म्यादी प्रहरीको ज्यालामा अनियमितता नभएको पुष्टी

म्यादी प्रहरीको ज्यालामा अनियमितता नभएको पुष्टी

सुर्खेत/ कालिकोट : कालिकोटमा म्यादी प्रहरीको ज्यालामा कुनै पनि अनियमितता नभएको पुष्टी भएको छ। आफूले पाउनुपर्ने ज्यालामा अनियमितता भएको भन्दै म्यादी प्रहरीले आन्दोलन गरेका थिए। एक जना म्यादीको ज्यानै जानेगरी भएको उक्त घटनापछि छानबिनका लागि गठित टोलीले म्यादीको ज्यालामा प्रहरीबाट कुनै अनियमितता नभएको प्रतिवेदन सार्वजनिक गरेको हो।

म्यादीले आन्दोलन चर्काएपछि सरकारले सत्यतथ्य पत्ता लगाउन गृह मन्त्रालयका सहसचिव मानबहादुर विश्वकर्माको नेतृत्वमा उच्चस्तरीय छानविन टोली कालिकोट पठाएको छ। सोही टोलीले म्यादी प्रहरीको तलव र भत्तामा भएको भनिएको अनियमिताबारे छानविन गर्न कोष तथा लेखा नियन्त्रण कार्यालय कालिकोटका प्रमुख जयकुमार कटुवालको नेतृत्वमा छानविन टोली खटाएको थियो। यो टोलीमा राष्ट्रिय बाणिज्य बैंक कालिकोटका प्रमुख र म्यादी प्रहरीका अगुवा पनि सहभागी थिए। सोमबारदेखि प्रहरीमाथि छानबिन गरेको यो टोलीले म्यादीले पाउनुपर्ने ज्यालामा अनियमितता नभएको प्रतिवेदन सार्वजनिक गरेको हो।

रकम अनियमिताबारे छानविन गर्न गठित टोलीका संयोजक कटुवालले भने,‘हामीले प्रहरीमाथि छानविन गर्‍यौं, बैंकमासमेत म्यादीको खाता अध्ययन गर्‍यौं। प्रहरीबाट पाँच पैसा पनि हिनामिना भएको देखिएन, सबै म्यादीको खातामा सरकारले तोकेको रकम जम्मा भएको पाइयो।' जिल्लामा भर्ना भएका सबै ९ सय ७१ जना म्यादी प्रहरीको बैंक खातामा नै सरकारले तोकेको तलव र भत्ता वापत पाउनुपर्ने ५८ हजार चार सय ४५ रुपैयाँ ६० पैसा नै जम्मा भएको पाइएको उनले जानकारी दिए। छानबिनका क्रममा म्यादीको ज्यालामा कुनै हिनामिना नभएको पाइएको र त्यही प्रतिवेदन आफूहरुले सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिलाई मंगलबार नै बुझाएको कटुवालको भनाइ छ।

‘म्यादीका अगुवा पनि छानविन समितिमा थिए, उनले पनि आफ्नो ज्यालामा अनियमिता नभएको तत्य स्वीकार गरेका छन्' मध्यपश्चिमका क्षेत्रीय प्रशासक सुरेश प्रधानले भने,‘छानबिन प्रतिवेदनले नै पुष्टी गरिसक्यो, म्यादीले पनि हिनामिना नभएको स्वीकार गरेकाले अब यो विषय टुंगियो।'

यो प्रतिवेदनसँगै म्यादी प्रहरीको ज्यालामा भएको भनिएको अनियमितताको विषय टुंगिएको छ। तर स्थानीयले सुरक्षा अवस्था काबुमा रहँदै प्रहरीले हतारमा अन्धाधुन्ध गोली चलाएर म्यादी विवेक ऐडीको हत्या गरेकाले गोलीकाण्डबारे पनि सत्यतथ्य बाहिर आउनुपर्ने माग गरेका छन्। गोलीकाण्डबारे उच्चस्तरीय छानविन समितिले स्थलगत अनुगमन गरिरहेको छ।

गृह मन्त्रालयका सहसचिव मानबहादुर विश्वकर्माको संयोजकत्वमा नेपाल प्रहरीका डीआईजी रमेश खरेल, सशस्त्र प्रहरीका डीआईजी प्रविण श्रेष्ठ र राष्ट्रिय अनुसन्धान विभागका डीआईजी लक्ष्मण गुरुङ रहेको यो टोलीले बुधबार पनि छानबिन जारी राख्नेछ।

टोलीले सोमबार घटनाका प्रत्यक्षदर्शी, स्थानीय वासिन्दा र म्यादीसँग सोधपुछ गरेको छ। यस्तै म्यादीले प्रदर्शनको क्रममा तोडफोड गरेका प्रहरीका बिट, गोली लागेका स्थानीयका घर र मान्मका विभिन्न स्थानको पनि टोलीले अनुगमन गरेको छ। यसको प्रतिवेदन पनि चाँडै सार्वजनिक हुने भन्दै टोलीका संयोजक मानबहादुर विश्वकर्माले कुनै आशंका नगर्न आग्रह गरे। यो टोली बुधवार नै कालिकोटबाट फिर्ता हुने क्षेत्रीय प्रशासक प्रधानले जानकारी दिए। उनले अब पीडित पक्षका सबै माग पूरा भएको र कालिकोटको अवस्था पनि सामान्य बनेको बताए।

यसैबीच प्रहरीसँगको झडपमा मारिएका म्यादी प्रहरी विवेक ऐडीको शव आफन्तले बुझेका छन्। घटनाको पाँच दिनपछि आफन्तले मंगलबार बेलुकी शव बुझेका हुन्। शुक्रवार ज्यान गुमाएका ऐडीको शव जिल्ला प्रशासनमा राखिएको थियो। सुर्खेतबाट गएका चिकित्सकले पोस्टमार्टम गरेपछि आफन्तले शव बुझेका हुन्। यसअघि आफन्तले मृतकलाई सहिद घोषणा नगरेसम्म शव नबुझ्ने अडान लिएका थिए।

तर छानविन समितिले सहिद घोषणा गराउने सहमति गरेपछि शव बुझेर आफन्तले लिएका छन्। सोमबार मृतकका आफन्त, जिल्लाका राजनीतिक दल तथा उच्चस्तरीय छानबिन समितिबीच मृतकलाई सहिद घोषणाका लागि सिफारीस गर्ने सहमति भएको थियो। शव बुझ्दै मृतक दाई हर्क ऐडीले पोस्टमार्टमको रिपोर्ट आउन कम्तीमा पाँच दिन लाग्ने जानकारी अस्पतालले दिएको बताए। गत शुक्रवार आफ्नो ज्यालामा अनियमितता भएको भन्दै प्रदर्शन गरेपछि कालिकोटमा तनाव उत्पन्न भएको थियो।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.