स्वास्थ्य चौकी इन्चार्ज नहुँदा नवजातको मृत्यु

स्वास्थ्य चौकी इन्चार्ज नहुँदा नवजातको मृत्यु

चरिकोट: दोलखाको शैलुङ गाउँपालिका–४ मागापौवामा समयमै उपचार नपाउँदा एक शिशुको ज्यान गएको छ । आइतबार राति करिब १२ बजे व्यथा लागेको मागापौवा निवासी वर्ष २० की सविना सुवेदीले जन्म दिएकी शिशुको उपचारका लागि चरिकोट ल्याउने क्रममा मृत्यु भएको छ ।

सविनाकी आफन्त सुस्मिता सुवेदीले राति व्यथा लागेलगत्तै मागापौवा स्वास्थ्य चौकीका इन्चार्ज टपेन्द्र साहलाई फोन गर्दा उनले चरिकोट लैजान भनेपछि चरिकोट ल्याउने क्रममा शिशुको मृत्यु भएको बताइन् । सुस्मिताको भनाइअनुसार समयमै स्वास्थ्य चौकीका चिकित्सकले उपचार गरेको भए शिशु बचाउन सकिन्थ्यो । इन्चार्ज साहले फोनमा आफू चरिकोटमा रहेको र बर्थिङ सेन्टरमा पनि कोही नभएकाले चरिकोट लैजान भनेको बताए ।

पेटमा रहेको बच्चा उल्टो रहेको परिवारका सबैलाई पूर्वजानकारी थियो । तर, ८ महिनामै बच्चा जन्मिएकाले समस्या भएको सुस्मिताले बताइन् । सुरुमा खुट्टा र जिउ निस्किए पनि एउटा हात र टाउको अड्किएपछि इन्चार्ज साहलाई गुहारेका थिए । तर, चिकित्सक गाउँमा नभएकाले सन्तान गुमाउनुपरेको सुत्केरी सविना बताउँछिन् । अहिले सुत्केरीको अवस्था सामान्य रहेको अस्पतालले बताएको छ ।

बर्थिङ सेन्टरमा रहने अनमीलाई पेटमा उल्टो रहेको शिशु कसरी जन्माउने तालिम दिइएको भए पनि उनीहरू नआउँदा शिशुको मृत्यु भएको अस्पतालको भनाइ छ । मागापौवा स्वास्थ्य चौकीका इन्चार्ज साहले भने आफू गाउँमै रहेको तर चौकीमा आउनुभन्दा सुत्केरीलाई चरिकोट लैजान नजिक पर्ने भएकाले उतै जान सुझाव दिएको बताए ।

स्वास्थ्य चौकीमा सुत्केरी नगराउँदा आमा र शिशु दुवैको मृत्यु हुने जोखिम बढेको छ । बर्थिङ सेन्टरमा नियमित चिकित्सक नबस्दा पनि सुत्केरी हुने बेलामा जिल्लाका कुनाकाप्चाका गाउँबाट गर्भवतीलाई सदरमुकाम चरिकोट ल्याउनुपर्ने बाध्यता छ ।

गाउँमै उपचार सकिने बिरामीलाई पनि पछिल्लो समय प्रस्तावित चरिकोट अस्पतालमा रिफर गरेर पठाउने गरेको चिकित्सक बताउँछन् । लामो बाटोमा गर्भवती ल्याउँदा निकै जोखिम हुने उनीहरूको भनाइ छ ।

स्थानीयले चेतना अभावकै कारण गर्भवतीलाई बर्थिङ सेन्टरमा सुत्केरी गराउन नलैजाने गरेको प्रस्तावित चरिकोट अस्पतालका डाक्टर विनोद दंगालले जानकारी दिए । उनले हाल एक महिनामा सयभन्दा धेरै गर्भवती चरिकोट अस्पतालमा सुत्केरी हुन आएको बताए । तीमध्ये अधिकांश बर्थिङ सेन्टर भएकै ठाउँका भएको पनि उनले जानकारी दिए । बर्थिङ सेन्टरले जोखिम मोलेर सुत्केरी गराउनुको साटो चरिकोटमा रिफर गरेको पाइएको छ । मागापौवा, बोच, नाम्दु र सुन्द्रावतीस्थित सेन्टरले गर्भवतीलाई चरिकोट रिफर गर्ने गरेको बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.