सुदूरपश्चिम खप्तड गोल्डकपको तयारी सुरु
धनगढी : पुस २१ गतेदेखि माघ १ गतेसम्म धनगढीमा हुने दोस्रो अन्तराष्ट्रिय आमन्त्रण नेपाल आईस सुदूरपश्चिम खप्तड गोल्डकपको तयारी सुरु भएको छ। चौधरी गुप्रको नेपाल आईसले मुख्य प्रायोजन गरेपछि आयोजक सुदुरपश्चिम ११ स्पोर्टस क्लब प्रतियोगिताको तयारीमा जुटेको हो।
सुदुरपश्चिम ११ स्पोर्टस क्लबले सोमबार धनगढीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारीका बारेमा जानकारी दिएको हो। देशकै सर्वाधिक धनराशीको गोल्डकपलाई भव्य रुपमा आयोजना गर्न विभिन्न उप समितिहरु तीव्ररुपमा काम भइरहेको आयोजक सुदूरपश्चिम ११ स्पोर्टस क्लबका अध्यक्ष सुरेश हमालले जानकारी दिए।
विभिन्न उप समितीहरु वनाएर सवैले आफ्नो भागको काम गरिरहेका छन् हमालले भने– रंगशालाको मर्मतको काम पनि सुरु भइसकेको छ। अस्थायी प्याराफिटको लागि सम्झौता पनि गरिसकेका छौं। आयोजक क्लबका अध्यक्ष हमालले खेलकुदको विकासमा सहकार्य गरी सुदूरपश्चिमलाई खेलकुद पर्यटनको रुपमा स्थापित गरौं भन्ने मुल नाराका साथ प्रतियोगिता आयोजना गर्न लागिएको बताए।
प्रतियोगिताको माध्यमले सुदूरपश्चिमको समग्र विकास विकास र खेल पर्यटनको विकास गर्नका अघिल्लो वर्षदेखि थालिएको प्रतियोगितालाई भव्य रुपमा सम्पन्न गराउनका लागि लागिरहेको प्रतियोगिताका संयोजक धुव्र भट्टराईले जानकारी दिए। धनगढी रंगशालामा पहिलो पटक प्रदेश नम्बर ७ मा अस्थायी प्याराफिट बनाएर दर्शकलाई खेल हेर्ने व्यवस्था मिलाउन पनि आयोजक टोली सक्रिय भएको उनले बताए।
रंगशालामा तीनवटा प्याराफिट पक्की भएपनि दर्शक बढन सक्ने भन्दै आयोजकले अस्थायी प्याराफिट पनि बनाउन लागेको हो। आयोजक सुदूरपश्चिम ११ स्पोर्टस क्लब र सिजी गु्रपको नेपाल आइसबीच मुख्य प्रायोजनमा केही दिनअघि मात्रै सम्झौता भएको थियो। अब प्रतियोगिताको नाम दोस्रो अन्तराष्ट्रिय आमन्त्रण नेपाल आईस सुदूरपश्चिम खप्तड गोल्डकप २०७४ रहनेछ।
प्रतियोगितालाई नेपाल टेलीकमले सह प्रयोजन गरेको छ। अन्य प्रायोजकको पनि खोजी भइरहेको आयोजकले पत्रकार सम्मेलनमा जानकारी दिए।झन्डै एक करोड १० लाख खर्च हुने गोल्डकपमा देशका विभिन्न र विदेशका समेत गरी १२ वटा टीमको सहभागीता रहनेछ। ए डिभिजनका क्लब, तीनवटै विभागीय टीम र भुटानको एउटा विदेशी क्लबसहित आयोजकको टीमले प्रतियोगितामा भाग लिनेछन्।
नकआउटका आधारमा हुने प्रतियोगितामा रुस्लान थ्री स्टार क्लव, साविक विजेता लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब, त्रिभुवन आर्मी क्लव, नेपाल एपिएफ क्लब, सिएमजी क्लव संकटा, च्यासल युथ क्लब, रमपम झापा ११, सहारा क्लब, अग्नि रुपन्देही ११, धरान फुटबल क्लब र आयोजक सुदूरपश्चिम ११ का टीम सहभागी हुनेछन्।
त्यस्तै भुटानको डुक स्टारले पनि प्रतियोगितामा भाग लिनेछ। थ्री स्टारले एक वर्षपछि घरेलु फुटबलमा यही प्रतियोगितामार्फत फर्कन लागेको सुदूरपश्चिम ११ स्पोर्टस क्लबका महासचिव प्रकाश शाहीले बताए। प्रतियोगिताको विजेताले उपाधिसहित ११ लाख ११ हजार १ सय ११ रुपैयाँ तथा दोस्रो हुने टोलीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछ। गत वर्ष विजेताले ५ लाख रुपैयाँ प्राप्त गरेका थिए।
यसपालीको रकम देशकै सर्वाधिक धनराशीको गोल्डकप प्रतियोगिता बनेको क्लबका उपाध्यक्ष योगैन्द्र चन्दले बताए। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पाउनेछन्। त्यस्तै उत्कृष्ट गोलकिपर, रक्षक, मिडफिल्ड, फरवार्ड, उदयमान खेलाडी, सर्वाधिक गोलकर्ता र फेयर प्ले टोलीले १५/१५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। त्यस्तै हरेक खेलेको म्यान अफ दी म्याचले १० हजार रुपैयाँ प्राप्त गर्ने आयोजक सुदुरपश्चिम ११ स्पोर्टस क्लबका मिडिया संयोजक ओम चन्दले जानकारी दिए।