लिफ्टमार्फत घरघरमा खानेपानी

लिफ्टमार्फत घरघरमा खानेपानी

सिन्धुपाल्चोक : खानेपानीको समस्यामा भौंतारिइरहेका सानुसिरुबारीका बासिन्दाको घरमा अहिले नियमित धारामा पानी आउन थालेको छ । गाउँको माथिल्लो भागमा पानीको स्रोत नहुँदा दैनिक खानेपानीको समस्या झेलेका गाउँलेका लागि दुई किलोमिटर तलको मजुवा खोलाको पानी लिफ्ट प्रविधिमार्फत गाउँमा भित्र्याएपछि खानेपानीको समस्या टरेको हो । झन्डै पौने दुई करोडको लगानीमा लिफ्टिङ खानेपानी आयोजना सम्पन्न गरेपछि गाउँका धारामा पानी खसाल्न सफल भएको स्थानीय गणेशबहादुर श्रेष्ठले बताए ।

गाउँभन्दा झन्डै दुई किलोमिटरमुनिको स्थानीय मजुवा खोलामा पानीको मुहानबाट लिफ्टिङ गरेर पानी ल्याउने प्रयास सफल भएपछि अहिले गाउँका गृहिणीको दैनिकी फेरिएको छ । घन्टौं लाम लागेर पानी थाप्नुपर्ने समस्याबाट गृहिणीलाई मुक्ति मिलेको उपभोक्ता समितिका अध्यक्षसमेत रहेका श्रेष्ठले बताए ।

एक गाग्री पानी लिन सिंगो बिहान खर्चिनुपर्ने भएपछि यहाँका गाउँवासी छिट्टै लिफ्टिङको पानी ल्याउन आफैँ काममा खटेका थिए । त्यसैले पनि खानेपानीको समस्या झेलिरहेको सानोसिरुवारीमा पौने दुई करोड रुपैयाँको लागतमा सञ्चालन गरिएको खानेपानी योजना निर्माणको काम सम्पन्न भएर परीक्षणको रुपमा धारा सञ्चालनमा ल्याइएको छ । ‘खानेपानीका कारण गाउँवासीलाई निकै समस्या भएको थियो, त्यसैले छिट्टै हरेक घरमा पानी ल्याउन दुःख गर्‍यौं,' खानेपानी उपभोक्ता समितिका अध्यक्ष श्रेष्ठले भने, ‘एक गाग्री पानी ल्याउन यहाँका स्थानीयले घन्टौं समय बिताउनुपर्ने अवस्थाको अन्त्य गर्न हामी लागेका हौं ।' उनले खानेपानी उपभोक्ता समितिका सबै सदस्य र गाउँवासीले पानी छिट्टै धारामा खसाल्न मिहिनेत गरेकाले प्रयास सफल भएको बताए ।

यसअघि साविक सेलाङ गाविसको होल्चेबाट साविक चौतारा र सानोसिरुवारी गाविसका गरी करिब १४ सय घरको खानेपानी आवश्यकता पूर्ति गर्नेगरी खानेपानी आयोजना सञ्चालन गरिएको थियो । सानोसिरुवारीको पनि जनघनत्व बढ्दै जाने र पानीको मात्रामा कमी हुन थालेपछि अभाव चुलिँदै गएको स्थानीय बताउँछन् ।

पानीकै कारण गाउँमा विभिन्न समस्या थपिँदै गएपछि स्थानीयले अर्को वैकल्पिक मुहान खोजी गरेका थिए । बस्तीभन्दा डेढ किलोमिटरमुनिको खोल्सामा मुहान भेटिएपछि लिफ्टिङ खानेपानी आयोजना यसैको विकल्प बनेको श्रेष्ठको भनाइ छ ।

एक करोड ६२ लाख ४९ हजार लागतको आयोजनाका लागि मुहानमा फिल्टरसहितको ५३ घनमिटर, बीचमा १० घनमिटर र अन्तिम बिन्दुमा रहेको कोटडाँडामा ८० घनमिटर क्षमताका तीनवटा ट्यांकी निर्माण गरिएको छ । मुहानदेखि ३ सय मिटरको ठाडो दुरी रहेको कोटडाँडासम्म एक हजार ६ सय मिटर पाइपद्वारा पानी पुर्‍याइएको छ । जलाशयबाट ३ हजार ७ सय मिटर पाइपमार्फत दुई विद्यालय र २ सय ८० घरपरिवारका एक हजार ७ सय ७२ स्थानीय लाभान्वित हुने वडा अध्यक्ष उमाप्रसाद दुलालले बताए ।

 

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.