सिक्टाको नहरमा पानी परीक्षण

सिक्टाको नहरमा पानी परीक्षण

नेपालगन्ज : राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइ आयोजनाले नहरमा पानीको परीक्षण सुरु गरेको छ। आयोजनाको पश्चिमतिर नहरको काम अन्तिम चरणमा पुगेपछि परीक्षणका रूपमा पानी छाडिएको हो। खेती गर्ने समय सुरु भएकाले एक दशकअघिदेखि निर्मार्णाधीन आयोजनाले १५ वर्षपछि पहिलोपटक परीक्षणका रूपमा पानी छाडिएको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर प्रकाश कार्कीले बताए।

२०६२ सालदेखि सुरु भएको आयोजनाको हालसम्म ५५ प्रतिशत काम सम्पन्न भएको छ। यसको पश्चिमतर्फको मूल नहर निर्माणकार्य ९९ प्रतिशत सम्पन्न भएको आयोजनाका सीडीई कार्कीको भनाइ छ।

उनका अनुसार जम्मा ४५ दशमलव २५ किलोमिटर रहेको पश्चिमी नहर निर्माण कार्य पूरा भइ बीचका केही पुल निर्माण गर्न बाँकी छ। पश्चिमी नहर निर्माण भएपछि किसानका लागि खेती गर्न पानी छोडिएको आयोजनाले बताएको छ। ‘हामीले पहिलो चरणको आयोजनाको पश्चिमतर्फको काम लगभग सम्पन्न गरेका छौं, अब केही ठाउँमा एक दुईवटा स–साना काम मात्रै बाँकी छन्', कार्कीले भने, ‘किसानले आफूलाई खेती गर्न पानीको समस्या भएको बताएपछि हामीले पहिलो चरणमा पानी नहरमा छाडेका हौं, यो परीक्षणका रूपमा छाडिएको छ। आवश्यकताअनुसार किसानलाई सिँचाइ गर्न पानी उपलब्ध गराउनेछौं।'

तत्काललाई आयोजनाले किसानको मागअनुसार तीन क्युमेक पानी राप्ती नदीबाट नहरमा ल्याएको छ। बाँकेको सिधनिया, राँजा र डुढुवा क्षेत्रमा पानी छाडिएको छ। अहिले ल्याएको पानीले सिधनिया क्षेत्रको पाँच सय हेक्टर र डुढुवा क्षेत्रको दुई हजार हेक्टर जमिनलाई सिँचाइ हुने आयोजनाका इन्जिनियर चित्रबहादुर डाँगीले जानकारी दिए।

आयोजनाको पश्चिमतिरको नहरको काम अन्तिम चरणमा पुगेपछि परीक्षणका रूपमा पानी छाडिएको छ।

उनका अनुसार किसानको मागअनुसार पानीको मात्रा बढाइनेछ। ‘तत्काललाई परीक्षणका रूपमा हामीले थोरै मात्रामा पानी मूल नहरमा छाडेका छौं', उनले थपे, ‘तर किसानले सिँचाइका लागि पानी आवश्यक पर्‍यो भन्ने अनुरोध हुनेबित्तिकै नहरको पहुँच भएको क्षेत्रसम्म पानी पुर्‍याउने तयारीमा छौं।'

आर्थिक वर्ष २०७१÷७२ मा निर्माण भइसक्नुपर्ने आयोजनामा पुनः पूर्वतिरको नहर थप भएपछि म्याद थप भई आव २०७५÷७६ सम्म सरेको छ। निर्माणको जिम्मा लिएका ठेकेदारले समयमै काम नसक्दा आयोजनाको निर्माण अवधि लम्बिएको सिक्टा सिँचाइ आयोजनाले जनाएको छ। २५ अर्बको आयोजनाको पहिलो चरणमा पश्चिम क्षेत्रको मुल नहर निर्माणका लागि १३ अर्ब खर्च भइसकेको छ भने विस्तार भएको पूर्व नहरका लागि १२ अर्ब लागत लाग्ने बताइएको छ। पूर्वी नहरको पनि ठेक्का प्रक्रिया सम्पन्न भई काम सुरु भएको आयोजनाका सीडीई कार्कीको भनाइ छ। तर डुढुवा नहर क्षेत्रको विस्तारका लागि ठेक्का पाएको पप्पु निर्माण सेवाले अधुरो काम गर्दा समस्या भएको कार्कीले बताए।

राष्ट्रिय गौरवको यो आयोजनाबाट कुल ४२ हजार सातसय ७६ हेक्टर जमिनमा सिँचाइ हुने लक्ष्य छ। ५० क्युसेक प्रतिसेकेन्ड क्षमता भएको पश्चिम क्षेत्रबाट ३१ हजार सात सय ३३ हेक्टर र १२ दशमलव पाँच क्युसेक पानी प्रतिसेकेन्ड क्षमता भएको पूर्वी नहरबाट नौ हजार हेक्टर जमिनमा सिँचाइ हुनेछ।

नहर निर्माणका लागि रुख कटान र बालुवा कंक्रिट उपलब्ध गराउँदा लामो कानुनी प्रक्रिया पार गर्नुपर्दा निर्माण कार्यमा केही विलम्व हुने आयोजनाले जनाएको छ।

हालसम्म विभिन्न पार्टहरू विभाजन गरी एक दर्जन बढी निर्माण कम्पनीले काम गरेका छन्। किसानहरूको खेतबारीमा सिँचाइ उपलब्ध गराइ उनीहरूको जीवनस्तरमा सुधार ल्याउने उद्देश्यले आयोजना निर्माण गरिए पनि निर्माण कार्यमा लापरबाही गर्ने ठेकेदारलाई चेतावनी दिने र चेतावनीलाई वेवास्ता गरेमा कारबाहीको दायरामा ल्याइने सिक्टा सिँचाइ आयोजनाका सिनियर डिभिजनल इन्जिनियर प्रकाश कार्की बताउँछन्।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.