‘सडकका गाईबाच्छाले कयौँ दिनसम्म पानी पनि खान पाउँदैनन्’
शोभा शाक्य, पशु अधिकारकर्मी तथा स्वयंसेवी
दुई वर्षअघि बाटोमा हिँड्दै गर्दा मूल सडकमा एउटा मरेको बाच्छो देखें। त्यसलाई अर्को बाच्छाले चाटिरहेको थियो। मृत बाच्छोको मुखभरि झिँगा भन्किरहेको थियो। त्यो दृश्यले मलाई एकछिन रोक्यो। त्यो दुःखद दृश्य मैले एकोहोरो हेरिरहें। आमा पनि भएकीले बढी भावुक भएछु र एक्कासि भक्कानिएछु। त्यस दिनपछि बाटोमा बिचल्लीमा पारिएका गाईबाच्छाप्रति मेरो विशेष सेवाभाव रहन गयो। त्यसपछि मैले दही दूध खानै छोडें। प्राणीले पाएको कष्ट देखेर पाँच वर्षअघि मैले मासु खान छोडिदिएँ। पहिले पनि आक्कलझुक्कल रूपमा सडकमा भेटिएका घाइते जनावरलाई उपचार गराउने प्रयास गर्थें। दुई वर्षसम्म एक्लैले बेवारिस घाइते गाईबाच्छाका औषधिमूलो र सेवा गरें। अघिल्लो वर्षको हिउँदमा करुण मन भएका केही साथीहरूले पानीको अभावमा मर्ने अवस्थामा पुगेका राजधानीको रानीपोखरीका माछालाई सार्ने अभियान चलाए। म त्यसमा सक्रिय रूपमा सहभागी भएँ।
पछिल्लो समय काठमाडौंका छाडा गाईपशुका हकमा पशु रेडक्रस खोल्ने र भेट्टाएसम्म सडकमै पुगेर घाइते, असक्त र बिरामी पशुहरूलाई तुरुन्त प्राथमिक उपचार गर्ने भन्ने सोचका साथ केही साथीहरू मिलेर ‘एब्यान्डन्ड एनिमल एड एक्ट (आफ्फा)’ कार्यक्रम चलाएका छौं। यो कार्यक्रममा सत्गुरु सेवा कुटुम्ब संस्थाले सहयोग गर्ने गरेको छ। यो कार्यक्रम सत्गुरु सेवा कुटुम्ब गुरुकुल आ श्रमबाट चालाउने निर्णय गरियो। यो संस्था आध्यात्मिक संस्था भएकाले हामीलाई पशु सेवासम्बन्धी काम गर्न सजिलो हुने भयो। पूर्वीय दर्शनले अरूको उपकारलाई धर्म भनेको छ। यसमा पनि मान्छेको भाषा बुझ्न नसक्ने प्राणीको सेवा र त्यसमा पनि गौ सेवालाई पुण्य काम मानिएको छ। धेरै आध्यात्मिक व्यक्तिहरूको निकट रहेकाले पनि मैले त्यस्तो महसुस गर्न पाएकी छु।
गाईको फोटोमा ढोग्ने तर तिनका दुधे बाच्छालाई डाँडा कटाइदेऊ भनेर दुईचार सय दिनेहरू ढोंगी हुन्। दूध खानु र दुधेबाच्छाको मासु खानुबीच फरक रहेन। राष्ट्रिय जनावरका रूपमा पुजिने गाईबाच्छाविरुद्ध भएका गम्भीर अपराधविरुद्ध केही गर्नैपर्छ।
हामीले काठमाडौं उपत्यकामा छाडिएका र त्यागिएका अवस्थामा रहेका खासगरी गाईबाच्छालाई प्राथमिक उपचार दिलाई उनीहरूका दुःख र पीडा कम गर्ने र सम्बन्धित ठाउँमा जानकारी गराई उद्घारमा सहजीकरण गर्ने प्रयास गरेका छौं। तर हाम्रो यो प्रयास हात्तीको मुखमा जिरा झैं भइरहेको छ। दैनिक कैयौं संख्यामा सडकमा पछारिइरहेका गाईबाच्छाको व्यवस्थापन त्यति सहज छैन। हामीले त पशुका बारेमा काम गर्ने संस्थाहरूसँग समन्वय गरी उद्घारका लागि योगदान गर्ने मात्र हो। यसै वर्षको कात्तिकको दोस्रो हप्ताबाट औपचारिक रूपमा सुरु गरेका हौं र यसबीचमा हामीले ६० भन्दा बढी गाईवस्तुका उपचार गर्यौं। अधिकांश छाडा गाईबाच्छाको घाउका कारण भएको इन्फेक्सनले खुर र शरीरको अन्य अंग कुहिने भएको भेटाएका छौं। खाना र पानी नपाएर अधिकांश गाईबाच्छा सुकेनास र कुपोषणले ग्रस्त छन्। कतिलाई नाम्ले भएको छ त कतिलाई निमोनिया। पहाड, भीर, खोलामा हिँड्न सक्ने गाईवस्तु बलिया प्राणी हुन्। तर सहरबजारमा भेटिएका अधिकांश गाईबाच्छा निर्बल छन्। शरीरमा किर्नाजस्तै परजीवीले टोकेर तिनको त्यस्तो अवस्था भएको छ। सडकमा भेटिएका गाईबाच्छाले खाना त परै छोडौं, कैयौं दिनसम्म पानी खान पनि पाउँदैनन्।
हामी यो कार्यक्रमलाई सम्भव भएसम्म सबैतिर लैजाने प्रयास गर्दैछौं। तर स्थानीय सरकारसँग ठूलो धनराशि र जनशक्ति भएको अवस्थामा र सरकारले नै यस्ता छाडा चौपायाको व्यवस्थापन गर्ने भनेर तोकेपछि स्थानीय तहहरूले नै पहिलो जिम्मेवारी लिनुपर्छ। तत्कालका लागि किसानलाई कानुनी रूपमा कस्दै गाईबाच्छालाई ट्यागिङ गर्नु नै सबैभन्दा उचित हो। तर अहिले सडकमा आएकाको पनि मानवीय आधारमा व्यवस्थापन गर्नुपर्छ। गाई फार्मलाई करोडौं अनुदान दिन तयार केन्द्रीय र स्थानीय सरकारले गाईका लागि सेल्टर निर्माण गर्नैपर्छ। स्थानीय सरकार अघि लागेपछि मात्रै हामीजस्ता स्वयंसेवीलाई सजिलो पर्छ।