'सरकारले राष्ट्रियसभा अध्यादेश रोक्नै पर्छ'

'सरकारले राष्ट्रियसभा अध्यादेश रोक्नै पर्छ'

एमाले पोलिटब्युरो सदस्य अग्नि खरेल संविधानविद्समेत हुन् । सरकार गठनमा देखिएको ढिलाइ र राष्ट्रियसभासम्बन्धी अध्यादेशले निम्त्याएको जटिलता तथा समसामयिक राजनीतिक विषयमा खरेलसँग शनिबार गोविन्द लुइँटेलले गरेको संक्षिप्त कुराकानी :

सरकारले प्रदेश प्रमुख तथा मुकाम तोक्यो भने तपाईंहरूको नयाँ सरकारले मान्यता दिन्छ ?

हामी त्यसलाई मान्दैनौँ । उसले यी काम ६ महिनाअघि नै गर्न सक्थ्यो । तर, प्रारम्भिक तयारी पनि गरेन । अहिलेसम्म ती ठाउँमा भौतिक संरचना तयार भइसक्थ्यो । प्रादेशिक सरकार केन्द्रीय सरकारको पुल हो । उसको भूमिका समन्वयकारी हुनुपर्छ । त्यस्तो जिम्मेवारी प्रदेश प्रमुखले गर्छ । त्यस्तो महत्वपूर्ण जिम्मेवार लिने व्यक्ति निर्वाचनको परिणामबाट हारेको र अहिले बाहिरिसक्नुपर्ने पार्टीको सरकारले नियुक्त गरेको व्यक्तिलाई कसरी निरन्तरता दिन सकिन्छ । त्यो स्वीकार्य हुनै सक्दैन ।

अब बन्ने नयाँ सरकारले कसरी काम गर्छ ?

निर्वाचन आयोगले समानुपातिक तर्फको बाँकी मतपरिणाम सार्वजनिक गरेपछि प्रतिनिधिसभामार्फत सरकार गठन हुन्छ । प्रधानमन्त्रीको जन्म प्रतिनिधिसभाबाट हुन्छ । नेपालको संविधानको धारा ७६ को २ बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर प्रधानमन्त्री छनोट हुन्छ । निर्वाचित प्रधानमन्त्रीले प्रदेशको राजधानी र प्रमुख तोक्ने काम गर्छ । जनमत प्राप्त गरेको प्रधानमन्त्री जनताप्रति उत्तरदायी हुन्छ ।

वर्तमान सरकार राष्ट्रियसभाको निर्वाचनबिना सरकार गठन हुन सक्दैन भनिरहेको छ । जनताले सरकार गठन गर्न मत दिए पनि अब सरकार चलाइरहन्छु भनेर भएन । शेरबहादुरजी यही आधारमा सरकारको कुर्सीमा बस्नुस् मेरो शुभकामना छ ।

राष्ट्रियसभाको निर्वाचन नहुँदासम्म निर्वाचनका सबै चरण पूरा नहुने हो भने ऐन नै नबन्दै निर्वाचनको मिति किन तोकियो ? निर्वाचन प्रक्रिया किन अगाडि बढाइयो ? अब निर्वाचन परिणाम सार्वजनिक भएपछि सरकार गठन हुन्छ । प्रदेशको राजधानी र प्रदेश प्रमुख तोकिन्छ । यो नै सुल्टो बाटो हो ।

पाँच वटा राष्ट्रिय पार्टीले ३३ प्रतिशत महिला पुर्‍याउन कसैलाई गाह्रो छैन । राष्ट्रियसभामा संविधानले नै त्यति संख्यामा छनोट गर्ने स्पष्ट व्यवस्था गरेको छ । महिला प्रतिनिधित्वको चिन्ता गरेको देखिए पनि उसले सत्ता लम्ब्याउन खोजेको मात्र हो ।

सरकार गठनका लागि अहिले कसले अवरोध गरेको छ ?

सरकार आफूले पठाएको अध्यादेश राष्ट्रपतिबाट स्वीकृत गर्नुपर्छ भन्दै कुर्सीमा बसिरहने दाउ खेलिरहेको छ । यता, निर्वाचन आयोगले प्रतिनिधिसभातर्फ समानुपातिकको परिणाम ल्याएको छैन । तर, हामीलाई आशा छ, दलले प्राप्त गरेको मतका आधारमा सिट बाँडफाँट गरी आयोगले दललाई बुझाउनेछ । संविधानले ३३ प्रतिशत महिलाको प्रतिनिधित्व संघीय संसद्मा गराउने व्यवस्था गरेको छ । संविधानको मर्म पनि यही हो ।

राष्ट्रियसभासम्बन्धी अध्यादेश किन ल्याइयो ?

शेरबहादुर देउवाको सरकारले संविधान र कानुनअनुरूप चल्नुको साटो आफ्नो अनुकूलमा काम गर्न थालेको छ । जुन सर्वथा गलत र अनुचित कार्य हो । जुन वेला निर्वाचन आयोगले निर्वाचन कानुनबारे छलफल गराएको थियो, उसले राजनीतिक दलको विचार मागेको थियो । त्यसमा एमालेको तर्फबाट म आफैं सहभागी थिएँ । राष्ट्रियसभाको मतभार कति हुने भन्ने थियो । राष्ट्रियसभा मात्रै होइन, राष्ट्रपति र उपराष्ट्रपतिसम्बन्धी निर्वाचनमा पनि मतभारको कुरा हुन्छ यो छिटो टुंगो लगाउनुपर्‍यो भन्ने विचार राखियो । यो कुरा आयोगमा मात्रै होइन, संसद्मा १० वटा बैठमा उठायौं ।

निर्वाचन आयोगको अन्तिम छलफलमा राष्ट्रियसभाका लागि निर्वाचन प्रणाली के हो र भन्ने कुरा उठ्यो । त्यहाँ पनि बहुमतीय प्रणाली भन्नेमा छलफल भयो । त्यही आधारमा निर्वाचन आयोगले संसद्मा पठाउने विधेयकमा पनि त्यही कुरा राखियो । गृह मन्त्रालयमार्फत तत्कालीन गृहमन्त्री विमलेन्द्र निधिले राष्ट्रियसभा निर्वाचनसम्बन्धी विधेयक संसद्मा प्रस्तुत गर्नुभयो । त्यसमा छलफल तथा संशोधन गर्ने कुरामा भने गृहमन्त्री परिवर्तन भइसक्नुभएको थियो । अर्का गृहमन्त्री जनार्दन शर्माले दर्ता भएको विधेयकलाई संसद्मा टेबुल गर्नुभयो । समितिमा भने त्यो पुगिसकेको थिएन । संसद्मा छलफलकै क्रममा रहेको यो विधेयकलाई अनौपचारिक छलफलमा लगियो । त्यसपछि कांग्रेसले आफ्नो पोजिसन परिवर्तन गर्‍यो ।

त्यसबेला स्थानीय तहको निर्वाचन परिणाम आइसकेको थियो । कांग्रेसले निर्वाचनमा हार खेपेको थियो । वाम गठबन्धन बन्यो । त्यसपछि प्रदेशमा हार्ने उसले आकलन गर्‍यो । प्रत्यक्ष निर्वाचन प्रणालीबाट गइयो भने हामी कहीँ पनि निर्वाचित हुन सक्दैनौं भन्ने उसले महसुस गर्‍यो । त्यसकारण उसले संविधानले परिकल्पना नगरेको र आफूले सरकारमा हुँदासमेत परिकल्पना नगरेको निर्वाचन प्रणालीको वकालत गर्न थाल्यो । सरकारले त्यही कुरा संसद्मा पेस गर्न मिल्ने अनि जनताबाट निर्वाचन हार्दै गएपछि पोजिसन बदलेर कानुन बनाउन पाइन्छ ? हिजोसम्म एकल संक्रमणीय मत भनेर किन भन्न सक्नुभएन ? हार्दै गएपछि एकल संक्रमणीय मत भन्न तपार्इंलाई कहाँबाट दिव्य ज्ञान प्राप्त भयो ? कांग्रेसले आफ्नो अनुकूलतासँग उसले पोजिसन फेर्न मिल्छ ? यो कुरामा हामी कुनै हालतमा सहमत हुन सक्दैनौं ।

तपार्इंहरूले बहुमत पाइसक्नुभएको छ, १२ सिटकै कारण किन विवाद गर्नुपर्‍यो ?

यो मुद्दा सिटसँग जोडिएको मात्रै छैन । प्रश्न संविधानबमोजिम कानुन बन्नुपर्छ कि पर्दैन भन्ने हो । एकल संक्रमणीय भनेको फरक प्रणाली हो । संविधानले मि िश्रत निर्वाचन प्रणालीलाई चिन्छ । प्रतिनिधि तथा प्रदेशसभा दुवैतर्फ मि िश्रत निर्वाचन प्रणालीबाट निर्वाचन गरिन्छ । एकल संक्रमणीय निर्वाचन प्रणालीले दिने परिणाम समानुपातिक हुन्छ । तर, प्रणालीगत रूपमा आफैंमा यो फरक निर्वाचन प्रणाली हो । संविधानले नचिनेको निर्वाचन प्रणाली संविधान कार्यान्वयनको सिलसिलामा छिराउन पाइन्छ कि पाइन्न भन्ने प्रश्न हो । संविधानसँग यसको डीएनए टेस्ट गरियो भने पनि कतै मिल्दैन ।

नेपालमा एकल संक्रमणीय प्रणालीबाट राष्ट्रियसभाको निर्वाचन त भएको हो । खास त्रुटि केमा भयो ?

०४७ सालको संविधानमै राष्ट्रियसभाको निर्वाचन एकल संक्रमणीय प्रणालीबाट गर्ने स्पष्ट व्यवस्था थियो । एकल संक्रमणीय प्रणालीबाट मात्रै समानुपातिक प्रतिनिधित्व हुने भन्ने पनि आममान्छेमा अहिले पर्न थालेको देखिन्छ । तर, प्रत्येक प्रदेशबाट ३ जना महिला, १ जना दलित, अपांगता भएको व्यक्ति वा अल्पसंख्यक एक जना र अन्य तीन जना गरी ५६ जना छनोट गर्न पाइने संविधानमा स्पष्ट व्यवस्था छ । यो क्लस्टरभन्दा बाहिरबाट कोही पनि आउन सक्दैन । संविधानले नै समानुपातिक निर्वाचन प्रणाली बनाइसक्यो । ३७ दशमलव २ प्रतिशत त प्रतिनिधित्व यसै हुन्छ ।

अध्यादेश अड्कियो अब निकास कसरी निस्कन्छ ?

अध्यादेशले दिन खोजेको कुरा राष्ट्रिय निर्वाचनको हो । अध्यादेश राष्ट्रपतिकोमा पठाइयो । राष्ट्रपतिले यसमा विचार विमर्श चलाउनुभएको छ तर उहाँले केही भन्नुभएको छैन । संविधानमा रहेको व्यवस्थाअनुसार भयो कि भएन भन्नेमा विवाद रहेको उहाँलाई थाहा छ । असंवैधानिक र विवास्पद बनेको विषयमा राष्ट्रपतिसँग तपार्इंहरू छलफल गर्नुस् भन्ने भन्दा अर्काे विकल्प देखिन्न ।

अध्यादेशको विषयमा राष्ट्रपति पनि विवादमा आउन लागेको भन्ने पनि छ नि ?

राष्ट्रपति विवादमा आउन खोजेको होइन । सरकारले विवादमा तानेको हो । प्रधानमन्त्रीका स्वकीय सचिवले भनेको कुरा बाहिर आइसकेको छ । राष्ट्रपतिको ओज नबुझेर उहाँले त्यस्ता अभिव्यक्ति दिएको हुनुपर्छ । हामीले त्यस्ता अभिव्यक्तिलाई गम्भीरपूर्वक लिएका छौं । तर, आफैंले कुनै संस्थालाई विवाद गराउन खोज्यो भने त्यो दुर्भाग्य हुन्छ । सरकारले त्यस्तो कुरा गर्न नखोजोस् । राष्ट्रपतिजस्तो एउटा गरिमा बोकेको संस्थालाई आफ्नो स्वार्थपूर्तिको विषय बनाउनु हुँदैन । उहाँहरूको स्वार्थपूर्तिका लागि यस्तो काम गरिरहनुभएको छ भन्ने त उहाँहरूको कर्मले देखाएको छ । बेइमानी कांग्रेसले गरेको छ । संसद्मा विधेयक पेस गर्ने अनि पारित नगरी अध्यादेशबाट एकल संक्रमणीय व्यवस्था घुसाएर ज्यान बचाउन खोज्ने ?

अब यो अध्यादेश राष्ट्रपतिबाट फिर्ता हुन्छ ?

यो उहाँमै निर्भर छ । निर्वाचन आयोगले परिणाम सार्वजनिक गरेपछि सरकार गठन गर्ने, प्रदेश प्रमुख र मुकाम तोक्ने अनि मात्रै त्यही सरकारले राष्ट्रियसभासम्बन्धी कानुन ल्याएर नयाँ सरकारले ल्याउँछ र निर्वाचन गराउँछ । यो सरकारले अध्यादेश फिर्ता लिनु सबैभन्दा राम्रो हुन्छ । सरकारले पठाएका यस्ता अध्यादेश राष्ट्रपति कार्यालयको गर्भमा बसेको धेरै उदाहरण छन् । नेपालमा मात्रै हो अन्य देशमा पनि छन् । कांग्रेसले हामीलाई थर्काउनु पर्दैन । लोकतन्त्रको पाठ हामीले पनि पढेका छौं ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.