सुरेन्द्र पाण्डे भन्छन्ः एकल संक्रमणीयमा अल्झिरहनु जरुरी छैन
प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनपछि प्रत्यक्षतर्फको परिणाम आइसकेको छ । प्रदेश सभातर्फको पार्टीहरुले पाउने. सिट सख्याको बाँडफाट समेत निर्वाचन आयोग गरिसकेको छ । सरकारले अनुमोदनका लागि पठाएको राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेश राष्ट्रपतिको कार्यालयमा थन्किरहेको छ ।
उता सरकारले अस्थायी राजधानी र प्रदेश प्रमुख समेत तोक्न सकेको छैन । निर्वाचनमा नराम्रोसँग पराजित भएपनि नेपाली कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा समेत दिएका छैनन् । वाम गठबन्धनले देउवालाई राजीनामा दिन दबाब दिइरहेका छन् । वाम एकतामा समेत उल्झन देखिन थालेका छन् । वाम एकताका लागि बनेको एकता संयोजन समितिको बैठक समेत निर्वाचनपछि बस्न सकेको छैन । वाम एकता र सरकार गठनमा ढिलाई लगायतका विषयमा एमाले स्थायी समिति सदस्य एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेसँग अन्नपूर्ण पोष्ट डटकमका लागि सुरेन्द्र काफ्लेले गरेको कुराकानी:
अहिलेको राजनीतिक गतिरोध के कारणले भइरहेको छ ?
अहिलेको राजनीतिको मुख्य गतिरोध भनेको नै निर्वाचन आयोगले निर्वाचन परिणाम दिन ढिलाई गर्नु हो । आयोगले जति छिटो नतिजा दिन्छ, त्यति नै चाँडो राजनीतिक गतिरोध अन्त्य हुन्छ ।
२. के निर्वाचन आयोगका कारणले राजनीतिक गतिरोध लम्बिन सक्ने सम्भावना देखिएको हो ?
हो, आयोगले अनावश्यक विवाद तेस्र्याउन खोजिरहेको छ । आयोग फटाफट रिजल्ड दिनु पर्ने बेलामा अनावश्यक कुरामा अल्झिएको छ । मैले पनि कुरा बुझेको छैन, आयोगले किन ढिलाई गरिरहेको छ ।
प्रतिनिधि सभा र राष्ट्रिय सभा गठनको प्रक्रिया फरक फरक छन् । आयोगले प्रतिनिधि सभाको कुरा पहिलो टुङ्ग्याउनु पर्छ । प्रतिनिधि सभा र प्रदेश सभाको नतिजा आयोगले छिटो दिनुपर्यो । आयोग राजनीतिमा अल्झिने होइन, उसको काम प्राविधिक हो, त्यही गर्नु प¥यो ।
३. निर्वाचन आयोगले राष्ट्रिय सभा गठन नहुँदासम्म समानुपातिकको नतिजा दिन नसकिने बताउदै आएको छ नि ?
मैले भनिसकेँ, आयोगको काम प्राविधिक मात्र हो, जस्तो रिजल्ट आउँछ त्यही दिने । आयोग किन अनावश्यक उल्झनमा परेको हो ? अरु कुरा झेल्ने काम हामी राजनीतिक पार्टी हो ।
४. संघीय संसद (प्रतिनिधि सभा र राष्ट्रिय सभा) मा एकतिहाइ महिलाको प्रतिनिधित्व भनेको होइन र ?
मैले भनिसकेँ प्रतिनिधि सभा र राष्ट्रिय सभाको पाटो नै फरक हो । प्रतिनिधि सभाको नतिजा पहिला टुङ्याएपछि धेरै समस्या समाधान हुन्छन् । अहिले आयोगले प्रतिनिधि सभा र प्रदेश सभामा एकतिहाई महिला सहितको नतिजा छिटो दिनु प¥यो । क्षेत्रीय पार्टीको लागि राष्ट्रिय सभाको कुरा जटिल छ । सबै प्रदेशमा उनीहरुको कसरी प्रतिनिधित्व हुन्छ ।
राष्ट्रिय सभा गठनको विषयमा भइरहेको विवादबारेमा तपाईको के धारणा छ ?
राष्ट्रिय सभा गठन विषयमा धेरै विवाद गर्नु जरुरी छैन । राष्ट्रिय सभाको समस्या राजनीतिक रुपमा समाधान गर्नु पर्छ ।
६ .एमाले बहुमतीय प्रणालीबाट ‘ब्याक’ भएर एकल संक्रमणीय प्रणालीमा लचिलो भएको को हो त ?
एकल संक्रमणीयमा अल्झनु जरुरी छैन । एकल संक्रमणीय एक पटकको लागि मात्र कार्यान्वयन हुनेछ । त्यसपछि कसैले चाहेर पनि एकल संक्रमणीय प्रणाली अबलम्ब गर्न सकिँदैन । अर्को दुई वर्षपछि बहुमतीयमा जानैपर्छ । प्रत्येक प्रदेशबाट राष्ट्रिय सभामा आउने ८ जनामध्ये एक जना दलित, एकजना अपाङ्गता भएका वा अल्पसख्यक चुनिने हुन् । बाँकी ३ जना महिला र ३ जना पुरुष हुने स्पष्ट व्यवस्था छ । एक पटकमा एक जना खाली हुन्छ, त्यसको लागि बहुमतीयमा जानै पर्छ । त्यसकारण एकल संक्रमणीयमा अल्झिनु हुँदैन ।
नयाँ सरकार कहिले बन्छ ?
समानुपातिकको नतिजा आउनेवित्तिकै सरकारको गठन प्रक्रिया शुरु हुन्छ । कसैले रोकेर निर्वाचन परिणाम आएपछि सरकार गठन प्रक्रिया रोकिँदैन । निर्वाचन आयोगले प्रतिनिधि सभाको समानुपातिको नतिजा छिटो दिनुपर्यो ।
८. पार्टी एकताको कुरा कहाँ पुग्यो ? किन एकता संयोजन समितिको बैठकमा अलमल भएका हो ?
एमाले र माओवादीको एकता हुने कुरामा कसैले शंका नगरे हुन्छ । घोषणपत्र नै एउटा लिएर गएका एमाले र माओवादी एकता नहुने कुरै छैन । संयोजन समितिको सदस्य म होइन, मलाई त्यसबारे खासै जनकारी छैन तर पनि प्रचण्ड चितवनबाट आउन ढिलो भएको र गृहकार्य समेत नभएको बस्न नसकेको हुन सक्छ । बैठक बस्नमा ढिलाई हुनुका पछाडि बाह्य कारण भए जस्तो मलाई लाग्दैन ।
पहिला पार्टी एकता कि सरकार गठन ?
स्थायी सरकार बनेपछि पार्टी एकता हुन्छ । एकताको लागि धेरै गृहकार्य गर्नुपर्छ । एउटै पार्टी भित्र कति समस्या हुन्छन् । दुई पार्टी मिलाउन कहाँ त्यति सजिलो हुन्छ । धेरै कसरत गर्नुपर्छ । पद बाँडफाँटको विषय त्यतिनै पेचिलो छ । जनमतले एकतालाई अनुमोदन गरिसकेकोले एकता हुने कुरामा भने शंका छैन, तर गृहकार्यको लागि समय लाग्छ नै ।
१०. एमाले र माओवादीको पार्टी भित्रको आन्तरिक एकता कमजोर भएकाले एकतामा समस्या भएको सुनिन्छ नि यसमा तपाईको के धारणा छ ?
निश्चिय नै , पार्टी भित्रको आन्तरिक एकता कमजोर हुँदै गएका छन् । पार्टी भित्रको एकता कमजोर भयो भने जसले खेल्न खोज्छ । एकता प्रभाव पार्न सक्छन् । पार्टीको आन्तरिक एकता बलियो बनाउनु पर्छ । तब कसैले कुनै प्रपञ्च गर्न सक्दैन । पार्टी भित्रको आन्तरिक एकतामा भएको कमजोरीको फाइदा उठाउने प्रयास नभएका होइनन तर त्यसलाई चिर्न सक्नु पर्छ ।
११. वाम एकतामा विदेशी चलखेल पनि भइरहेको भन्ने त ?
चलखेल हुने कुरा निश्चित छ । यसमा दुविधा गर्नु नै पदैन् । विदेशीले त आफु अनुकुलता नै खोज्छ, अनुकुलता नहुने अवस्था आएमा गतिरोध उत्पन्न गर्न खोज्छ नै । त्यसमा हामीले नै सतर्कता र सचेतता अप्नाउनु पर्छ ।