सुनसरीमा गच्छदारको दोस्रो ह्याट्रिक

सुनसरीमा गच्छदारको दोस्रो ह्याट्रिक

विजयी र्या‍लीमा कार्यकर्ताको साथमा विजय गच्छदार। तस्बिर : अन्नपूर्ण 

धरान : सुनसरी क्षेत्र नम्बर ३ बाट कांग्रेस नेता विजय गच्छदार प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। एमालेकी भगवती चौधरीलाई ३ सय २१ मतले पछि पार्दै गच्छदार यही क्षेत्रबाट छैटौं पटक निर्वाचित भएका हुन्।

मत गणनाको सुरुदेखि नै एमालेकी भगवती चौधरी भन्दा कम मत ल्याएर पछी परेका गच्छदारले बुधबार बिहानबाट मात्र अग्रता लिएका थिए। गच्छदार ३८ हजार ९ सय ७२ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्धन्द्वी चौधरीले ३८ हजार ६ सय ५१ मत प्राप्त गरिन्। गच्छदार २०४८, २०५१ र २०५६ सालको मध्यावधि निर्वाचन तथा २०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा यस क्षेत्रबाट विजयी बनेका हुन्।

गच्छदार नेपालको राजनीतिमा सबै भन्दा शक्तिशाली थारु समुदायको नेताको रुपमा परिचित छन्। गच्छदारले २०७० को संविधानसभा निर्वाचनमा पनि चौधरीलाई झिनो मत अन्तरले पराजित गरेका थिए। विजयी भएपछी गच्छदारले आफूले विगतदेखि नै सुनसरीको विकास निर्माणमा अतुलनीय योगदान गरेका कारण जनताले विजयी गराएको बताए। उनले मतदाताको मतको उच्च कदर गर्दै सुनसरीको विकासका लागि आफू सदैब लागिरहने प्रतिबद्धता समेत जनाएका छन्।

निकटतम प्रतिद्वन्द्वी भगवती चौधरीले भने गच्छदारले राज्यको शक्ति दुरुपयोग गरी आफूलाई पराजित गरेको आरोप लगाएकी छिन्। उनले प्रहरी र क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत टीकाभुषण घिमिरेले गच्छदारलाई जिताउन षड्यन्त्र गरेको आरोप लगाउँदै कानुनी उपचारका लागि अदालत जाने बताएकी छिन्।

प्रदेशसभामा कांग्रेसकै चौधरी
सुनसरी क्षेत्र नम्बर ३ को प्रदेशसभा (ख) बाट पनि नेपाली कांग्रेंसका अगमलाल चौधरी विजयी भएका छन्। एमालेका रामदेव यादवलाई तीन हजार ८ सय ६१ मतले पराजित गर्दै चौधरी विजयी भएका हुन्। चौधरीले २१ हजार ४ सय २९ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी यादवले १७ हजार ५सय ६८ मत प्राप्त गरे। निर्वाचित चौधरी विजय गच्छदारका राजनीतिक गुरु हुन्।

प्रतिनिधिसभामा कांग्रेस र प्रदेशसभामा एमाले
सुनसरीमा एमालेको किल्ला भत्काउदै कांग्रेसले प्रतिनिधिसभा सदस्यमा बहुमत सिट जितेको छ। सुनसरीका चार निर्वाचन क्षेत्र मध्य ेकांग्रेसले तीन र एमालेले एक स्थानमा विजय हासिल गरेका छन्। २०७० सालको निर्वाचनमा कांग्रेसले एक र एमालेले तीन क्षेत्रमा विजय हासिल गरेको थियो। प्रदेशसभा सदस्यमा भने एमालेले ८ क्षेत्र मध्ये पाँच क्षेत्रमा विजयी हासिल गरेको छ।

सुनसरी क्षेत्र नम्बर १ मा एमालेका जयकुमार राई निर्वाचित भएका छन्। क्षेत्र नम्बर २, ३ र ४ मा कांग्रेसका क्रमशः सिताराम मेहता, विजय गच्छदार र ज्ञानेनद्र कार्की निर्वाचित भएका छन्।

प्रदेशसभा तर्फ सुनसरी क्षेत्र नम्बर १ को (क) मा एमालेका प्रदिप भण्डारी र (ख) मा भीम आचार्य विजयी भएका छन्। क्षेत्र नम्बर २ को (क) मा एमालेका सर्बध्वज साँवा निर्वाचित भएका छन्। क्षेत्र नम्बर २ को (ख) मा कांग्रेसका राजिव कोइराला विजयी भए। क्षेत्र नम्बर ३ को (क) मा एमालेका लिलम बस्नेत विजयी भए भने .(ख) मा कांग्रेसका अगमलाल चौधरी विजयी भए। क्षेत्र नम्बर ४ को (क) मा एमालेका जगदिशप्रसाद कुसैयत विजयी भएका छन् भने (ख) मा कांग्रेसका महम्मद ताहिर मियाँ विजयी भए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.