‘इटहरीलाई राजधानी बनाउन लाग्छु'
आफ्नो जितलाई तपाईंले कसरी लिनुभएको छ ?
०७० सालको संविधानसभा निर्वाचनमा निर्वाचित भई संविधान निर्माण र आफ्नो क्षेत्रको विकासमा योगदान पुर्याएका कारण जनताले दोस्रो पटक जिताएका हुन् । जनमतको कदर गर्दै यस क्षेत्रको विकासमा म अझै लाग्नेछु । राज्यमन्त्री हुँदा मैले यस क्षेत्रको विकासमा बजेट विनियोजन गरेपछि विकास निर्माणले गति लिएका कारण जनताको रोजाइमा परेको हुँ ।
अब तपाईंको प्राथमिकतामा के छ ?
म मतदाताकै सुझावलाई कार्यान्वयनमा लैजाँदै यस क्षेत्रको विकास निर्माणमा लाग्छु । इनरुवा-देवानगन्ज, रामधुनी-इटहरी मोटरबाटो कालोपत्रे, सिँचाइ सुविधा विस्तारका साथै हुलाकी राजमार्गको काम द्रुत गतिमा अगाडि बढाउन पहल गर्नेछु । सुनसरी बाँध सिँचाइ योजना २०१५ सालमा यसै क्षेत्रबाट निर्वाचित बीपी कोइरालाले बनाउनुभएको थियो । यसको पुनर्निर्माण गरी इनरुवा दक्षिणका क्षेत्रमा सिँचाइ सुविधा पुर्याउन बजेट माग गरी विकास निर्माणलाई अगाडि बढाउनेछु ।
मतदातालाई कसरी रिझाउनुभयो ?
म चुनाव जितेपछि काठमाडौं गएर हराउने मान्छे होइन । हरेक महिना जनतासँगै हुन्छु । सर्वप्रथम इटहरीलाई प्रदेश १ राजधानी बनाउन दबाबमूलक काम गर्नेछु । इटहरी, रामधुनीलाई पर्यटकीय स्थलका रूपमा विकास गर्ने, भारतीय सीमा जोडिएका गाउँमा मोटरबाटो निर्माण गरी त्यहाँको कृषिउपजलाई बजारसम्म ल्याउन सहज बनाउन मेरो भूमिका हुनेछ । प्रस्तुति : रत्नप्रसाद आचार्य