देउवालाई वाम गठबन्धनको आग्रह : ‘जनादेशको सम्मान गर्नुस्'

देउवालाई वाम गठबन्धनको आग्रह : ‘जनादेशको सम्मान गर्नुस्'

काठमाडौं : एमाले-माओवादीका शीर्ष नेताहरूले जनादेशको सम्मान गर्दै नयाँ सरकार गठनका लागि बाटो खोलिदिन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालले आइतबार संयुक्त पत्रकार सम्मेलन गर्दै कांग्रेसलाई सरकार छोडेर सशक्त र जिम्मेवार प्रतिपक्षको भूमिकामा बस्न आग्रह गरेका हुन्। नयाँ सरकार गठनका लागि संवैधानिक तथा व्यावहारिक रूपमा कुनै अस्पष्टता र जटिलता नरहेको प्रस्ट्याउँदै संविधानको अपव्याख्या गर्ने, राष्ट्रपतिलाई असंवैधानिक काम गर्न उक्साउने काम बन्द गर्न पनि उनीहरूले चेतावनी दिएका छन्।

एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीको कुर्सीमा बसेर देउवाले राष्ट्रपतिलाई असंवैधानिक काम गर्न उक्साइरहेको आरोप लगाए। आफूलाई राष्ट्रपति उक्साएको आरोप प्रधानमन्त्रीले लगाए पनि खासमा राष्ट्रपतिलाई उक्साउने र असंवैधानिक काम गर्न लगाउन ‘प्रेसर' बढाउने काम प्रधानमन्त्रीले गरिरहेको उनको भनाइ थियो। ‘प्रधानमन्त्रीको कुर्सीमा बसेर, जाँदै गरेको सरकारको नेतृत्वले जे पायो त्यही अध्यादेश ल्याएर राष्ट्रपतिलाई असंवैधानिक काम गर्न लगाउने, उक्साउने काम गर्नु हुँदैन,' ओलीले पत्रकार सम्मेलनमा भने, ‘राष्ट्रपतिले के गर्ने/नगर्ने विचार र विवेक पुर्‍याएर गर्नुपर्छ, अहिले अध्यादेश राष्ट्रपतिले जारी गर्नु हुँदैन।'

सरकारले पठाएको राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश राष्ट्रपतिबाट स्वीकृत भएपछि राजीनामा दिने बताएर प्रधानमन्त्री देउवाले संविधानको अपव्याख्या गर्दै सत्ता लम्ब्याउन खोजेको आरोप ओली-दाहालले लगाएका छन्। एमाले अध्यक्ष ओलीले कांग्रेसले खेल सुरु भइसकेपछि नियम बदल्न खोजेको बताए। ‘खेल सुरु भएपछि नियम परिवर्तन गर्ने कुरा कहाँ हुन्छ ? बल हान्ने अवस्थामा किपरले समाउन नसक्ने अवस्था आएपछि नियम बनाउने हो र ? ' ओलीले भने।

सरकारले राष्ट्रियसभा गठनसम्बन्धी विधेयकमा बहुमतीय प्रणालीका आधारमा गठन हुने गरी संसद्मा छलफलक्रममा रहेको कानुनको मस्यौदालाई परिवर्तन गरी एकल संक्रमणकालीन व्यवस्थाअनुसार गठन हुने गरी राष्ट्रपतिकहाँ अध्यादशेका रूपमा पठाएको थियो। संसद्मा उक्त विधेयक छलफलक्रममा रहँदा देउवा नेतृत्वको सरकारले नै बहुमतीय प्रणालीका आधारमा चुनिने गरी ल्याउन खोजेको थियो तर पछि एमाले-माओवादीले चुनावी तालमेलको घोषणा गरपेछि संसद्मा उक्त विधेयक अड्काएर सरकारले एकल संक्रमणकालीन व्यवस्थाअनुसार गठन हुने गरी अध्यादेशमार्फत राष्ट्रपतिकहाँ पठाएको थियो।

एमाले-माओवादीले राष्ट्रियसभा गठनसँग नयाँ सरकार गठनको साइनो नरहेको दाबी गरेका छन्। माओवादी अध्यक्ष पुष्पकमल दाहालले निर्वाचन गरेर सकारात्मक सन्देश छोडेको सरकारले एउटा-दुईटा नियुक्ति र सरुवा-बढुवाजस्ता विषयमा लोभलालच नदेखाई जनादेशको सम्मान गर्नुपर्ने बताए। ‘निर्वाचन सम्पन्न गराएर सरकारले जस पाएको छ तर अहिले एउटा-दुईटा नियुक्ति गरेर सबै जसजति अपजसमा लैजानु हुँदैन,' दाहालले प्रधानमन्त्री देउवालाई सुझाउँदै भने, ‘अहिलेको सरकार कामचलाउ भइसकेको छ। यस्तो बेला सानोतिनो कुराको लोभ गर्नु हुँदैन।'

राष्ट्रियसभामा महिलाको प्रतिनिधित्वबारे संविधानमै व्यवस्था रहेकाले कांग्रेसले महिला प्रतिनिधित्वको विषय उठाएर बेतुकको तर्क गरिरहेको आरोप ओली लगाए। ‘राष्ट्रियसभामा प्रत्येक प्रदेशबाट तीन जनाको दरले २१ जना र सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने तीन जनामा पनि एक जना महिला गरेर ५९ जनामा २२ जना महिला अनिवार्य व्यवस्था संविधानमै छ, यो भनेको कुल ३७ दशमलव २ प्रतिशत हो, अनि फेरि महिला प्रतिनिधित्वको प्रश्न उठाउने ? ' ओलीले भने, ‘राष्ट्रियसभामा कुनै सदस्य पुगेन भने प्रतिनिधिसभाले लगेर पुर्‍याउने होइन, यो कांग्रेसको बेतुकको तर्क हो।'


‘देशविरुद्ध षड्यन्त्र नफैलाऔं'

ओलीले कम्युनिस्ट सरकार बनेपछि देशबाट पुँजी पलायन हुने, अर्थतन्त्र धारासयी हुनेजस्ता भ्रम फैलाउने काम भएको प्रति पनि सचेत हुन आग्रह गरे। आफ्नो तुच्छ स्वार्थका लागि कतिपयले देशकै विरुद्ध षड्यन्त्र गर्न यस्तो अफवाह फैलाएको ओलीको भनाइ थियो। उनले यस्ता अभिव्यक्ति दिनेलाई तीन महिना कुर्न र वाम गठवन्धनको सरकार हेर्न आग्रह पनि गरे।

‘३ महिनाको अवधिमा हेर्नुहोस्, पुँजी पलायन आदि/इत्यादि भनेर अहिले भ्रम फैलाउन खोजिएको छ, यो देशविरुद्धको षड्यन्त्र हो,' ओलीले भने, ‘ देशको निम्ति अहित हुने कुरा गर्ने र सोच्ने काम साना स्वार्थ र तुच्छ अहम्का लागि सोच्नु हुँदैन।'

ओलीले भारतले नेपालमा अब स्थिर र स्थायित्व हुने कुरामा विश्वास व्यक्त गरिसकेकोले अहिलेको जनादेशको सम्मान गर्ने र नयाँ सरकारसँग मिलेर काम गर्नेमा आफू विस्वस्त भएको बताए।


पार्टी एकता हुन्छ

ओली-दाहाल दुवैले दुई पार्टीबीचको पार्टी एकतामा कुनै शंका नगर्न आग्रह गरे। ‘हामी पार्टी एकता गर्छौं, निकट भविष्यमा पार्टी एकता हुन्छ,' पार्टी एकतापछिको पद बाँडफाँटको विषय छलफल नभएको प्रस्ट्याउँदै ओलीले ‘पार्टी अध्यक्षको पद हेरेरभन्दा पनि देशको आकांक्षा र आवश्यकतालाई हेरेर पार्टी एकता गर्न लागिएको बताए।

ओलीको भनाइप्रति समर्थन जनाउँदै माओवादी अध्यक्ष दाहालले पनि पदमा आफूहरूको कुनै लोभ लालच नभएको बताए। ‘हामी प्रधानमन्त्री पनि भइसकेका मान्छे हौं, फेरि सजिलै छोडेका पनि छौं, त्यसैले लोभ लालच हामीमा छैन।' दाहालले भने।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.