वाम एकता भाँड्न विदेशी चलखेल ? बसेन संयोजन समिति बैठक

वाम एकता भाँड्न विदेशी चलखेल ? बसेन संयोजन समिति बैठक

काठमाडौं: नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता नहुन नदिन विदेशी चलखेल सुरु भएको छ । एमाले र फोरम तथा एमाले इतर सरकारको जोड घटाउनको चर्चा चल्नुको पछाडि विदेशी चलखेल देखिएको पुष्टि वाम नेताहरुले नै गरेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवनबाट काठमाडौं नआउनुले थप शंका बढेको छ । मिति तय गरिएको एमाले–माओवादीको एकता संयोजन समितिको बैठक दुई पटक स्थगित भइसकेको छ ।

यस्तो छ सत्ताको अंकगणित

प्रतिनिधि सभाको २६५ सिटमध्ये एमालेले प्रत्यक्ष र समानुपातिकसहित १२१ सिट जितेको छ । यस्तोमा फोरमको १६ सीट हुँदा बहुमत हुन्छ । उता कांग्रेसको ६३, माओवादीको ५३, राजपाको १७ र फोरमको १६ मिलाउँदा स्पष्ट बहुमत हुन्छ ।

प्रचण्ड किन फर्केनन् राजधानी ?

एमाले र फोरमका नेताहरुबीच सरकार गठनबारे छलफल भइरहेको कुरा बाहिर आएको छ । कांग्रेस र मधेसवादी दलले माओवादी अध्यक्ष दाहाललाई प्रधानमन्त्रीको लागि पटक पटक प्रस्ताव गरिसकेका छन् । यस्तो अवस्थामा एकता संयोजन समितिको बैठक बस्न नसक्नुले झै शंकालाई मलजल गरेको छ ।

एमाले र माओवादीको एकता हुन नदिन दुवै विकल्पमा विदेशी शक्तिले चलखेल गरिरहेको वामकै नेताहरु बताउँछन् । एमाले अध्यक्ष केपी शर्मा ओली चीन सिमानजिक केरुङ पुगेर एउटा सन्देश दिएका थिए । अर्कातिर माओवादी अध्यक्ष प्रचण्ड भारतको सिमा नजिक ठोरी पुगेर अर्को सन्देश दिए ।

प्रचण्ड ठोरी र चितवनतिर घुमिरहेपछि मंगलबार बस्ने भनिएको एकता संयोजन समितिको बैठक बस्नै सकेन । समितिको बैठक पटक पटक स्थगित भएको छ, त्यो पनि प्रचण्ड काठमाडौँ नआउनाले । चितवनबाट दाहाल नआउनु पर्ने कुनै कारण पनि रहेको माओवादीकै नेताहरुको भनाई छ ।

चलखेलमा दुईमत छैन

नेकपा एमालेका नेता सुरेन्द्र पाण्डे पनि नयाँ सरकार गठनमा अवरोध गर्न विदेशीले चलखेल गरेको कुरा स्वीकार्छन् । ‘विदेशी शक्तिले विगतमा पनि यस्तो गर्दै आएका हुन् । यो निश्चित नै हो’, उनले भने, ‘विदेशी चलखेलमा कुनै दुई मत नै छैन । हामीले नै यो कुरामा सतर्कत अपनाएर अघि बढ्नुपर्छ ।’

नेता पाण्डेले प्रचण्ड काठमाडौँ आउन नसकेकै कारण संयोजन समितिको बैठक बस्न नसकेको पनि उल्लेख गरे । संयोजन समितिले गृहकार्य गर्न नसकेकै कारण पनि बैठक नकसेको हुन सक्ने उनको आँकलन थियो ।

सरकार गठनमा भएको ढिलाइमा निर्वाचन आयोग पनि जिम्मेवार रहेको पाण्डेको भनाइ थियो । ‘जतिसक्दो चाँडो निर्वाचन आयोगले परिणाम दिन्छ, त्यति चाँडो सरकार गठन हुन्छ’ पाण्डेले भने, ‘आयोगले पहिले प्रतिनिधिसभा र प्रदेश सभाको नतिजा चाँडो निक्र्योल गर्नुपर्छ अनि सरकार गठन हुन्छ ।’

उनले राष्ट्रिय सभा गठनका लागि झिकिएको एकल संक्रमणीय र बहुमतीयको विवाद टुंगिने पनि बताए । ‘एकल संक्रमणीय र बहुमतीयमा अल्झिनु जरुरी छैन’, उनले भने, ‘एक पटकका लागि जुन प्रणाली अपनाए पनि फरक पर्दैन ।’

एकता भाँड्न ‘इन्टरनेशनल फोर्स’

माओवादी नेता मणि थापाले विदेशी शक्तिले एमाले–माओवादी एकता भाड्न खोजिरहेको खुलासा गरेका छन् । ‘इन्टरनेशनल फोर्सले एकता प्रयास भाँड्न शक्ति लगाइरहेका छन् र यस्तो गर्छन पनि’, थापाले भनेका छन् ।

नेता थापाले संयोजन समितिको बैठक सर्दै जानुका पछाडि कुनै भित्री कारण हुनसक्ने कुरालाई नकार्न नसिकने बताए । उनले नेताहरु विदेशी शक्तिबाट प्रभावित हुन नहुनेमा पनि जोड दिएका छन् ।

थापाले प्रचण्ड राजधानी नआएका कारण एकता संयोजन समितिको बैठक बस्न नसकेको प्रष्ट पारे । ‘उहाँ (प्रचण्ड) आउन नसकेका कारण बैठक बस्न नसकेको जस्तो मलाई लाग्छ’, थापाले भने, ‘बैठकलाई लत्याउनु पर्ने कारण केही भएजस्तो मलाई लाग्दैन, नयाँ ‘लजिक’ पनि केही छैनन् ।’

थापाले प्राविधिक कारणले बैठक बस्ने नसकेको भए पनि यसबारे दुई दलबीच छलफलको जरुरी रहेको बताए । ‘प्रचण्ड राजधानी आउनु भएपछि बैठक बस्छ नै’, उनले भने ।

थापाले नेताहरु जनमत विपरित जान नसक्नेमा आफू विश्वस्त रहेको बताए । उनले दुई वाम पार्टीबीच एकता भएरै छाड्ने जिकिर गर्दै सरकार पनि एमाले र माओवादीकै बन्ने उल्लेख गरे ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.