प्रतिस्पर्धीप्रति ओली नरम

प्रतिस्पर्धीप्रति ओली नरम

दमक : झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका एमाले अध्यक्ष केपी शर्मा ओली प्रतिस्पर्धीप्रति ‘लचिलो' रूपमा प्रस्तुत भएका छन्। उनका मुख्य प्रतिस्पर्धी मानिएका कांग्रेसका डा. खगेन्द्रपाण्डव अधिकारी पनि आरोप/प्रत्यारोपभन्दा पनि भोट माग्नमै व्यस्त देखिएका छन्।

गृहजिल्ला झापाका चुनावी सभामार्फत भोट मागेका ओलीले आफूभन्दा पनि बढी वाम गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरेका छन्। उखानटुक्का जोडेर विपक्षीलाई प्रहार गर्ने गरेका उनले यसपालि भने चुनावी सभामा अधिकारीप्रति व्यंग्य कसेका छैनन्। बरु उनले आफ्नो प्रतिस्पर्धी कोही हुनै नसक्ने बताउँदै आएका छन्।

अहिले आफ्नो अभियान वाम शक्तिलाई जोडेर समृद्ध देशको परिकल्पनातर्फ उन्मुख रहेको उनको भनाइ छ। ‘मलाई कसैको बारेमा टीकाटिप्पणी गर्ने फुर्सद छैन। म अहिले देशभर वामपन्थीको दुईतिहाइ बुहमतका लागि कुदिरहेको छु', उनले भने, ‘वामपन्थी सरकार बनाएर हामी देशलाई समृद्ध बनाएर देखाउने प्रयत्नमा छौं। झिना-मसिना कुरामा अल्झने बेला होइन यो।' झापा मात्र नभई समग्र देशकै विकास र समृद्धि आफ्नो एजेन्डा रहेको उनको भनाइ छ।

अधिकारीले भने आफूले आरोप लगाउनुभन्दा पनि जनताबाट ओलीका विषयमा धेरै गुनासो आउने गरेको बताए। ओली पटक-पटक जितेर गए पनि अहिलेसम्म विकासको काम नगरेको, रतुवाको पाता फर्काउने भाषण गरे पनि अहिलेसम्म नदी नियन्त्रण हुन नसकेकोजस्ता गुनासा आउने गरेको उनको भनाइ छ। एकसिंगे गैंडाका विषयमा विद्यावारिधि अधिकारीले ओलीलाई आफूले प्रत्यक्ष आरोप नलगाई ‘जनताका गुनासो' भन्ने गरेका हुन्।

आदिवासी जनजाति रंगशालाको विषयमा भने उनले ओलीप्रति कडा टिप्पणी गरे। पुर्खाको चिहान उत्खनन गरी आदिवासी रंगशाला निर्माण गर्न लाग्दा ओलीले नामको विषयमा ‘बखेडा झिकेर आदिवासी जनजातिको भावनामाथि खेलबाड गरेको' उनको आरोप छ। यो क्षेत्रबाट मतदाता नामावली किन भक्तपुर पुर्‍याएको भन्ने जनताले नबुझेको अधिकारीको तर्क छ। ओलीले भने भूमण्डलीका कारण विश्व साँघुरो भइरहेका बेला ‘यहाँको र उहाँको' भन्नु अर्थहीन हुने बताए।

आफ्नै पहलमा यस क्षेत्रमा विश्वकै अग्लो बुद्ध मूर्ति, भ्युटावर, औद्योगिक ग्रिन पार्क, अन्तर्राष्ट्रिय रंगशाला निर्माणजस्ता महत्वाकांक्षी विकासका योजना अघि बढाएको उनको भनाइ छ। दमकका बाटो कालोपत्रे गर्ने, खोलामा पुल लगाउनेलगायत काम भइरहेको उनले बताए।

उनले दमकमा आयोजित कार्यक्रममा जसले जति विरोध गरे पनि अन्तर्राष्ट्रिय रंगशाला बनाएरै छाड्ने उद्घोषसमेत गरे। रंगशालामा नामको बखेडा नझिक्न उनले आग्रह गरे। स्थानीय तहमा एमाले एक्लैले धेरै स्थानमा जित हासिल गरेको उल्लेख गर्दै उनले अहिले माओवादी केन्द्र र राप्रपाको मत थपिएकाले आफू मात्र होइन, झापाका सबै उम्मेदवारले भारी मतका साथ जित्ने दाबी गरे। आफूले नै विकास र समृद्धिको लहर चलाएको दाबी गर्दै उनले जनताले आफूलाई चुन्ने बताए। आफू प्रधानमन्त्री हुँदा दुई छिमेकी मुलुकबीच सन्तुलन कायम गरेको, नाकाबन्दीको युग नै समाप्त गरेको, राष्ट्रको स्वाभिमानलाई ऊँचो राखेको, तुइन हटाएको उनको भनाइ थियो।

ओलीजस्तो हेभिवेट नेतासँग भिड्न किन आउनुभयो भन्ने प्रश्नमा अधिकारीले भने, ‘उहाँको वेट कति मेरो वेट कति भन्ने २१ गतेको निर्वाचनले बताउँछ। मलाई जनताले विजयी गराए भने म पनि त ओलीभन्दा बढी वेटको हुन्छु नि ! म कुनै भुंग्रोमा हाम फाल्न आएको होइन।' उनले ओलीका विषयमा धेरै टिप्पणी गर्न आवश्यक नरहेको बताए। साढे सत्र वर्षपछि प्राध्यापन पेसा छोडेर आफू जनताको नोकर भएर बस्न आएको उनको भनाइ छ।

स्थानीय तह निर्वाचनको मतपरिणामअनुसार यो क्षेत्रमा कांग्रेस कमजोर देखिएको छ। कांग्रेसले गौरादह नगरपालिकामा प्रमुख जितेको र कमल गाउँपालिकामा बराबर मत ल्याएकाले कमजोर भन्न नमिल्ने अधिकारीको तर्क छ। स्थानीय तहको अंकगणितले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन नदाँज्न उनले आग्रह गरे।

क्षेत्र नम्बर ५ मा दमक नगरपालिका, कमल गाउँपालिका, गौरादहका १ देखि वडा नम्बर ८ सम्म र गौरीगन्जका ३, ४, ५ र ६ नम्बर वडा छन्। यहाँको मतदाता संख्या एक लाख ३७ हजार पाँच सय १४ छ।

‘निर्वाचन भाँड्न नसकेपछि बम आतंक'

गाईघाट : एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनविरोधीले निर्वाचन भाँड्न नसकेपछि बम आतंक मच्चाएको बताएका छन्। जसरी पनि निर्वाचन हुने भएपछि मतदातालाई त्रसित बनाउन शृंखलाबद्ध विस्फोटका घटना गराइरहेको उनको भनाइ छ।

गाईघाटमा शनिबार चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले बम पड्काउनुलाई पुतलीको खेलौना नठान्न चेतावनी दिए। उनले बम पड्किँदैमा लटरम्म धान नफल्ने भएकाले हिंसाको राजनीति त्यागेर निर्वाचनलाई सहयोग गर्न अनुरोध गरे।

उनले राजनीतिक स्थिरता कायम राख्न वाम तालमेल अहिलेको आवश्यकता भएको सुनाए। देश विकासका लागि स्थिर सरकार आवश्यक रहेको उल्लेख गर्दै उनले समृद्ध नेपाल निर्माण गर्न निर्वाचनपछि पार्टी एकीकरण गर्ने गरी वाम तालमेल भएको बताए। दुईतिहाइको सरकार बनाउँदा पनि कांग्रेसले मुलुकलार्य समृद्धशाली बनाउन नसकेको उनको आरोप थियो। उनले लोकतन्त्रका नाममा कांग्रेसले ‘लुटतन्त्र मच्चाएको' जिकिर गर्दै लुटतन्त्र रोक्न वामपन्थी एकता गर्छु भन्दा कांग्रेस अत्तालिएको बताए।

उनले निर्वाचनपछि सामाजिक सुरक्षा भत्ता दुई हजारबाट बढाएर पाँच हजार पुर्‍याउने उद्घोष गरे। ‘सेना, प्रहरी, कर्मचारीको तलब २५ प्रतिशत कसले वृद्धि गर्‍यो ? ', उनले प्रश्न गरे, ‘अशक्त, असहाय, वृद्धवृद्धा, बेसहारालाई माया गर्ने वामपन्थी मात्र हो।'

उनले वामपन्थीको सरकार आएलगत्तै उदयपुरको थरुहट रगंशालालाई क्षेत्रीय रंगशालाका रूपमा विकास गर्ने प्रतिबद्धता जनाए। आफू नेतृत्वको सरकारकै पालामा चतरा-गाईघाट-हेटौंडा चार लेन सडकको काम १८ अर्ब निकासा भई सुरुआत भएको उनको भनाइ थियो। उनले अमेरिकाको पाँच खर्ब सहयोगमा पूर्व-पश्चिम ६ लेन सडकको काम सुरु भएको सुनाए। त्रियुगा नदी नियन्त्रणका लागि गुरुयोजनाअनुसार काम अगाडि बढाउने प्रतिबद्धता पनि उनले जनाए।

उनले सुनसरीको कार्यक्रममा कुनै उम्मेदवारलाई जिताउने र हराउने खेलमा नलाग्न प्रहरीलाई आग्रह गरेका थिए। दुहबीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले सुनसरी क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यतर्फ कांग्रेस नेता विजयकुमार गच्छदारसँग भिड्दै गरेकी एमालेकी भगवती चौधरीलाई हराउने धम्की आइरहेको भन्दै यस्तो आग्रह गरेका हुन्। ‘एउटा आउटडेटेड व्यक्तिका लागि कर्तव्यबाट यताउता भएको थाहा भयो भने राम्रो हुनेछैन', उनले चेतावनीको भाषामा भने, ‘जनताले हामीलाई साथ दिनुहोस्, प्रहरीहरूले कसैलाई साथ नदिनुहोस्, तटस्थ भइदिनुहोस्।'

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.