कवाडी सामान बटुल्ने बहानामा चोरी गर्ने 'चल्ला' समुह पक्राउ
काठमाडौं: कवाडीका सामान बटुल्ने बहानामा भारतबाट नेपालमा पसेर चोरी गर्ने एउटा समूहलाई प्रहरीले पक्राउ गरेको छ ।
चोरी गर्नैका लागि भारतको बिहार समस्तीपुरबाट समुह बनाएर उपत्यकाका बिभिन्न स्थानमा कवाडका सामान संकलन गर्ने बहाना बनाई चोरीमा संलग्न उनीहरु प्रहरीबाट पक्राउ परेका हुन् ।
बिहान तथा दिउसोको समय घरमा कोही नभएको मौकामा ढोका र झ्याल फोडी नगद ,सुन चाँदीका गहना, मोवाइल र अन्य विद्युतीय सामान समेत चोरी गर्ने ती भारतीय नागरिकहरुलाई विशेष सूचनाको आधारमा पक्राउ गरिएको हो ।
पक्राउ परेकाबाट चोरी गरेका बिभिन्न मोवाइल तथा घडी बरामद भएका छन् । उनीहरुलाई कानुनी कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
पक्राउ पर्नेमा भारतको बिहारका २६ वर्षीय दिनेश पोदार, बिहारकै २८ वर्षीय मुकेश कुमार पोदार, १८ वर्षीय केतुल पोदार, १८ वर्षीय सुरज पोदार , १८ वर्षीय विकास पोदार, नेपालको बाराका ३१ वर्षीय राजकुमार अधिकारी रहेका छन् ।