समानुपातिकको मतगणना अन्तिम चरणमा : मतान्तर घटाउँदै कांग्रेस
काठमाडौँ : समानुपातिकको मतगणना अन्तिम चरणमा पुग्दा नेपाली कांग्रेसले मतान्तर घटाउँदै गएको छ। आइतबार विहान ११ बजे सम्मको मतगणना अनुसार नेकपा एमाले भन्दा कांग्रेसको मत ४७ हजार १८७ मात्रै कम रहेको छ।
निर्वाचन आयोगका अनुसार एमालेले ३१ लाख ६१ हजार ४२८ मत प्राप्त गरेको छ भने कांग्रेसले ३१ लाख १३ हजार २४१ मत पाएको छ। समानुपातिकमा एमाले भन्दा झिनो मतले मात्रै कांग्रेस पछाडि देखिएको छ। उता प्रत्यक्ष तर्फ भने एमाले ८० सिट जितेको छ भने कांग्रेसले २३ सिट मात्र जितेको छ।
नेकपा माओवादी केन्द्रले १२ लाख ९६ हजार ४८ मत प्राप्त गरेको छ। उसले प्रत्यक्षमा ३६ स्थानमा जित हासिल गरेको छ। प्रत्यक्षमा कांग्रेसले भन्दा बढि सिट जितेको भएपनि समानुपातिकको मतपरिणामका कारण माओवादी केन्द्र तेस्रो दल हुने भएको छ।
११ स्थानमा जित हासिल गर्न सफल राष्ट्रिय जनता पार्टी नेपाल(राजपा)ले समानुपातिक तर्फ ४ लाख ७२ हजार १९७ मत प्राप्त गरेको छ भने मधेशवादी अर्को दल संघीय समाजवादी फोरम नेपालले ४ लाख ६९ हजार ९५५ मत प्राप्त गरेको छ। फोरमले प्रत्यक्षमा १० स्थानमा जित हासिल गरेको छ। मतगणना अन्तिम चरणमा पुग्दा एमाले, कांग्रेस, माओवादी, राजपा र फोरम मात्रै राष्ट्रिय दल हुने निश्चित भएको छ।
प्रत्यक्षमा १/१ सिट जितेका राष्ट्रिय प्रजातन्त्र पार्टी, नयाँ शक्ति पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीले राष्ट्रिय दलको मान्यता नपाउने भएका छन्। निर्वाचनको समय चर्चामा रहेको विवेकशील साझा पार्टी पनि राष्ट्रिय दल नहुने भएको छ। राष्ट्रिय दल हुनको लागि ३ प्रतिशत थ्रेसहोल्ड कटाउनु पर्ने कानुनी व्यवस्था रहेको छ।