चलायमान मतदातामा विवेकशील साझाको नजर

चलायमान मतदातामा विवेकशील साझाको नजर

काठमाडौं : पहिले सामाजिक सञ्जालमा मात्रै चर्चा कमाइरहेको भनी आलोचना हुँदै आएको विवेकशील साझा पार्टीले काठमाडौंका चलायमान मतदातामा आफ्नो प्रभाव देखाउन थालेको छ । चुनाव नजिकिँदै गर्दा सामाजिक सञ्जालमै काठमाडौंका केही क्षेत्रमा विवेकशील साझाको उपस्थितिलाई उल्लेख्य रूपमा लिन थालिएको छ ।

मतदाता कहाँ घरदैलोका क्रममा पाएको प्रतिक्रियाले यो नवगठित पार्टीका प्रत्याशी उत्साही देखिएका छन् । उनीहरूको भनाईमा, कुन पार्टीलाई भोट दिने भनी निश्चय नगरेका मतदाता रिझाउने प्रयासमा उम्मेदवार छन् । अनि ‘पुराना दलसँग विकर्षित’ लाई पनि चुनावी सफलताको आधार मानिरहेका छन् ।

काठमाडौं-५ मा मात्रै अहिलेसम्म आफू लगभग ४ सय किमि हिँडिसकेको बताउँछन् विवेकशील साझा पार्टीका संयोजक उज्ज्वल थापा । हरेक समय आफूहरू मतदातासँग सम्पर्कमै रहेको उनको भनाइ छ । उनी भन्छन्, ‘पुराना दलप्रति जनताको वितृष्णा बढ्दो छ । त्यसको सट्टामा हामीलाई रोजेका छन् ।’ काठमाडौंका जनता कुनै खास पार्टीमा कटिबद्ध भएर नलागेको उनको बुझाइ छ । यसो हुँदा आफूहरूले राम्रो मुद्दा उठाइरहेकाले गतिशील स्वतन्त्र जनताले आफूहरूलाई सहयोग गर्ने उनले बताए ।

सहरका मतदाताबीच चुनावी माहोल हेरेर विवेकशील साझाको फेसबुक, ट्विटर र युट्युबमा मात्रै नभई ‘ग्राउन्ड’ मै पनि राम्रो माहोल छ कि भनेर अनुमान लगाउनेहरू बढ्न थालेका छन् । लोकतान्त्रिक र वाम गठबन्धनका नेतालार्ई चुनौती दिनेगरी उनीहरूले वैकल्पिक राजनीतिका पक्षमा आक्रामक प्रचार गरे । साना दलका यी उम्मेदवार भोट काट्न मात्र होइन, ठूला दलको वर्षौंदेखिको प्रभुत्वलाई हटाउन तम्सिरहेका देखिन्छन् । हरेक दिन उनीहरू मतदातासम्म पुगेर भोट मागिरहेका छन् ।

कुन पार्टीलाई भोट दिने भनी निश्चय नगरेका मतदाता रिझाउने प्रयासमा विवेकशील साझाका उम्मेदवार छन् ।

 

विवेकशील साझा सामाजिक सञ्जालमा मात्र सीमित नरहेको कुरा महानगरपालिकाको मेयर पदको निर्वाचनमा रञ्जु दर्शनाले ल्याएको मतले पनि पुष्टि गरिदियो । दर्शनाले त्यतिबेला धेरैको अनुमानविपरीत २१ हजार मत बटुलेकी थिइन् । सामाजिक सञ्जालमा मात्र हाइहाइ भएको र दर्शनाको पाँच सय मत पनि नकट्ने धेरैको आकलन थियो । परिणाम उल्टो आयो । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा विवेकशील साझाका परिणाम पनि नसोचेको आउने हो कि भन्ने मतदाताको अनुमान छ । यो अनुमान सामाजिक सञ्जालमै पनि देखिन्छ । यो बीचमा दुई पार्टीको एकतासमेत भइसकेको छ ।

विवेकशील साझाकै उम्मेदवारले सामाजिक सञ्जालमा गरेको पोस्ट होस् वा विभिन्न ठाउँमा गएर उनीहरूले गरेको भाषण सुन्दा उनीहरूको पक्षमा राम्रै उपस्थिति देखिन्छ । आफूहरूलाई युवाको विशेष साथ रहेको बताउँछन् विवेकशील साझाकै अर्का उम्मेदवार मिलन पाण्डे ।

काठमाडौंमा उनीहरूलाई सहयोग गर्नेहरू धेरै देखिन्छन् । काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार रवीन्द्र मि श्र, क्षेत्र नम्बर ५ का उज्ज्वल थापा, क्षेत्र नम्बर ९ का मिलन पाण्डे हुन् या सुबुना बस्नेत, सूर्यराज आचार्य, सबैले निर्वाचन आफ्नो पक्षमा आउने बताइरहेका छन् ।

पाण्डे भन्छन्, ‘हामीलाई मतदाताले माया गरिदिनुभएको छ । यो पटकको निर्वाचनमा नसोचेको परिणाम आउँछ ।’ वर्षौंदेखि नेपाली राजनीति हाँक्दै आएका नेताले भन्दा आफूहरूले जनतामा प्रत्यक्ष सरोकार राख्ने मुद्दा उठाएको बताउँछन् उनी । अन्य दलका नेताको घरमा पुग्दा पनि आफूहरूले सकारात्मक प्रतिक्रिया पाएको उनको भनाइ छ ।

विवेकशीलले भनेजसो चुनाव उनीहरूको पक्षमा पर्ने देख्दैनन् एमाले उम्मेदवार राजन भट्टराई । अरूलाई ओलोचना गरेर मात्र चुनाव नजितिने उनले बताए । ‘विवेकशील नयाँ पार्टी हो र जनताले उसलाई धेरै विश्वास गरेका छैनन्,’ उनले भने, ‘पुरानो पार्टीप्रति असन्तुष्ट मतलाई उहाँहरूले समात्न खोज्नुभएको छ । चुनाव जित्न सैद्धान्तिक धार पनि हुनुपर्छ ।’

कांग्रेस होस् या एमाले अथवा माओवादी सबैले युद्धको इतिहास बोकेर आएका छन् । ‘जेलनेल नसहेको पनि कोही नेता हुन सक्छ’ भन्ने किसिमको सोचाइ नेपाली समाजमा चलेकै हो । एउटा पार्टी स्थापित हुन लामो समय लाग्छ भनेर त हामीले कांग्रेस, एमालेलाई हेर्दा पनि थाहा हुन्छ । विवेकशील साझाले पार्टी निर्माणको छोटो अवधिमै धेरै मतदाताको ध्यान खिचेको अनुमान लगाउन सकिन्छ ।

कांग्रेसका उम्मेदवार प्रकाशमान सिंह र विवेकशील साझा पार्टीका उम्मेदवार रवीन्द्र मि श्रको चुनावी प्रतिस्पर्धालाई जिज्ञासाको नजरले हेर्न थालिएको छ । ‘हाम्रो आँखामा हेर्छन् मतदाता र कुरा गर्छन्’, विवेकशील साझाको लोकप्रियता बढ्नुको कारणलाई पाण्डेले प्रस्ट्याए, ‘मतदाताले नीति हैन नियत हेरेका छन् । हाम्रो नियत सही छ ।’

आफूहरूले जनतालाई कुनै ठूलो आश्वासन नदिएको बरु हाम्रो क्षमतालाई हेरिदिन मात्रै आग्रह गरेको बताउँछन्, पाण्डे । आफूहरूले सोचेभन्दा धेरै मान्छे आफ्नो पक्षमा उभिएको उनले बताए । चुनावी परिणामलाई नै फेरबदल गर्ने हिसाबले काठमाडौंमा साना दलले भूमिका खेल्न नसक्ने बताउँछन् एमाले नेता प्रदीप ज्ञवाली ।

सामाजिक सञ्जालमा मात्र उनीहरूको प्रचारप्रसार धेरै रहेको उनले बताए । ‘अहिले केही मान्छे नयाँ पार्टीतिर ढल्केका छन् त्यो सत्य हो,’ उनले भने, ‘नयाँ पार्टीको आकर्षणले होइन बरु अर्को पार्टीको उम्मेदवार मन नपरेर हो । यस्तो प्रकृति टिकाउ हुँदैन ।’ काठमाडौंमा पनि वामपन्थीले राम्रो मत ल्याएर जित्ने उनको भनाइ छ।

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.