मुख्यमन्त्री बन्न नेताहरुको दौडधुप

मुख्यमन्त्री बन्न नेताहरुको   दौडधुप

नुवाकोट : प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको नतिजा सार्वजनिक भएसँगै प्रदेश ३ को मुख्यमन्त्री को बन्ने भन्ने विषयमा चर्चा सुरु भएको छ। प्रदेशसभाको प्रत्यक्षतर्फ ६६ सिटमध्ये बहुमत स्थानमा जित हासिल गरेको एमालेभित्र मुख्यमन्त्री बन्नका लागि दौडधुप सुरु भएको छ।

मुख्यमन्त्रीमा एमाले उपाध्यक्ष तथा प्रदेश ३ की इन्चार्ज अष्टलक्ष्मी शाक्यको चर्चा पहिलो स्थानमा छ। ११० सदस्यीय (प्रत्यक्ष ६६ र समानुपातिक ४४) सदस्यीय प्रदेशसभामा वाम गठबन्धनले मात्रै प्रत्यक्षतर्फ ५७ सिट जितेको छ। एमाले एक्लैले ४२ सिट जित्दै बहुमत हासिल गरेको छ भने माओवादीले १५ र कांग्रेसले ७ स्थानमा जित निकालेका छन्। नयाँ शक्ति र नेमकिपाले एक-एक सिट जितेका छन्। पार्टीमा गरेको योगदान, व्यक्तित्व र समावेशीताका कारण पनि काठमाडौं ८ ‘ख' बाट निर्वाचित शाक्य निर्विकल्प मुख्यमन्त्रीको दाबेदार भएको एमालेले जनाएको छ। पार्टीले अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्रीको पहिलो प्राथमिकतामा राखेको प्रचार विभाग सचिव विष्णु रिजालले जानकारी दिए।

प्रदेश ३ मा पोलिट्ब्युरो सदस्यहरू राजेन्द्र पाण्डे, पशुपति चौलागाईं र अरुण नेपाल पनि मुख्यमन्त्रीको दाबेदार रहेको उनले बताए। पाण्डे धादिङ १ ‘क', चौलागाईं दोलखा १ ‘क' र नेपाल सिन्धुपाल्चोक १ ‘क' बाट निर्वाचित भएका हुन्। शाक्यले नमान्दा र उनको विकल्पमा मात्रै अरु नेतालाई अगाडि सार्ने सचिव रिजालले पुष्टि गरे। शाक्यसँगै मुख्यमन्त्री दाबी गर्दै आएका राजेन्द्र पाण्डे प्रतिनिधिसभाका पूर्वसदस्य तथा पूर्वस्थानीय विकास मन्त्रीसमेत हुन्। चौलागाईं पनि पार्टीका पुराना र शालिन नेताभित्र पर्छन्।

आधा दर्जन नेताले दाबी गरे पनि एमालेले मुख्यमन्त्रीका रूपमा अष्टलक्ष्मी शाक्यलाई पहिलो प्राथमिकतामा राखेको छ।

नुवाकोट १ ‘क' बाट विजयी केशवराज पाण्डे, काठमाडौं ३ ‘ख' बाट विजयी रामेश्वर फुयाँल, काठमाडौं २ ‘क' बाट विजयी सानुकुमार श्रेष्ठ, मकवानपुर १ ‘ख' बाट विजयी डोरमणि पौडेल, काठमाडौं ६ ‘क' बाट विजयी केशव स्थापित, नुवाकोट १ ‘क' बाट विजयी राधिका तामाङ, धादिङ १ ‘ख' बाट विजयी शालिकराम जमरकट्टेल, नुवाकोट २ ‘ख' बाट विजयी हिरानाथ खतिवडा पनि प्रदेश मुख्यमन्त्रीको दाबेदार रहेको वाम गठबन्धनका नेताहरू बताउँछन्।

यीमध्ये कतिपय नेता त आफ्नो जिल्लालाई प्रदेश ३ को राजधानी बनाउने एजेन्डासहित प्रतिस्पर्धामा होमिएका थिए। मुख्यमन्त्री बनाउने सहमति जनाएपछि मात्रै शाक्य प्रदेशसभामा लड्न तयार भएको चर्चा एमालेभित्र छ। प्रदेश ३ मा वाम गठबन्धनको दुई तिहाई बहुमतसहितको सरकार बन्ने छ। शाक्य आफू मुख्यमन्त्री भएपछि पाँच वर्षमा प्रदेश ३ लाई कस्तो बनाउने भन्ने खाका नै लिएर चुनावमा होमिएकी थिइन्।

प्रदेश ३ को १३ जिल्लाका प्रतिनिधि तथा स्थानीय भावनालाई समेटेर सरकार र प्रदेश मुकाम तय गरिने मुख्यमन्त्रीकी प्रमुख दाबेदार शाक्यले बताइन्। उनले सरकार बनेपछि पाँच वर्षमा प्रदेश ३ लाई नमुना बनाउने बताएकी छन्।

नुवाकोट २ बाट प्रतिनिधिसभा सदस्य विजेता नारायणप्रसाद खतिवडाले भने प्रदेश ३ को नाम लाङटाङ प्रदेश राखिनुपर्ने र मुकाम हरेक किसिमले उपयुक्त नुवाकोटलाई बनाइनुपर्ने बताए। मुख्यमन्त्रीका अर्का दाबेदार राजेन्द्र पाण्डेले प्रदेश ३ मा विकासको लहर ल्याउन सक्षम भएकाले आफूले मुख्यमन्त्रीको दाबी गरेको बताए। प्रदेशभित्र रेलमार्ग र ठूला महानगर बनाउने बताएका छन्। विदुर, धादिङ, रसुवागढी हुँदै चीनको केरुङबाट रेलमार्ग जोड्ने तथा कृषिलाई निर्यातमुखी बनाउने योजना पाण्डेले सार्वजनिक गरेका हुन्। प्रदेश ३ मा बनाइने ठूला नगरभित्र ठुल्ठूला पार्क बनाउने, प्रदेश ३ लाई जलविद्युतको हब बनाउने उनको योजना छ।

अन्तिम मतपरिणामसँगै प्रदेश ३ को राजधानी कहाँ रहला र नाम के होला भन्ने चासो सर्वत्र छ। त्यसअघि राजनीतिक नेतृत्वका लागि भने मुख्यमन्त्री प्रमुख प्राथमिकताको विषय बनेको छ। केन्द्रीय तहका नेताले आफूलाई मुख्यमन्त्रीको दाबेदारका रूपमा प्रस्तुत गर्दै प्रदेशसभा सदस्यमा भोट नै मागेका थिए। मुख्यमन्त्रीमा पनि वाम गठबन्धनकै नेताहरूको चासो र दाबी बढेको छ।

नेताहरू अन्य दल रिझाउनेभन्दा पनि पार्टीमै लबिङ गर्न लागिपरेका छन्। यस्तोमा वाम गठबन्धनभित्रका दुई घटक एमाले र माओवादी केन्द्रका नेताले आफ्नो पार्टीले र त्यसमा पनि कतिपय विजेता आफैंले प्रदेशमन्त्री पाउनुपर्ने माग गर्न थालेका छन्। ‘मुलुकमै सम्भावना बोकेको, धार्मिक तथा ऐतिहासिक हिसाबले अगाडि रहेको प्रदेश ३ लाई नेतृत्व दिई विकास गर्ने इच्छा शक्ति मैले राखेको छु', मुख्यमन्त्रीका अर्का दाबेदार पशुपति चौलागाईंले भने, ‘कुनै लोभ-लालच नराखी, विकासको दृढ भावना भएको अनि पार्टीका र जनताका एजेन्डालाई तीव्र गतिमा अघि बढाउनसक्ने व्यक्ति भएकाले मेरो दाबी हो।'

यो प्रदेशमा पार्टीको प्रभावअनुसार एमालेबाटै मुख्यमन्त्री चयन हुनुपर्ने चौलागाईंले बताए। ‘एमालेको बलियो प्रभाव भएको क्षेत्र हो यो, त्यसैले मुख्यमन्त्री एमालेबाटै हुन्छ', उनले भने, ‘सैद्धान्तिक रूपमा त ठिकै होला तर प्रदेशको विशेषता र पार्टी प्रभावलाई हेर्दा उहाँहरू (माओवादी) ले दाबी गर्ने अवस्था छैन।'

प्रदेशको सीमांकन, नामांकनसहित गभर्नर छनोट गर्ने, ऐनहरू निर्माण गर्नेलगायत मुख्य काम बाँकी रहेकाले ती काम वाम गठबन्धनको मुख्यघटक एमालेले मात्र राम्रोसँग गर्नसक्ने पोलिट्ब्युरो सदस्य महेन्द्रवहादुर पाण्डेको तर्क छ। ‘संविधान कार्यान्वयनको मुख्य नेतृत्व एमालेले प्रभावकारी रूपमा गर्न सक्छ', उनले भने, ‘संघीयता, संविधान हाम्रो एजेन्डा भएकाले पहिलो प्रदेशसभा हामीबाटै नेतृत्व होस्।' उनले नामांकन र सीमांकनबारे भने प्रदेशसभाको दुई तिहाइले निर्णय गर्ने उल्लेख गर्दै त्यो पार्टीबाट निर्देशित हुने हुँदा आफूले यसै भन्न नसक्ने बताए।

चार दशकदेखि पार्टीमा सक्रिय शाक्य भने पार्टीलाई नेतृत्व दिनसक्ने क्षमता आफूसँग भएकाले मुख्यमन्त्रीको दाबी गर्नु स्वाभाविक भएको बताउँछिन्। मुख्यमन्त्री व्यक्ति विशेषको मनसायका आधारमा हुने नभए पनि आफू योग्य भएको उनको दाबी छ।

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.