ओली, दाहाल र मबीच भद्र सहमति भयो : देवी ज्ञवाली

ओली, दाहाल र मबीच भद्र सहमति भयो : देवी ज्ञवाली

 

भरतपुर : भरतपुर महानगर प्रमुखमा ‘जितेर पनि पराजय भोग्न बाध्य’ भएका देवी ज्ञवालीले एउटा सच्चा कम्युनिस्टका लागि पद, प्रतिष्ठा, ऐश्वर्यभन्दा एकीकृत कम्युनिस्ट पार्टीको घोषणा ठूलो हुने बताएका छन् । चितवन-३ का वाम गठबन्धनका उम्मेदवार तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको चुनावी अभियानको कमान्डर रहेका ज्ञवाली ठूलो लक्ष्य पूरा गर्न पुराना पीडा बिर्सिनुपर्ने सन्देश मतदातामाझ बाँडिरहेका छन् । ‘मैले भरतपुर महानगरको प्रमुख पद जितेकै हो तर पार्टी एकताको स्वार्थका लागि जितेको कुर्सी त्यागें । मेरो यो त्यागका लागि एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष दाहाल र मबीच भद्र सहमति भएको छ ।’

भरतपुबाट करिब ३० किलोमिटर दक्षिण-पश्चिममा रहेको मैघौलीमा अन्नपूर्णसँग कुराकानी गर्ने क्रममा ज्ञवालीले भरतपुर महानगरको मतपत्र च्यातिएको घटना लोकतन्त्रमाथिकै गम्भीर आघात भएको दाहालले स्विकारेको बताए । ‘ओलीनिवास बालकोटमा अब आइन्दा यस्तो घटना नघट्ने प्रतिबद्धता जनाउँदै क्षमा मागेपछि मैले दाहालको चुनाव प्रचारको नेतृत्व सम्हाल्ने प्रतिबद्धता जनाएको हुँ’, उनले भने ।

एउटा कम्युनिस्टका लागि कम्युनिस्टबीचको एकताभन्दा ठूलो जित अरू केही नहुने भएकाले विगतका तीता घटना बिर्सिएको उनको दाबी छ । ‘दाहाललाई सघाउन ओलीले गर्नुभएको आग्रहप्रति तपाईंको अनुभूति कस्तो रह्यो ? ’ भन्ने जिज्ञासामा ज्ञवालीले पार्टी एकताको बृहत् स्वार्थका लागि ‘महादेवले कालकुट विष पिएजस्तो’ भए पनि विगतलाई चटक्कै भुलेर दाहाल जिताऊ अभियानमा होमिएको उनले बताए ।

‘लोकतान्त्रिक प्रक्रिया र निर्वाचन प्रणालीमाथि कसैले कहिल्यै प्रश्न नउठाओस् र लोकतन्त्रकै धज्जी उड्नेगरी मतपत्र च्यात्ने, मतपेटिका फुटाउने, मतपरिणाम अस्वीकार गर्ने कार्य नहोस् भन्ने प्रण अन्तःस्करणबाटै गरौं’, दाहालसँग यस विषयमा प्रतिबद्धता पाएपछि आफू विश्वस्त भएको उनले जनाए।

‘मतगणना स्थलमा एकाएक मतपत्र च्यातिएपछि गत जेठ १४ गतेदेखि असार मसान्तसम्म आक्रोस र आवेगमा रहेको एमाले साउन पहिलो सातादेखि चिसिँदै साउन २१ गते मतपरिणाम सार्वजनिक हुँदासम्म पूरै शान्त हुनाको कारण स्पष्ट गर्नुहुन्छ कि ? ’ भन्ने प्रश्नमा ज्ञवालीले भने, ‘प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा चुनावी तालमेलका लागि दुई पार्टीका शीर्ष नेता एक ठाउँमा उभिइसक्नुभएको थियो’, उनले भने, ‘स्पष्टै भन्नुपर्दा अब इतिहास कोट्याउने आवश्यकता र औचित्य छैन । अबको रणनीति भनेको दुई पार्टीको एकता र त्यसका लागि वामपन्थीको दुई तिहाइ मत नै हो ।’

प्रजातन्त्र पुनःस्थापनाको २८ वर्षसम्म रहेको अस्थिर राजनीतिलाई स्थिरता दिन पनि वामपन्थी गठबन्धन अपरिहार्य रहेकोमा उनले जोड दिए । चुनावको परिणामपछि पार्टी एकता नहुन पनि सक्छ भन्ने आकलन राजनीति वृत्तमा रहेकोतर्फ ध्यानाकर्षण गराउँदा उनले भने, ‘त्यो सम्भवै छैन । उहाँहरूले हिँडेको पुलको अग्रभाग मात्र बाँकी छ, पछिल्लो भाग भत्किसक्यो । अब उहाँहरू एकीकरण महाअभियान छाड्न सक्नुहुन्न ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.