प्रहरीमा जागिर छाड्नेको लर्को

प्रहरीमा जागिर छाड्नेको लर्को

काठमाडौं : प्रहरी संगठनभित्र चरम राजनीतिक प्रभाव र वृत्ति विकासमा भविष्य नदेखिने भएपछि जागिर छाड्नेको लर्को लाग्ने गरेको पाइएको छ । यो वर्ष मात्रै प्रहरी नायब महानिरीक्षक (डीआईजी) देखि कार्यालय सहायकसम्म गरी सात सय आठ जनाले जागिर छाडेका छन् ।

जागिर छाड्ने संख्यामा सबैभन्दा बढी हवल्दार र प्रहरी सहायक निरीक्षक (असई), नायब निरीक्षक (सई) र जवान छन् । प्रहरी मुख्यालयका अनुसार गत साउनदेखि हालसम्म दुई डीआईजी, एक प्रहरी उपरीक्षक, एक नायब उपरीक्षक (डीएसपी), दुई प्रहरी निरीक्षक, ३९ सई, ९२ असई, चार सय ६४ हवल्दार, ९३ जवान र १४ जना प्रहरी कार्यालय सहायकले जागिर छाडेका छन् । आगामी असारसम्म यो संख्या बढ्ने अनुमान गरिएको छ ।

गतवर्ष प्रहरी उपरीक्षकदेखि सहायकसम्म नौ सय ८८ जनाले विभिन्न बहानामा जागिर छाडेका थिए । जसअनुसार दुई एसपी, एक डीएसपी, चार इन्सपेक्टर, ८० सई, दुई सय ४२ असई, चार सय ९३ हवल्दार, एक सय ३० जवान र २६ जना सहायकले जागिर छाडेका थिए । यीमध्ये केहीले पेन्सन पाइसकेपछि, केहीले अमेरिकी डीभीचिठ्ठा परेर, केहीले विदेशमा राम्रो काम पाएर र केहीले घरयासी काम देखाएर जागिर छाडेका हुन् ।

प्रहरीमा धमाधम जागिर छाड्ने विषयमा प्रहरी केन्द्रीय प्रवक्ता डीआईजी मनोज न्यौपाने भन्छन्, ‘सुरुमा जागिरे सिलसिलामा प्रहरी सेवामा प्रवेश गर्छन्, पछि राम्रो अवसर पाएपछि जागिर छाड्छन् । ७५ हजार फौजमा सात-आठ सयले राजीनामा दिनु ठूलो विषय होइन ।’ उनले अहिलेको परिवेशअनुसार प्रहरी कर्मचारीले पाउनुपर्ने पारि श्रमिक मेल नखाएको बुझेर पनि धेरैले अर्को अवसर पाएर जागिर छाडेको बताए । खासगरी वैदेशिक रोजगारी र मलेसिया, दुबई, कतारमा पूर्वप्रहरी भएकै कारण सुरक्षा गार्डमा राम्रो अवसर पाइने भएकाले पनि तल्लो तहका प्रहरीले जागिर छाडेर उतै लागेको दाबी प्रहरी मुख्यालयको छ ।

डीआईजी नवराज सिलवालले आफू प्रहरी महानिरीक्षक (आईजीपी) हुन नपाएपछि असन्तुष्ट भएर जागिर छाडे भने कम्युटर निर्देशनालयकी शिला कंसाकारले घरायसी कारण देखाएर जागिर छाडेकी हुन् । बाँकीले पेन्सन अवधि पुगेको र प्रहरी सेवामा रुचि नभएको र थप भविष्य नदेखेपछि जागिर छाडेको बुझाइ मुख्यालयको छ । लामो समयदेखि सईको बढुवा रोकिएको कारण पनि सई र असईले जागिर छाडेका हुन् ।

प्रहरी मुख्यालयका एक उच्च अधिकृतले भने, ‘एकताका नक्कली शैक्षिक प्रमाणपत्रमा छानबिन हुन थालेपछि जागिर छाड्नेको लर्को लागेको थियो तर अहिले प्रहरीभित्रको विचलन पछिल्लो आईजीपी नियुक्ति प्रकरणले पनि ल्यायो । त्यससँगै अन्य कारण पनि छन्, बढुवामा नपर्ने, सधैं अपजसे र दुर्गममा मात्रै दरबन्दी पर्ने भएका कारण पनि असन्तुष्ट भएर जागिर छाड्ने गरिएको देखिएको छ ।’

कतिले छाडे

२०६९ - १०८८

२०७० - ८१९

२०७१ - १४५७

२०७२ - ११८७

२०७३ - ९८८

२०७४ पुससम्म - ७०८


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.