अन्तरघातकै कारण पर्सामा कांग्रेसको लज्जास्पद हार

अन्तरघातकै कारण पर्सामा कांग्रेसको लज्जास्पद हार

वीरगन्ज :  काठमाडाै‌बाट पटक पटक चुनाव हार्दै आएका कांग्रेसका संस्थापक नेता स्वर्गीय कृष्णप्रसाद भटटराइलाई २०५६ सालको आमनिर्वाचनमा जिताएर पठाएको थियो पर्सा जिल्लाले। पहिलो संविधानसभाको निर्वाचनमा पनि तत्कालीन पाँच निर्वाचन क्षेत्र मध्ये तीन वटामा कांग्रेसले नै जितेको थियो। संविधानसभाको दोश्रो निर्वाचनमा पनि तत्कालीन पाँच क्षेत्र मध्ये दुईवटामा कांग्रेस विजयी भएको थियो।

देशभरिमै पर्सामा कांग्रेसको किल्ला (गढ) नै मानिएको थियो। तर मंसिर २१ गतसम्म प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा भने पर्सामा कांग्रेसले लज्जास्पद हार व्यवोहोरेको छ। पर्साका चार प्रतिनिधि र आठ प्रदेशसभा गरी कुल १२ स्थान मध्ये दुई प्रदेशसभा बाहेक १० क्षेत्रमा कांग्रेस पराजित भएको छ। पर्सामा कांग्रेसको गढ भत्काउदै मधेसी दलले कब्जा गर्न सफल भएका छन्। पर्साको चारवटै प्रतिनिधिसभा क्षेत्रमा कांग्रेसले केन्द्रीय सदस्य, पूर्व केन्द्रीय सदस्य, पूर्वमन्त्री र पूर्व सांसदहरुलाई चुनावी मैदानमा उतारको भएप्नि सबै पराजित भएका छन्।

पर्साको क्षेत्र नम्बर १ मा कांग्रेसका उम्मेदवार एंव पूर्व सांसद अनिल रुंगटा आफ्ना निकटतम प्रतिस्र्पधी फोरम नेपालका उम्मेदवार प्रदीप यादवसँग चार हजार ६ सय ५१ मत अन्तरले पराजित भएका हुन्। यस्तै पर्सा क्षेत्र नम्बर २ मा पनि कांग्रेसका केन्द्रीय सदस्य एंव पूर्वमन्त्री अजयकुमार चौरसीया आफ्ना निकटतम प्रतिद्वन्द्वी फोरम नेपालका विमल श्रीवास्तवसँग एक हजार चार सय ६५ मत अन्तरले चुनाव हारेका छन्।

पर्सा क्षेत्र नम्बर ३ मा पनि पूर्वमन्त्री एंव पूर्व केन्द्रीय सदस्य तथा पूर्व सांसद सुरेन्द्रप्रसाद चौधरीलाई फोरम नेपालकै हरिनारायण रौनीयारले एक हजार तीन सय ६५ मत अन्तरले पछाडि पार्दै हराएका छन्। पर्सा क्षेत्र नम्बर ४ मा पनि कांग्रेसका केन्द्रीय सदस्य एंव पुर्व सभासद रमेश रिजाल पनि राजपाका लक्ष्मणलाल कर्णसँग ६ हजार ३६ मत अन्तरले पराजित भएका छन्। गत असोजमा सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि पर्सामा कांग्रसले आफ्नो साख जोगाउन सकेन।पर्सामा रहेका कुल १४ स्थानीय तह मध्ये कांग्रसले तीन तहमा मात्रै जित हात पार्न सक्यो। सबै भन्दा बढी चार स्थानीय तहमा फोरम नेपालले जित हात पारेको थियो। प्रदेश नम्बर २ को एक मात्र महानगरपालिका वीरगन्जको मेयरमा फोरम नेपालका विजयकुमार सरावगी निर्वाचित भएका थिए।

यस्तै मंसिर पहिलो साता भएको जिल्ला समन्वय समितिको निर्वाचनमा पनि सभापतिमा फोरम नेपालकै नेक महम्मद अन्सारी निर्वाचित भएका थिए। पर्सामा कांग्रेसको लज्जास्पद हारपछि यहाँका कांगे्रस नेतृत्वमा आरोप प्रत्यरोपको दोहोरी चलिरहेको छ। पर्सामा कांग्रेसको लजास्पद हारको मुख्य कारण कांग्रेस भित्रकै अन्तरघात रहेको यहाका कांग्रसीजनको निष्कर्ष छ।  पर्सा क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यमा पराजित कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका चौरसीया, कांग्रेसी नेताहरुकै अन्तरघातका कारण पर्सामा कांग्रेसको पराजय भएको बताउँछन्।

यहाका केही कांग्रेसका नेताहरुकै नेतृत्वमा संगठितरुपमा चारवटै क्षेत्रमा कांग्रेसका उम्मेदवारलाई चुनाव हराउने अभियान चलाएका एक नेताले बताए। भन्छन्,‘ खासगरि टिकट नपाउने र टिकट पाएकाहरुबाट असन्तुष्टहरुले अन्र्तघात गरेका हुन्।' असन्तुष्टहरुलाई पार्टी नेतृत्वले सम्झाउदा पनि उनीहरु नमानेको उनले जानकारी दिए।  पर्सामा कांग्रेसको पराजयको प्रमुख कारण पार्टी भित्रकै नेताहरुको अन्र्तघात रहेको कांग्रेस पर्साका सभापति अजय द्विवेदी बताउँछन्।

‘हाम्रो हारको एउटा कारण थियो, अहिले मधेसमा मधेसी सेन्टिमेन्टको हावा चलेको थियो, त्यसमा पनि फोरम र राजपा मिलेर चुनाव लडे जस्का कारण हाम्रो पक्षमा हामीले सोचे अनुसारको भोट आएन , सभापति द्विवेदी भन्छन् ,‘ अर्को मेजर कारण भनेको पार्टी भित्रकै अन्तरघात हो, हाम्रो पराजयको तेश्रो कारण विपक्षी दलका तर्फबाट पैसाको चलखेल व्यापक भयो त्यसले पनि मतदातामा प्रभाव पार्‍यो।'

कांग्रेस पर्साका सचिव श्याम पटेल पनि पर्सामा कांग्रेसको पराजयको मुख्य कारण पार्टीकै नेताहरुको अन्तरघात रहेको बताउछन्। ‘हाम्रो हारको पहिलो र मुख्य कारण पार्टीभित्रकै अन्तरघात हो, जस्ले टिकट पाएनन्, उनीहरुले नै अन्तरघात गरेका हुन् , पटेल भन्छन् ,‘ एक त पार्टीले हैकमवादी रवैया अपनाएर जनताको चाहना अनुसार टिकट पनि दिएन, अर्को कुरा असन्तुष्ट भएकाहरुलाइ पार्टी नेतृत्वले चित्त बुझाउन सकेन।'

कांग्रेस समर्थित एंव ठाकुरराम बहुमुखी क्याम्पसको त्रिवि प्राध्यापक संघ इकाइ समितिकी सचिव उमा मिश्र पनि पर्सामा कांग्रेस नेताहरुको अन्तरघातका कारण चारवटै क्षेत्रमा कांग्रेसले हारेको स्वीकार गर्छिन्। ‘एउटा नेताले अर्को नेताको अस्तित्व स्वीकार्न नसक्ने प्रवृति हाबी छ, उस्लो जित्यो भने मेरो राजनितिक भविष्य डुब्छ भन्ने सोच र पहिले हारेका नेताहरुको अहिले चुनाव लडेका नेताहरुसँग बदलाको भावना राखेर अन्तरघात गरे।' उनले भनिन्।


अन्तरघातीलाई कारवाही हुन्छ

कांग्रेस पर्साका सभापति द्विवेदीले पार्टीका उम्मेदवारलाई हराउने अभियान चलाएका अनुशासनहीन नेता कार्यकर्ताहरुलाई कारवाही गरिने बताए। ‘एकदुई दिनमा पार्टीको जिल्ला कार्य समितिको बैठक बस्छ, अहिले अन्तरघात गर्ने नेता कार्यकर्ताहरुको रिपोर्ट लिने काम गरिरहेको छ', उनले भने ,‘ बैठकमा हारको बारेमा व्यापक समीक्षा हुन्छ , अनुशासनहीन नेता कार्यकर्तालाइ निर्मम कार्वाही हुन्छ।'

कांग्रेस केन्द्रीय सदस्य चौरसीयाले पनि जिल्ला कार्य समितिको बैठकबाट अन्तरघात गर्ने पार्टीका नेताहरुलाई कारवाहीका लागि नीतिगत निर्णय हुने बताए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.