उद्घाटन ०२७ सालमा, बन्ने कहिले ?
तौलिहवा : भारतीय सीमावर्ती कृष्णनगर बजार कपिलवस्तुको प्रमुख व्यापारिक केन्द्र हो। पश्चिम नेपालको बेलहिया सुनौली नाकापछि दोस्रो भन्सार नाकाका रूपमा पनि यसलाई लिइन्छ। राज्यले यो नाकाबाट वार्षिक अर्बौं रुपैयाँ राजस्व संकलन गर्दै आएको छ। तर, कृष्णनगर बजारमा अस्पताल बनाउन थालेको पाँच दशक बित्दा पनि त्यसले पूर्णता पाउन सकेको छैन।
कृष्णनगरवासीलाई स्वास्थ्योपचार पुर्याउने उद्देश्यले ०२७ सालमा तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाले कृष्णनगर अस्पतालको भवन उद्घाटन गरेका थिए। पञ्चायतको समयमा उद्घाटन भएको अस्पताल गणतन्त्र आइपुग्दा पनि सञ्चालनमा आउन सकेको छैन। नेपाललाई वार्षिक अर्बौं राजस्व उठाउने कृष्णनगर बजारमा अवस्थित अस्पताल भने आर्थिक अभावका कारण सञ्चालनमा आउन नसकेको हो।
निर्माणाधीन अस्पतालको काम पूरा गर्न भनेर अहिलेसम्म दुई समिति बनिसकेका छन्। कृष्णनगरका समाजसेवी रुद्रप्रताप शाह निर्माणाधीन अस्पतालको २७ वर्ष अध्यक्ष भए।
पञ्चायतको समयमा माननीयसमेत भएका शाहले अध्यक्ष बन्नुसिवाय केही नगरेको बजारवासीको आरोप छ। उनको कार्यकाल सकिएपछि हाल अस्पतालको अध्यक्ष कृष्णनगर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष विजय कानोडिया छन्। उनको कार्यकाल पनि २०औँ वर्षमा लागेको छ।
तर, कुन पुस्ताको पालामा अस्पताल बन्ने हो बजारवासीलाई थाहा छैन। अस्पताल सञ्चालनको जिम्मेवारी लिएका ठूलाबडा नेताले एकलौटी सम्पत्ति बनाउन खोजेका कारण अहिलेसम्म अस्पताल बन्न नसकेको कृष्णनगर नगर विकास समितिका अध्यक्ष कृष्णकुमार गुप्ताको आरोप छ। ‘कुन पुस्ताले अस्पताल बनेको देख्न पाउने हो थाहा छैन', उनले भने।
अस्पतालको संरक्षकमा प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी र प्रहरी उपरीक्षक छन्। तर, उनीहरू सबै बेवारिसे अस्पतालका संरक्षक हुन्।
झन्डै एक करोड रुपैयाँ लागत खर्च भइसकेको अस्पताल भवनमा हाल कृष्णनगर नगरपालिका र इलाका प्रहरी कार्यालय कृष्णनगरको कार्यालय सञ्चालनमा छन्। अस्पताल बन्ला र स्वास्थ्योपचार पाइएला भन्ने आशा राख्ने सर्वसाधारण अस्पतालमा नगरपालिका र प्रहरी कार्यालय बसेको देख्दा निरास छन्। अस्पतालमा नगरपालिका र प्रहरी कार्यालय बिरामी बनेर आएको कृष्णनगरका विजय गुप्ताले व्यंग्य गरे। सामान्य उपचारका लागि पनि आफूहरू भारतका विभिन्न ठाउँ चहार्नुपर्ने बाध्यतामा रहेको उनले बताए।
तत्कालीन समयमा कृष्णनगरका उद्योगी, व्यवसायीले जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा अस्पताल सञ्चालनका लागि दर्ता गराएका थिए। बजारवासीको पहलमा सरकारी स्वामित्वमा आधारित अस्पताल दर्ता प्रक्रिया अगाडि बढाएका हुन्। अस्पताल निर्माणका लागि नौ सदस्यीय समिति बनाउने विधानमा उल्लेख छ। साथै, अस्पतालको संरक्षकमा प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी र प्रहरी उपरीक्षक रहने प्रावधान छ। तर, उनीहरू सबै बेवारिसे अस्पतालका संरक्षक हुन्।
पहिलेपहिले अस्पताल सञ्चालन गर्न सरकारलाई पटक-पटक आग्रह गर्दा पनि नसुनेका कारण अहिले चुप लागेर बस्न बाध्य भएको अस्पतालका अध्यक्ष विजय कनोडिया बताउँछन्। करोडौं रुपैयाँबराबरको सम्पत्ति रहेको अस्पतालको संरक्षण गर्ने दायित्व सरकारको भएको हुँदा सरकारीले अस्पताल बनाउने जिम्मा आफूले लिएको खण्डमा तत्काल छाड्ने उनको दाबी छ।
झन्डै ३३ कठ्ठा क्षेत्रफलमा अवस्थित अस्पताल निर्माणमा तत्कालीन कृष्णनगर गाविस र हालको कृष्णनगर नगरपालिकाले कुनै सहयोग नगरेको अस्पताल सञ्चालक समितिका सदस्यको दाबी छ। थोरै बजेटले केही गर्न नसकिने हुँदा बजेट पार्न नसकिएको कृष्णनगर नगरपालिकाले जानकारी दिएको छ।
सानोतिनो रकमले अस्पताल बन्ने छाँट नदेखिएका कारण बजेट नछुट्याएको नगरपालिकाका मेयर रजतप्रताप शाहको भनाइ छ। ‘कृष्णनगरवासीका लागि सुविधासम्पन्न अस्पतालको खाँचो छ', उनले भने, ‘कहाँ कुन ठाउँमा अस्पताल बन्छ, त्यसबारे अनुसन्धान गर्दै छौँ।'