मुटुरोग उपचारमा चिनियाँ चासो

मुटुरोग उपचारमा चिनियाँ चासो

काठमाडौं : नेपाली मुटुरोगीको उपचारमा सघाउन छिमेकी देश चीनले चासो देखाएको छ। टेलिमेडिसिन माध्यमद्वारा सहकार्य गरी उपचारमा सघाउन चिनियाँ मुटुरोग विशेषज्ञले अभिरुचि देखाएका हुन्।

चिनियाँ पूर्वराष्ट्रपति जियाङ जेमिनका निजी चिकित्सक एवं वरिष्ठ मुटुरोग विशेषज्ञ डा.सु या वेईको नेतृत्वमा आएको चिनियाँ चिकित्सक टोलीले बिनाविभागीय मन्त्री गिरिराजमणि पोखरेल र स्वास्थ्य मन्त्रालयको नीति, योजना तथा अन्तर्राष्ट्रिय सहयोग महाशाखा प्रमुख प्रा.डा. श्रीकृष्ण गिरीसँग छलफल गरेको छ। महाशाखा प्रमुख प्रा.डा. गिरिले भने, ‘टेलिमेडिसिन सेवाद्वारा नेपालीको उपचारमा सहयोग गर्नेतर्फ चिनियाँ मुटुरोग विशेषज्ञहरूले चासो देखाएका छन्।'

सरकारी पदाधिकारीसँग छलफल गरि सहयोगको सम्भाव्यताबारे थप अध्ययन भइरहेको भ्रमण टोलीका संयोजक डा. वेईले बताए। उनले भने, ‘सहरी क्षेत्र मात्र होइन विकट क्षेत्रमा पनि उपचारमा सहयोग गर्ने चाहना छ।' तोङजी विश्वविद्यालयको कार्डियोलोजी विभाग प्रमुख समेत रहेका डा. वेई सहितको ६ सदस्यीय टोलीले शुक्रबार गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको भ्रमण गर्नेछ।

अस्पतालले अपनाएको प्रविधि र उपचारबारे चिनियाँ चिकित्सक टोलीले शुक्रबार अवलोकन गर्ने डा. वेईले बताए। मुटु उपचारमा चीनले अपनाएका प्रविधि र उपकरणबारे नेपाली मुटुरोग विशेषज्ञहरूसँग छलफल गरिनेछ। उनले भने, ‘अहिले समय थोरै भयो, पछि फेरि आउँछौं।' संभाव्यता अध्ययनका लागि ४ दिनसम्म चिनियाँ चिकित्सक टोली नेपाल बस्ने बताइएको छ।


‘टेलिमेडिसिन' सेवा सञ्चालनमा इच्छा देखाएको चिनियाँ चिकित्सक टोली संभाव्यता अध्ययनका लागि ४ दिन नेपाल बस्नेछ।

चीनले अघि सारेको वन वेल्ट वन रोड (ओबीओआर) परियोजनाअन्तर्गत नै चीनले मुटु उपचारमा सहयोग गर्न चासो देखाएको हो। परियोजनाअन्तर्गत एसिया, युरोप र अफ्रिकालाई सडक तथा रेललगायत पूर्वाधारले जोड्ने चीनको लक्ष्य छ।

परियोजनाअनुसार नै स्वास्थ्य क्षेत्रमा पनि सहयोग आदानप्रदान गर्न अहिले सम्भाव्यता अध्ययन गर्न आएको टोलीका सहजकर्ता डा.शैलेन्द्रकुमार कर्णले बताए। उनले भने, ‘सहरी क्षेत्रभन्दा पनि दूरदराजका बिरामीको उपचारमा सहयोग गर्ने सोच छ।' मन्त्रालयका पदाधिकारीहरूले छलफलका क्रममा नयाँ सरकार गठनपछि सहयोग आदानप्रदान प्रक्रिया अघि बढाउन सहज हुने बताएको डा.कर्णले बताए।

चिनियाँ टोलीका सदस्य मुटुरोग विशेषज्ञ डा.चाङ ईले दुई देशका चिकित्सकबीच चिकित्सकीय ज्ञान आदानप्रदान गरिने बताए। ‘जीवनशैलीमा आएको परिवर्तनले मुटुसम्बन्धी बिरामी बढेका छन्। उपचारका लागि चिकित्सकहरूको एउटा साझा प्लेटफर्म बनाउन खोजिएको हो', उनले भने, ‘टेलिमेडिसिनको अवधारणा व्यवहारमा लागू गर्न डिभाइस प्रयोग गर्न सकिन्छ।' डिभाइसको प्रयोग गरी नेपाली मुटुरोगीको स्वास्थ्यबारे चिनियाँ र नेपाली मुटुरोग विशेषज्ञबीच उपचार र शल्यक्रियासम्बन्धी छलफल गर्न सकिने टोलीमा संलग्न चिनियाँ चिकित्सकले बताए।

२०६५ सालदेखि सरकारले हिमाली र दुर्गम गरी २५ जिल्ला अस्पतालमा टेलिमेडिसिन सेवा सुरु गरे पनि प्रभावकारी हुन सकेको छैन। रोगको प्रकृतिअनुसार पाटन अस्पतालका विशेषज्ञ चिकित्सकबाट परामर्शसहित उपचार गर्ने लक्ष्य राखिए पनि विशेषज्ञ चिकित्सकले बेवास्ता गरेको र जिल्ला अस्पतालमा पनि इन्टरनेट जोड्न नसक्दा सेवा प्रभावकारी हुन सकेको छैन। चिनियाँ मुटुरोग विशेषज्ञहरू भने सुरुमा गंगालाल अस्पतालसँग सहकार्य गर्न इच्छुक देखिएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.