प्रदेश १ को राजधानी माग्दै चालकलाई पुष्पगुच्छा
इटहरी : इटहरीवासीले प्रदेश १ को राजधानी माग गर्दै बुधबार बिहान लामो दूरीका यात्रु र चालकलाई पुष्पगुच्छा दिएका छन्। इटहरीको आवाज राजधानीसम्म पुग्ने विश्वास लिएको इटहरी राजधानी सरोकार समाजका सचिव शैलेश विष्टले बताए।
राजधानी माग्दै ठाउँठाउँमा बन्द र हडतालका कार्यक्रम भइरहेका बेला इटहरीवासीले भने शान्ति र सद्भाव कायम गर्दै यस्तो कार्यक्रम गरेका हुन्। बुधबार बिहान इटहरीबाट काठमाडौंका लागि छुट्ने यात्रुवाहक बसका यात्रुलाई पुष्पगुच्छा दिइएको थियो। बेलुका पनि ट्राफिक कार्यालय नजिकै भेला भएर पुष्पगुच्छा दिइने बताइएको छ।
शान्तिपूर्ण रचनात्मक कार्यक्रमले इटहरी बन्द, हडताल निषेधित शान्तिक्षेत्र रहेको र व्यवसायीमैत्री रहेको सन्देश पुग्ने घरेलु तथा साना उद्योग व्यवसायी संघ सुनसरीका अध्यक्ष राजेन्द्रकेशरी घिमिरेले बताए। इटहरीलाई प्रदेश राजधानी बनाउन इटहरीको एउटा टोलीले राजधानीमा शीर्ष नेतासँग भेटघाटसमेत गरिरहेको छ।
प्रदेश नं. १ मा यातायातको सुगमता, विभिन्न कार्यालयको क्षेत्रीय कार्यालयको सुविधा, कार्यालयका लागि खाली जग्गा, सुरक्षा सबै हिसाबले इटहरी राजधानी हुनयोग्य रहेको इटहरीवासीको दाबी छ।