देउवाको अपराजित यात्रा

देउवाको अपराजित यात्रा

 डडेल्धुरा : प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले अपराजित यात्रालाई यसपटक पनि कायमै राखे । देउवाले ०४८ सालदेखि डडेल्धुरा जिल्लाबाट चुनाव जित्दै आएका छन् । देशभर वाम गठबन्धनको लहर देखिए पनि डडेल्धुरामा देउवाको विरासतलाई हल्लाउन सकेन । डडेल्धुराको एक मात्र निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभाका लागि देउवा विजयी भएका हुन् ।

गणनाको सुरुवाती चरणदेखि नै देउवाले प्रतिस्पर्धी उम्मेदवारलाई पछि पार्दै आएका थिए । स्थानीय तहको मतपरिणामलाई हेरेर प्रधानमन्त्री देउवा चुनाव हार्ने आकलन वाम गठबन्धनले गरेको थियो । तर, उनले २८ हजार ४४ मत ल्याई विजयी भएका छन् । प्रतिद्वन्द्वी वाम गठबन्धनका खगराज भट्टले २१ हजार १ सय १५ मत ल्याए ।

डडेल्धुराबाट देउवाको यो छैटौं पटक विजय हो । देउवाले डडेल्धुराबाट ०४८, ०५१, ०५६, ०६४ र ०७० मा चुनाव जितेका थिए ।

‘हामीले ०४८ सालदेखि नै भोट दिँदै आएका थियांै । यसपटक पनि आफूले आफ्ना मित्रलाई भोट दियौं’, देउवाका सहपाठी मोहन देउवाले भने ।

‘मान्छेका अनेक कुरा सुन्दा चिन्ता लागेको थियो । आफूले दिएको मतले देउवा जित्नेमा ढुक्क थिए’, विरजित विकले भने, ‘बचपनका साथी देउवा जितेकामा खुसी छु । देश बनाउँछु, गरिबी हटाउँछु भनेर लागेको मान्छेलाई भोट नदिएर कसलाई दिने ? ’

गाउँकै विद्यालयबाट प्राथमिक शिक्षा हासिल गरेका देउवाले राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक तहसम्मको शिक्षा हासिल गरेका छन् ।

देउवा कांग्रेस नेता विश्वेश्वरप्रसाद कोइरालाबाट प्रभावित भई ०२२ सालदेखि राजनीतिमा सक्रिय भएका हुन् । ०३६ सालको आन्दोलन र जनमतसंग्रहमा पनि उनी सक्रियतापूर्वक लागेका थिए ।

०२८ सालमा नेपाल विद्यार्थी संघको सभापतिमा चुनिएका देउवा ०४८ सालको आमचुनावमा डडेल्धुराबाट अत्यधिक मत ल्याई विजयी भई प्रतिनिधिसभामा उपस्थित भएका थिए । गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा देउवा ०४८ सालमा गृहमन्त्री भएका थिए ।

पटक–पटक १० वर्ष १० महिना जेलजीवन बिताएका देउवा ०६४ र ०७० सालको संविधानसभा निर्वाचनमा डडेल्धुराका साथै कञ्चनपुर जिल्ला र कैलालीबाट विजयी भएका थिए ।

०५२, ०५८, ०६१ र ०७४ साल गरी चार पटक प्रधानमन्त्री बनेका देउवाले आफू विजयी घोषणा भएलगत्तै संविधान कार्यान्वयनका साथै देशलाई समृद्धिको दिशातर्फ लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् ।

डडेल्धुराका ८१ हजार ७ सय ३२ मतदाताले प्रदेश नम्बर क मा वाम गठबन्धनका पठानसिंह बोहरालाई चयन गरेका छन् भने प्रदेशसभा ख मा कांगे्रसका कर्णबहादुर मल्ललाई छानेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.