विश्व इतिहासमा यो साता घटेका महत्वपूर्ण घटना

विश्व इतिहासमा यो साता घटेका महत्वपूर्ण घटना

डिसेम्बर २८
रोमानियाका फासिस्ट नेता ओक्टाभियन गोगा सन् १९३७ को डिसेम्बर २८ मा रोमानियाका प्रधानमन्त्री बनेका थिए। रोमानियाका राजा क्यारोलले उनलाई प्रधानमन्त्री नियुक्त गरेका थिए। हिटलरको नाजी जर्मनी र मुसोलिनीको फासिस्ट इटालीसँग गोगाको राम्रो सम्बन्ध थियो। यी दुई नेतालाई उनी आदर्श मान्थे र उनीहरूकै विचारधारालाई आफ्नो मुलुकमा पनि लागू गर्न चाहन्थे।

यस्तोमा राजा क्यारोलले उनलाई प्रधानमन्त्री पदमा नियुक्त गरे। उनलाई केही समय प्रधानमन्त्री बनाई विरोधीहरूको सफाया गराउन लगाउने र अन्त्यमा उनको सरकार पनि ढालेर सबै शक्ति आफूमा निहित गर्ने चालबाजी राजाको थियो। प्रधानमन्त्री बनेपछि गोगाले रोमानियाका यहुदीहरूलाई नागरिकताबाट वञ्चित गर्नेलगायत काम गरेर हिटलरप्रति भक्तिभाव प्रदर्शन गरेका थिए।

डिसेम्बर २९
सन् १५०३ को डिसेम्बर २९ मा इटालीको सीमाभित्र स्पेन र फ्रान्सबीच भएको युद्धमा स्पेन विजयी भएको थियो। इटालीको मध्यभाग हुँदै बहने गारिग्लियानो नदी आसपासका क्षेत्रमा युद्ध भएको थियो। गारिग्लियानो नदीको एकापट्टि स्पेनको सेना थियो भने अर्कोपट्टि फ्रान्सको। नदीको माथिल्लो भागपट्टि फ्रान्सको सेना भएकाले फ्रान्सलाई बढी सहज थियो।

नदी पार गरेर उकालो ठाउँमा रहेका फ्रेन्चहरूलाई पराजित गर्न स्पेनलाई निकै अप्ठ्यारो थियो। त्यसैले नदी पार नगरीकन स्पेनिस सेना नदीको वारिपट्टि बसेको थियो। त्यत्तिकैमा स्पेनिस सेनाको सहयोगमा इटालीको नेप्लेस क्षेत्रमा तैनाथ स्पेनिस सैनिक आइपुगे। यसबाट उत्साहित भएर स्पेनिस सेनाले नदी पार गरेर फ्रेन्च सेनामाथि हमला गर्‍यो। युद्धमा फ्रेन्च सेनाले ठूलो क्षति बेहोर्‍यो। फ्रान्सले चार हजार सैनिक गुमायो भने स्पेनतर्फ नौ सय जना मात्रै हताहत भए।

डिसेम्बर ३०
सन् १९०६ को डिसेम्बर ३० मा बेलायती उपनिवेशअन्तर्गत रहेको भारतमा अल इन्डिया मुस्लिम लिग स्थापना भएको थियो। तत्कालीन पूर्वी बंगालको ढाका शहरमा लिग स्थापना भएको थियो। त्यतिबेला भारतीय कांग्रेसले भारतीय नागरिकका तर्फबाट स्वतन्त्रताका निम्ति आवाज उठाउँदै आएको थियो। तर, भारतीय कांग्रेसमा हिन्दू नेताहरूको बाहुल्य भएकाले मुस्लिमहरूको सरोकारलाई त्यसले राम्रोसँग नसमेटेको भन्दै मुस्लिमहरूले अल इन्डिया मुस्लिम लिगका रूपमा अलग पार्टी गठन गरेका थिए।

डिसेम्बर ३१
इटालीको फासिस्ट पार्टीका नेता बेनिटो मुसोलिनीले सन् १९२४ को डिसेम्बर ३१ मा विपक्षी दलहरूको समर्थनमा रहेका सबै पत्रपत्रिका बन्द गराए। सन् १९२२ मा उनी सत्तामा आएका थिए। उग्रराष्ट्रवादी राजनीतिक धार समातेका उनले कुनै समय रोम साम्राज्यका रूपमा ख्याति प्राप्त इटालीको हैसियत खुम्चिएकाले इटालीलाई पुनः इतिहासको गौरवशाली हैसियत दिलाउने सपना आफ्ना समर्थकलाई देखाएका थिए। सत्तामा आउनासाथ उनले विरोधीप्रति कडा रवैया अपनाउँदै उनीहरूको समर्थनमा रहेका पत्रपत्रिका बन्द गराएका थिए।

जनवरी १
सन् १८६१ मा अमेरिकी राष्ट्रपति अब्राहम लिंकनले दासप्रथा कायम राख्न इच्छुक दक्षिणी भेगका सात वटा अमेरिकी राज्यमा पनि दासप्रथा अन्त्य भएको घोषणा गरे। दासप्रथाको अभ्यास गर्नु गैरकानुनी भएकाले यस्तो गरेको पाइए कानुनसम्मत कारबाही गरिने उनले बताए। उनको घोषणाको सात वटा राज्यले विद्रोह गरे। साथै, उनीहरूले आफूहरू संयुक्त राज्य अमेरिकाबाट अलग भएको सामूहिक घोषणासमेत गरे।

त्यसपछि लिंकनले देशको भौगोलिक अखण्डताको सुरक्षा गर्न अलग भएको घोषणा गर्ने राष्ट्रमा सैन्य हस्तक्षेप गरे। फलस्वरूप दासप्रथाको विरोधमा रहेको उत्तर र समर्थनमा रहेको दक्षिण अमेरिकाबीच युद्ध भयो। आठ लाखभन्दा बढी मानिसको मृत्युपछि विद्रोही राज्यले समर्पण ग¥यो र गृहयुद्ध समाप्त भयो।

जनवरी २
अश्वेत अमेरिकीहरूको हकअधिकारका पैरवीकर्ता अमेरिकी अधिकारकर्मी मार्टिन लुथर किङ जुनियरलले सन् १९६५ मा अमेरिकाको दक्षिणी राज्य अलाबमामा अश्वेत जातिका मतदाताको नामावली संकलन गर्ने घोषणा गरे। अलाबामाको सेल्मा शहरबाट मोन्टगोमेरी शहरसम्म नामावली संकलन गर्ने अभियान उनको नेतृत्वमा सुरु भयो। अनेक जनदबाबका कारण अमेरिकाका अश्वेतहरूले मताधिकार पाएका थिए।

जनवरी ३
सन् १९५९ मा फिडेल क्यास्ट्रोले क्युबामा सत्ता कब्जा गरेपछि अमेरिकासँगको क्युबाको सम्बन्ध बिग्रिन थाल्यो। सम्बन्ध बिग्रिँदै गएर सन् १९६१ को जनवरी ३ मा अमेरिकाले अन्ततः क्युबासँग दौत्य सम्बन्ध खारेज नै गर्‍यो। जनवरी ३ मा अमेरिकी राष्ट्रपति आइजनहावरले क्युबाको राजधानी हवानास्थित अमेरिकी दूतावास बन्द भएको र क्युबासँग सबै खालका सम्बन्ध समाप्त भएको घोषणा गरे।

क्युबाले हवानास्थित अमेरिकी दूतावासमा कर्मचारी संख्या कटौती गर्नुपर्ने माग राखेपछि रुष्ट भएको अमेरिकाले दौत्य सम्बन्ध खारेज गरेको हो। फिडेल क्यास्ट्रो त्यतिबेलासम्म कम्युनिस्ट थिएनन्। तर, अमेरिकाले भने उनलाई कम्युनिस्ट देख्थ्यो र सोभियत संघको प्रोत्साहनमा क्युबाले सोभियत संघका सेनालाई पश्चिमी गोलाद्र्धमा उतारेर अमरिकामाथि सुरक्षा चुनौती सिर्जना गर्न खोजेको ठान्थ्यो। त्यसैले क्युबामाथि दबाब सिर्जना गर्न अमेरिकाले क्युबासँगको दोत्य सम्बन्ध खारेज गरेको थियो।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.