ईपीएल क्रिकेट : विराटनगर वारियर्सले काठमाडौं किंग्स ११ लाई हरायो
काठमाडौं : एभरेष्ट प्रिमियर लिग अन्तरगत सोमबारको खेलमा विराटनगर वारियर्स विजयी भएको छ । काडमाठौं किंग्स ११ लाई ८ रनले हराउँदै विराटनगर लिग चरणको खेलमा अपराजित रहँन सफल भएको हो । पाँचमा पाचै खेल जितेको विराटनगर १० अंकसहित शीर्ष स्थानमा रहँदै प्लेअफमा पुगेको हो ।
जित्नै पर्ने दवावमा खेलेको काठमाडौंले भने हारसँगै प्लेअफमा पुग्ने सम्भावना गुमाएको छ । काडमाडौंले टस जितेर व्याटिङको निम्ता दिएपछि व्याटिङमा उत्रिएको विराटनगरले २० ओभरमा ७ विकेट गुमाएर १४७ रन बनायो । बाबर हयातले ६७ अन्सुमान राथले ३२ र पारस खड्काले २६ रन बनाए ।
१४८ रनको लक्ष्य पछ्याएको काठमाडौं किंग्स ११ ले २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनाउन सक्यो । काठमाडौंका लागि कप्तान महारुफले सर्वाधिक ४२ रन बनाए भने नरेश बुढाऐरले ३० रन बनाए ।
विराटनगरका लागि अन्सुमान राथले ३ विकेट लिए भने वसन्त रेग्मी र रामनरेश गिरीले २–२ विकेट लिए ।
निकै राम्रो सुरुवात गरेको काठमाडौेंको १५ ओभरपछि निरन्तर विकेट पतन हुँदा हार व्यहोर्न बाध्य भयो । काठमाडौंले जितका लागि अन्तिम ओभरसम्म निकै संघर्ष गरेको थियो । अन्तिम ओभरका १७ रना चाहिएकोमा पहिलो बलमै सागर कुमार आउट भए । सिद्धान्त लोहनीले तेस्रो बलमा छक्का प्रहार गरी जितको आशा जगाए पनि लगतै आउट भएपछि काडमाडौंको जितको सम्भावना सकिएको थियो । अन्तिम समयमा आक्रामक व्याटिङ गरेका सिद्धान्तले २ छक्कासहित ९ बलमा १५ रन बनाए ।