पोखरा रंगशालाको प्यारापिट भत्काउन सुरु
पोखरा : पोखरा रंगशालाको पुरानो फुटबल प्यारापिट बुधबारदेखि भत्काउन सुरु गरिएको छ। अन्तर्राष्ट्रिय स्तरको स्टेडियम निर्माणका लागि पुरानो प्यारापिट भत्काउन सुरु गरिएको हो। सन् २०१९ मा नेपालले आयोजना गर्ने १३औं दक्षिण एसियाली खेलकुद (साग गेम) लाई लक्ष्य गरी छिटो निर्माण गर्न काम हुन थालेको छ।
साग खेलकुदका बेला पोखरा रंगशालामा महिला फुटबल प्रतिस्पर्धा सञ्चालन गरिने योजना रहेको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले बताए। जिल्ला खेलकुद विकास समितिले भीम शर्माको अध्यक्षतामा उपभोक्ता समिति गठन गरी पुरानो संरचना भत्काउन सुरु गरेको हो। पोखरा रंगशालामा अन्तर्राष्ट्रिय स्तरको फुटबल स्टेडियम निर्माण गर्न ग्लोबल टेन्डर आह्वान गरिसकिएको छ।
निर्माण कम्पनीलाई ठेक्का दिनुअघि पुरानो संरचना भत्काएर नयाँ निर्माणका लागि ठिक्क पार्दिनु पर्ने भएकाले एक महिनाभित्र भीआईपी र जनरल प्यारापिट भत्काउने गरी काम सुरु गरिएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले जानकारी दिए। ‘पुरानो संरचना भत्काउन राष्ट्रिय खेलकुद परिषद्ले ४४ लाख रुपैयाँ निकासा गरिदिएको छ', उनले भने।
स्टेडियम निमार्णका लागि चीन, भारत र फ्रान्सका गरी ६ कम्पनीले आवेदन दिएका छन्। आवेदन दिने कम्पनीहरूमा चीनको जेटीएसजे र कालिका जेभी नेपाल संयुक्त, चीनको काबेक, महालक्ष्मी जेभी भारत, हुनान चीन र बिकोई भारतको संयुक्त, सीएमई कन्स्ट्रक्सन प्रोजेक्ट चीन र ग्रेट स्पोर्ट्स इन्फ्रा भारत अल्कोर फ्रान्स संयुक्तको आवेदन परेको पौडेलले बताए।
पोखरा फुटबल स्टेडियम एक अर्ब ३३ करोड लागतमा १० महिनाभित्र निर्माण सम्पन्न हुने पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका इन्जिनियर प्रनिश ताम्राकारले जानकारी दिए। २०३९ सालमा दोस्रो राष्ट्रिय खेलकुद सञ्चालनका लागि निर्माण गरिएको फुटबल स्टेडियम मर्मतसम्भारको अभावमा जीर्ण थियो। २०७२ सालको भूकम्पले क्षति पुर्याएपछि रातो स्टिकर टाँसिएको थियो।
अन्तर्राष्ट्रिय मापदण्डको स्टेडियममा ट्र्याक एन्ड फिल्ड, शौचालय, खेलाडी आराम कक्ष, मिडिया कक्ष, स्टोर रुम, कन्फ्रेन्स कक्षलगायत रहनेछन्। फुटबल मैदान फिफाले तोकेको मापदण्डअनुसारको हुनेछ। ट्र्याक एन्ड फिल्डतर्फ अन्तर्राष्ट्रिय मापदण्डको सेन्थेटिकको आठ लेनको ट्र्याकसहित एक सय मिटर र चार सय मिटरको ट्र्याक निर्माण गर्ने गरी टेन्डरमा आह्वान गरिएको थियो। अन्तर्राष्ट्रिय स्तरको फुटबल स्टेडियम निर्माणले पोखरा खेलकुद पर्यटनको सहरको रूपमा समेत विकास हुने सहारा क्लब पोखराका अध्यक्ष केशवबहादुर थापाले विश्वास गरे।