भेटेनन् ओली-दाहाल, खटपटको आशंका

भेटेनन् ओली-दाहाल,  खटपटको आशंका

 

काठमाडौं : वाम गठबन्धनका दुई शीर्ष नेता एक:अर्काको भूमिकाप्रति आशंका गर्न थालेका छन् । एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच केही दिनयता प्रत्यक्ष भेटघाटसहितको संवाद हुन नसक्दा आशंका र अविश्वास जन्मिएका छन्।

गठबन्धन निर्माणकै बेला प्रस्ट चित्र नआइसकेकाले पार्टी एकतापछिको नेतृत्व व्यवस्थापनमा विभिन्न अड्कलवाजी हुँदै आएका थिए । सरकारको नेतृत्व, पार्टी नेतृत्व, आलोपालो सरकारलगायत चर्चा चलेका थिए । दुवै नेताले आफूहरूका लागि व्यक्तिगत पद÷प्रतिष्ठा पार्टी एकताभन्दा ठूलो हुन नसक्ने बताउँदै आइरहेका थिए । २९ मंसिरमा बबरमहलको एक निजी निवासमा भएको छलफलबाहेक पार्टी एकताका विषयमा दुई पार्टीका शीर्ष नेताबीच प्रत्यक्ष संवाद हुन नसकेपछि अविश्वास चुलिएको छ ।

नेताबीच संवाद हुन नसक्नुमा केही अप्ठ्यारा र आशंका आइपरेको दुवै पार्टीका नेता स्विकार्छन् । तर, त्यस्तो आशंकाका विषयमा भने मुख खोल्न चाहँदैनन् । ‘केही समस्या र अप्ठ्यारा आइपरेका छन् तर त्यो वार्ताका क्रममा हटेर जान्छन्’, माओवादी केन्द्रका सचिवालय सदस्य चक्रपाणि खनालले अन्नपूर्णसँग भने । ५ दिनयता चितवनमा रहेका माओवादी अध्यक्ष दाहाल मंगलबार काठमाडौं आएसँगै दुई नेताबीच ‘वान टु वान’ छलफल हुने बताइए पनि छलफल हुन सकेन । न त नेताहरूले छलफलको मिति र समय नै निर्धारण गरिसकेका छन् । जसले गर्दा पनि एमाले:माओवादी बीचको पार्टी एकतामा खटपट सुरु हुन थालेको हो कि भन्ने आशंकालाई बल पुगेको छ । तर, दाहालको निजी सचिवालयले दुई पार्टीबीचको एकतामा शंका गर्ने कुनै ठाउँ नरहेका कारण तरंगित भइरहनु नपर्ने प्रतिक्रिया दिएको छ ।

दुई पार्टीका शीर्ष नेताको अभिव्यक्ति, दोस्रो तहका नेताहरूको पार्टी एकताका लागि दबाब बढाउन भइरहेको दौडधुप र गृहकार्य हेर्दा एमाले:माओवादीका अध्यक्षबीच अहिले केही आशंकाले घर गरेको छ । त्यसैको प्रत्युत्तर जवाफमा दाहाल गृहजिल्ला चितवन पुगेर ५ दिन बसिदिने, आलोपालो सरकारको नेतृत्वमा सहमति भएको खुलासा गर्नेदेखि एमालेले माओवादीभन्दा पहिले उपेन्द्रसँग सरकार गठनका लागि छलफल गरेको जस्ता ओलीलाई सशंकित बनाउने अभिव्यक्ति दिएका थिए ।

यता, ओलीले दाहालले आलोपालो सरकारको नेतृत्वमा दिएको अभिव्यक्तिदेखि आफ्नै पार्टी नेता माधव नेपाल पक्षसँग दाहालले बढाएको बाक्लो हिमचिममा आफ्नो असन्तुष्टि रहेको एक कार्यक्रममा पोखेपछि दुवै पक्ष एक:अर्कासँग सशंकित हुन थालेका छन् । ‘नाङ्लो ठटाएर हात्ती तर्साउने भनेजस्तो अहिले ओली:प्रचण्ड एकअर्काेका सामान्य अभिव्यक्ति र गतिविधिलाई आशंका गर्ने र तरंगित हुने गर्न थाल्नुभएको छ’, माओवादीका एक नेताले भने, ‘पार्टी एकताबाट कोही पनि पछाडि हट्न सक्ने अवस्था छैन तर केही आशंका जन्माइदिएको छ, यो हटाउने प्रयास जारी छ ।’ दाहाल संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवलाई ओलीले निर्वाचन आयोगले समानुपातिक तर्फको पूर्ण परिणाम नै सार्वजनिक नहुँदै दिएको महत्व देखेर झस्किएका छन् ।

कतै ओलीले फोरमलाई साथमा लिएर आफूहरू बिनाकै सत्तारोहणको तयारी गर्दै त छैनन् भन्ने आशंका दाहालले गरेका छन् । उपेन्द्रसँग ओलीले भेट गरेको विषयमा माओवादीले एमालेसँग बुझ्दा भेटै नभएको प्रतिक्रिया दिएपछि माओवादी थप झस्किएको थियो । माओवादी नेता चक्रपाणि खनालका अनुसार उपेन्द्रसँगको ओलीको भेट पनि गठबन्धनभित्र देखा परेको एउटा गाँठो हो । ‘उपेन्द्र्रसँगको भेटलाई नै एमाले पक्षबाट गुपचुप राख्न खोजियो तर उपेन्द्रले भेट भएको कुरा स्विकारे, यसबाट पनि केही आशंका जन्मियो, निर्वाचन रिजल्टको सुरुमै माओवादी अब आफूहरूसँगको गठबन्धनमा आए पनि:नआए पनि केही हुन्न भनेजसरी जान खोजियो, गाँठो त्यहीँ पर्‍यो’, खनालले अन्नपूर्णसँग भने ।

ओलीलाई पनि दाहालले चितवनमा पुगेर आलोपालो सरकारको नेतृत्व गर्ने अभिव्यक्ति दिएपछि चिढ्याउने काम गर्‍यो । त्यसमाथि आफूसँग भन्दा पछिल्ला दिनमा दाहालको पार्टीभित्रकै नेता माधव नेपालसँगको भेटघाट र संवादले ओलीलाई दाहालप्रति सशंंकित बनाएको ओलीनिकट स्रोतले बतायो । त्यसो त ओलीले सोमबार साँझ अन्नपूर्ण होटलमा निजी तथा उच्च माध्यमिक विद्यालयको संगठन हिसानका पदाधिकारीसँगको रात्रिभोजमा त्यसप्रतिको असन्तुष्टि खुलेरै राखेका थिए ।

ओलीले आलोपालो सरकारको नेतृत्वका विषयमा दाहालले अहिले अभिव्यक्ति दिएर सही नगरेको धारणा व्यक्त गरेका थिए । ‘प्रचण्डजीले सरकारको आलोपालोको विषय चितवनमा गएर बोलिदिनुभयो, यसले जनताको स्थिर सरकारको अपेक्षामा चोट लाग्ने गरी नराम्रो सन्देश गयो, पार्टी नै एउटै भएपछि को प्रधानमन्त्री के भन्ने कुरा ठूलो होइन’, ओलीले रात्रिभोजमा व्यक्त भनाइ उद्धृत गर्दै हिसानका एक पदाधिकारीले भने, ‘त्यस्तै भूमिकै नभएका व्यक्तिले अहिले पार्टी एकताको पहल गरेको अभिव्यक्ति दिने गरी जान थाल्नुभयो, यो पनि ठीक भएन, अहिले नै आफ्नो भूमिका खोज्ने काम गर्नुभएन ।’

ओली:दाहालबीच अविश्वास जन्मँदै गर्दा दुई पार्टीबीच एकताका लागि निर्माण भएको एकता संयोजन समितिको बैठक १५ कात्तिकयता बसेको छैन । समितिको बैठक बस्ने भनिए पनि प्राविधिक कारणले सर्दै आएका छन् ।

१७ असोजमा चुनावी गठबन्धन र पार्टी एकताको सैद्धान्तिक सहमति पूर्व नै दुवै अध्यक्ष कार्यकारी भूमिकामा रहने समझदारी बनेको नेताहरूको भनाइ छ । सरकारको नेतृत्व ओलीले गरे महाधिवेशन अगाडिसम्म पार्टी नेतृत्व दाहालले गर्ने समझदारी बनेको भए पनि त्यसैमा अहिले कुरा मिल्न नसकेका कारण पनि अविश्वास जन्मिएको नेताहरू बताउँछन् ।नेताबीच देखिएको अविश्वासका कारण पार्टी एकताको वातावरण भत्कन नदिन एमाले:माओवादीका युवा पुस्ताका नेताहरूले वातावरण निर्माणमा भूमिका खेल्न थालेका छन् ।

माओवादी नेता कृष्णबहादुर महरा, जनार्दन शर्मा, देवेन्द्र पौडेल, एमालेका युवा नेता ठाकुर गैरे, रामकुमारी झाक्रीलगायत नेताले भने आन्तरिक र सामूहिक पहलकदमी लिन थालेका छन् । उनीहरूले मंगलबार पनि सामूहिक र आन्तरिक रूपमा भेटघाट र छलफल गरेका थिए । महरा निवासमा माओवादी नेताहरूले आन्तरिक छलफल गरेपछि एमाले नेता ठाकुर गैरेसँग देवेन्द्र पौडेलले भेट गरेका थिए ।

‘दुई पार्टी एकता हुन्छ कि हँुदैन, चुनाव जितेर आएका नेताबीच हप्तौंसम्म भेटघाट छैन, यस्तो अवस्था त्यसै आएको होइन’, एमाले नेता ठाकुर गैरेले अन्नपूर्णसँग भने, ‘यस्तो अवस्था देखिन थालेपछि हामी युवा साथीहरू मिलेर एकताका लागि नेतृत्वलाई दबाब बढाउन र एकतालाई सहयोग पुर्‍याउन सकिन्छ कि भनेर कोसिस गरिरहेका छौं ।’

उनीहरूले बुधबार दुवै पार्टीका युवा नेताबीच छलफल कार्यक्रम राखेर दुवै पार्टी अध्यक्षलाई दबाब बढाउने योजना बनाएका छन् ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.