतान्त्रिक र वाम गठबन्धन प्रतिस्पर्धी देखिएका छन्। यस क्षेत्रमा परेका दुई नगरपालिका मध्यपुर थिमी र सूर्यविनायकको मेयरमा एमाले विजयी भएको थियो। उसले सूर्यविनायकमा उपमेयरसमेत बहुमत वडाध्यक्ष जित्दा कांग्रेसले मध्यपुरमा उपमेयरसहित बहुमत वडाध्यक्षमा जित निकालेको थियो।

निर्वाचनमा लोकतान्त्रिक गठबन्धनका कांग्रेस, राप्रपा र वाम गठबन्धनका एमाले र माओवादी केन्द्र छुट्टाछुट्टै चुनाव लडेका थिए। चुनावमा कांग्रेसका दुइटा मेयरले २१ हजार र राप्रपाका मेयरले ४ हजार गरी लोकतान्त्रिक गठबन्धनसँग २५ हजार मत सुरक्षित देखिन्छ। एमालेका मेयरले २६ हजार र माओवादी केन्द्रका मेयरले दुई हजार पाँच सय मत ल्याएका थिए। तर, मध्यपुरमा नेमकिपासँगको गठबन्धनमा एमालेका मेयरले जित हात पारेका थिए। मध्यपुरमा करिब चार हजार नेमकिपाको मत रहेको मानिन्छ। यस आधारमा भक्तपुर निर्वाचन क्षेत्रमा वाम गठबन्धनसँग २४ हजार पाँच सय मत रहेको देखिन्छ।

यहाँ नेमकिपा लोकतान्त्रिक र वाम गठबन्धनलाई चुनौती दिने शक्ति देखिन्छ। उसले पूर्वसांसद अनुराधा थापामगरलाई उम्मेदवार बनाएको छ। स्थानीय तह निर्वाचनमा नेमकिपाका मेयरले सूर्यविनायकमा दुई हजार बढी मत ल्याउँदा मध्यपुर थिमीमा उसका उपमेयरले आठ हजार बढी मत ल्याएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.