रसुवाका भूकम्पपीडितलाई नुवाकोटमा एकीकृत नमुना बस्ती
नुवाकोट : रसुवाको डाँडागाउँका २४ घर भूकम्पपीडितका लागि नुवाकोटमा एकीकृत नमुना बस्ती निर्माण सुरु गरिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले नुवाकोट किस्पाङ गाउँपालिका-५ शान्ति बजारमा एकीकृत नमुना बस्ती बनाएर स्थानान्तरण गर्न लागेको हो ।
प्राधिकरणले प्रति परिवार दुई लाख रुपैंयाँमा घडेरी खरिद गरी जग्गाधनी प्रमाण पूर्जा समेत हस्तान्तरण गरिसकेको रसुवाका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले जानकारी दिए । सरकारले घर बनाउनप्रतिपरिवार तीन लाख रुपैया उपलव्ध गराउने बताए ।
एकीकृत नमुना बस्तीमा सडक, बत्ति, खानेपानी, ढल लगायतका पुर्वाधारको निर्माण गरिनेछ । त्यो स्थान नुवाकोटको विदुरदेखि २५ किलोमिटर उत्तर त्रिशूली नदीको पश्चिमी किनारामा अवस्थित छ ।
हाल प्राधिकरणले एकिकृत नमुना बस्तीको डिजाइन तयार गरिरहेको छ । आगामी एक हप्ता भित्र रसुवाकै बोगटीटारमा ४७ परिवार र नुवाकोटको शान्ति बजारमा २१ परिवारका लागि एकीकृत नमुना बस्ती निर्माणको प्रक्रिया अघि बढाइने प्रजिअ न्यौपानेले जानकारी दिए ।
प्राधिकरणले नुवाकोटको उर्लेनीका २४ परिवार भूकम्प पीडितलाई खरानीटारमा बस्ती निर्माणका लागि जग्गा उपलब्ध गराएको थियो । हाल कित्ताकाट तथा नक्सांकनको काम भइरहेको बताइएको छ ।
एकीकृत बस्ती विकास सम्बन्धी कार्यविधि अनुसार भूकम्प प्रभावित जिल्लामा सरकारी प्रक्रिया र मापदण्ड अनुसार कम्तीमा १० घरपरिवारले एकीकृत वस्ती निर्माण गर्न चाहे हिमाली जिल्लामा पाँच लाख, पहाडी जिल्लामा चार लाख र तराई वा शहरी क्षेत्रमा तीन लाख रुपैयासम्म प्रति घरपरिवार सरकारले पुर्वाधार विकास लागि खर्च गर्ने व्यवस्था छ ।
२०७४ साल असार २८ गते प्रधानमन्त्रीको अध्यक्षतामा बसेको प्राधिकरण निर्देशक समितिको दशौं बैठकले जोखिमयुक्त वस्तीका भूकम्पपीडितलाई सुरक्षित स्थानमा सर्न चाहे घडेरी खरिद गर्न दुई लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो । नुवाकोटमा ६९ हजार आवास पुनःनिर्माण गर्नुपर्ने देखिएको छ ।