श्रम–संवाद : ‘गरिबको कमाइ नसोध्नू , धनीको खर्च नसोध्नू’
के–के काम गर्नुहुन्छ, दाइ ?
बाटो खन्ने, ब्लक बनाउने र इँटा ओसार्ने, यस्तै–यस्तै त हो।
ललितपुरमा मजदुरी गर्न थालेको कति वर्ष भयो ?
भयो पाँच–छ वर्ष। जिउने मेलो नि !
कति समय खटिनुहुन्छ ?
बिहान ९ बजे डेराबाट निस्किन्छु। फर्किंदा बेलुकाको ६/७ बज्छ। सरकारी जागिर भए पो दश–पाँच गर्न पाइन्थ्यो।
बसाइ कतातिर छ नि ?
घर त काभ्रे हो। यता पाटनमा बस्छु।
कोठाभाडा कति तिर्नुपर्छ ?
एउटा कोठा छ। त्यसकै चार हजार तिर्नुपर्छ। के गर्नु, महँगीले शहरमा बस्न कठिनै भइसक्यो।
कोठामा एक्लै हो ?
एक्लै त हो नि। परिवारलाई ल्याएर यो शहरमा कहाँ पाल्न सकिन्छ र ? उनीहरू उतै काभ्रेमै बस्छन्।
सडकमा यसरी खटेर काम गर्नुहुन्छ। कमाइ त राम्रै छ नि ?
गरिबको कमाइ नसोध्नू, धनीको खर्च नसोध्नू ! कति हुन्छ र ? महिनाको त्यस्तै १५÷१६ हजार हुन्छ होला।
उमेर कति भयो ?
यसपालि ठ्याक्कै ५० लागेँ।
यो काममा कसरी आउनुभयो ?
मेरो भाञ्जा पनि यही काम गर्छन्। उनले भनेरै यता ललितपुरमा काम गर्न थालेको हुँ। गरिब–दुःखीले गतिलो काम पाउने होइन। जे पाइयो, त्यही गर्नुपर् यो।
इँटा/ढु्ंगा बोक्नुपर्दाे रहेछ। गाह्रो हुन्छ होला नि ?
इँटाभन्दा ब्लकको काम गर्दा साह्रै दुःख हुन्छ। ६० किलोसम्मको ब्लक उचाल्दै राख्दै गर्नुपर्छ। ठूलठूला सिमेन्टका बोरा बोक्नुपर्छ। हातखुुट्टा फुटाएर खत्तमै बनाउँछ नि।
पञ्जा लगाउने गर्नुस् न।
पञ्जा लगाउन झन्झट लाग्छ। कहिलेकाहीँ चाहिँ यसो लाउँछु।
कुन–कुन ठाउँमा बाटो बनाउने काम गर्नुहुन्छ ?
जुन ठाउँ पनि पर्न सक्छ। ठेकेदारले जता खटाउँछ, उतैतिर लाग्नुपर्छ।
ढुंगा केमा ओसार्नुहुन्छ ?
ठेलागाडामा ओसार्छु। आफूले बोक्न सक्नेजति मात्रै लोड गर्छु। ओसार्नुपर्ने कुनै ठाउँमा नजिक पर्छ, कुनै टाढा। कति ठाउँमा हातैले बोकेर ओसार्नुपर्छ।
ठेकेदारको व्यवहार कस्तो हुन्छ ?
आजसम्म त गाली खानुपरेको छैन। राम्रो काम गरेपछि गाली नै खानुपर्दैन नि। मैले गरेको काम चित्त बुझाएका छन्।
साँझतिर खूब ज्यान गल्छ होला नि ?
गल्छ नि। ज्यान गल्यो भनेर कहाँ सुख पाइन्छ र ? बाँच्नलाई खानुप¥यो। खानलाई पैसा चाहियो। पैसा कमाउन काम गर्नुप¥यो। महिना मर्न पाएको हुँदैन घरबाट पैसा माग्न थाल्छन्।
बानी नपर्दा निकै गाह्रो हुन्थ्यो होला, है ?
गाह्रोको त कुरै नगरम्। कहिलेकाहीँ त बिरामी परेर अस्पतालै भर्ना बस्नुपथ्र्यो।
चिसोले कत्तिको सताउँछ ?
बिहान–बेलुका काम गर्नै मुस्किल छ। हातखुट्टा ठिर्याएर कक्रक्क हुन्छ।
पहिले के काम गर्नुहुन्थ्यो ?
गाउँतिर खेती गर्थेँ। काम त त्यही आनन्दको थियो नि।
भनेपछि अब धेरै समय गरिन्न यो काम ?
जति गर्नु गरियो। अब त बूढो पनि भइयो। शरीरमा बल छउञ्जेल गर्ने त हो।
प्रस्तुतिः रचना श्रेष्ठ