आशंका चिर्दै ओली-दाहाल : पार्टी एकताको मोडालिटीमा छलफल

आशंका चिर्दै ओली-दाहाल : पार्टी एकताको मोडालिटीमा छलफल

काठमाडौं : एमाले र माओवादी केन्द्रले पार्टी एकताको संगठनात्मक र वैचारिक राजनीतिक मोडालिडीको विषयमा छलफल सुरु गरेका छन्। दुवै पार्टीका अध्यक्ष तहमा संगठनात्मक मोडालिडी र दोस्रो तहका नेताबीच वैचारिक राजनीतिक छलफल गर्ने गरी एकताको गृहकार्य अगाडि बढेको हो। एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार ओलीनिवास बालकोटमा भएको भेटमा पनि पार्टीको मूल नेतृत्वको व्यवस्थापनसहित संगठनात्मक मोडालिटीको विषयमा छलफल भएको थियो। मोडालिटीको खाकाका विषयमा भने दुवै नेताले खुलाएका छैनन्। यो विषयमा एकता संयोजन समितिको बैठक बस्नुअगाडि बिहीबार नै ओली र दाहालबीच थप छलफल हुने स्रोतले बतायो।

दुवै पार्टीबीच पार्टी एकता, त्यसपछिको नेतृत्व व्यवस्थापन र सरकारको विषयमा भने मिश्रित खाकामा छलफल चलेको एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिए। ‘मिश्रित खाकामा छलफल भएको छ। प्रधानमन्त्री केपी ओली बन्नुहुन्छ। पार्टी नेतृत्वलगायत अरू विषयमा पनि कुराकानी भइरहेको छ', उनले अन्नपूर्णसँग भने।

उनका अनुसार दोस्रो तहका नेताबीच भने पार्टी एकताको सैद्धान्तिक राजनीतिक आधारमा केन्द्रित छलफल भइरहेको छ। नेता ज्ञवालीले भने, ‘पार्टी एकताका लागि दुई पार्टीबीचका वैचारिक आधारहरू के-के हुने, संगठनात्मक मोडालिटी के हुन सक्छ भन्नेमा दोस्रो तहमा कुराकानी भइरहेको छ।'

पार्टी एकताको सैद्धान्तिक सहमति गरेका र निर्वाचनमा तालमेल गरेर चुनाव लडेका दुई पार्टीका अध्यक्षहरूको भेटघाट पातलो हुँदा विभिन्न आशंका बढिरहेका बेला ओली र दाहालबीच बुधबार भेट भएको हो। झन्डै १० दिनयता प्रत्यक्ष संवादमा नेताहरू नबस्दा आशंका पैदा भएको थियो। बुधबारको भेटमा सुरुमै दुई नेताहरूले एकआपसमा देखिएका आशंका, अविश्वास र जन्मिएका प्रश्नबारे कुरा झिक्दै आशंका चिर्ने र एकताबद्ध भएर अगाडि बढ्ने प्रतिबद्धता जनाएको ज्ञवालीले बताए।

दोस्रो तहका नेताबीच पार्टी एकताको सैद्वान्तिक–राजनीतिक आधारबो छलफल भइरहेको छ । 

‘दुई अध्यक्षको भेटअगाडि अविश्वासको संकट भएको हो कि, एकता भाँडिएको हो कि भन्ने अनेकौं आशंका कसैले नियोजित रूपले, कसैले प्रश्नका रूपमा उठाएका थिए। त्यसलाई चिर्दै मूलतः चार विषयमा उहाँहरूले छलफल गर्नुभयो', ज्ञवालीले भने।

‘एकता संयोजन समितिको बैठक बोलाउने, निर्वाचन आयोगलाई समानुपातिकको नतिजा सार्वजनिक गर्न आग्रह गर्ने र नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न सरकारलाई आग्रह गर्ने विषयमा छलफल केन्द्रित भयो', उनले भने।राष्ट्रियसभा निर्वाचन अध्यादेश विवादको विषय बनेको एकल संक्रमणीय व्यवस्थाबारे दुवै नेताबीच कुनै छलफल भएन।

माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले दुई अध्यक्ष बीचको भेटघाट सौहार्दपूर्ण र सकारात्मक भएको प्रतिक्रिया दिए। उनले अन्नपूर्णसँग भने, ‘दुई पार्टीको एकता, एकता संयोजन समितिको बैठकलगायत विषयमा छलफल भयो र छलफल सकारात्मक नै भयो।'

पार्टी एकता गर्नुअघि नेताहरूको पदीय व्यवस्थापन सरकारमा भागबन्डालगायतका विषय टुंग्याउन बाँकी छ। ओलीलाई नै प्रधानमन्त्री बनाउन माओवादी सहमत छ। तर, पार्टी एकतापछि सरकार र पार्टीको नेतृत्व अलग-अलग व्यक्तिले गर्ने वा के गर्ने विषयमा भन्ने नेताहरू निष्कर्षमा पुगेका छैनन्।

राष्ट्रपति, पार्टी अध्यक्ष सभामुख, मन्त्रालयको भागबन्डालगायत विषय नेताहरूले टुंगाउन बाँकी छ। एकता संयोजन समितिको बैठक बस्नुअघि ओली दाहालले फेरि एक पटक वान टु वान छलफल गर्ने भएका छन्। त्यसपछि मात्रै संयोजन समितिको बस्ने नेताहरूले बताएका छन्।

समझदारीअनुसार ओली-दाहाल दुवै कार्यकारीमा रहने कुरा दाहालले खुलाउँदै आएका थिए। यस अर्थमा ओली प्रधानमन्त्रीमा निर्विकल्प देखिएका छन्। तर, एकीकृत पार्टीको अध्यक्ष को बन्ने भन्नेमा भने टुंगिएको छैन। त्यसमा माओवादी अध्यक्ष दाहाललाई दिने गरी समझदारी भएको बताइन्छ।

सरकार र पार्टी नेतृत्व आलोपालो गर्दै चलाउने समझदारी भएको नेताका बीचमा चर्चा चल्दै आएको थियो। दुवै पार्टीबीचको सैद्धान्तिक एकतालाई कार्यान्वयन गर्ने क्रममा राष्ट्रपति, पार्टी अध्यक्ष, सभामुखदेखि सरकारमा प्रतिनिधित्व गर्दा मन्त्रालयको भागबन्डादेखि दोस्रो तहका नेताहरूको व्यवस्थापनसम्मका विषयमा टुंगो लगाउनु पर्नेछ। त्यस्तै, एकीकृत पार्टीको वैचारिक राजनीतिक लाइन के हुने भन्नेजस्ता विषय टुंग्याउन बाँकी छ।

भेटले सहज र स्वाभाविक ढंगले अगाडि बढाउने विश्वासको वातावरण निर्माण गर्ने काम भयो। पार्टी एकता संयोजन समितिको बैठक बस्ने विषयमा निर्णय भएको छ। भोलि वा ढिलोमा पर्सिसम्म एकता संयोजन समितिको बैठक बस्ने निर्णय भएको छ', ज्ञवालीले भने।

दुवै अध्यक्षको बैठकले निर्वाचन आयोगलाई समानुपातिक तर्फको नतिजा छिटो सार्वजनिक गर्न पनि आग्रह गर्ने सहमति भएको छ। त्यस्तै, वर्तमान सरकारलाई नयाँ सरकार गठनका लागि छिटो मार्गप्रशस्त गर्न बाटो खोल्न र यसलाई नअड्काउन आग्रह गर्ने सहमति भएको एमाले प्रचार विभाग प्रमुख ज्ञवालीले बताए। एकता संयोजन समितिको बैठक बस्नुअघि दुवै अध्यक्षबीच एक चरण बस्ने सहमति भएको छ।

समितिमा एमाले अध्यक्ष ओली, वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र महासचिव ईश्वर पोखरेल तथा माओवादीका तर्फबाट अध्यक्ष दाहाल, वरिष्ठ नेता नारायाणकाजी श्रेष्ठ र रामबहादुर थापा सदस्य छन्। उक्त समितिको बैठक कात्तिक १५ यता बस्न सकेको छैन। दुई पार्टीको एकतालाई अगाडि बढाउन १७ असोजमै पार्टी एकता संयोजन समिति गठन भएको थियो। उक्त समितिलाई पार्टी एकताका वैचारिक राजनीतिक आधार तयार पार्ने संगठनात्मक कार्यविधि निर्माण गर्नेलगायत विषयमा आवश्यक गृहकार्य गर्ने कार्यादेश छ।

एमाले नेता सुवास नेम्बाङले भने, ‘पार्टी एकतालाई छिटो टुंग्गोमा पुर्‍याउन पद र भूमिका बाँडफाँटका विषय पनि सहमतिमै टुंगिन्छ। बुधबारको छलफलमा पनि दुवै नेताले यही निष्कर्ष निकाल्नुभएको छ।' दाहाल-ओलीबीच पारिलो घाम ताप्दै कौशीमा एक घन्टा राजनीतिक वार्ता भएको थियो। दुवै नेताबीच मंसिर २९ मा बबरमहलमा यस्तै खालको छलफल भएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.