त्रिवि क्रिकेट मैदानमा एक रनको रोमाञ्चक जित
काठमाडौं : खेलका क्रममा कुनै समय असम्भवजस्तो देखिए पनि अन्ततः भैरहवा ग्लाडिएटर्सलाई एक रनले हराउँदै विराटनगर वारियर्सले राजधानीमा शनिबार सम्पन्न एभरेष्ट प्रिमियर लिग (ईपिएल) क्रिकेट प्रतियोगिताको उपाधि हात पारेको छ। उपाधिसँगै पारस खड्काको कप्तानीमा रहेको विराटनगरले २१ लाख रुपैयाँ नगद पुरस्कार पनि प्राप्त गर्यो। शरद भेषावकरको कप्तानीमा रहेको भैरहवाले भने आठ लाख रुपैयाँ पुरस्कार पायो।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङ गर्ने निर्णय लिएको बिराटनगरले निर्धातिर २० ओभरमा सात विकेट गुमाएर एक सय ४९ रनको योगफल तयार पारेको थियो। जवाफी ब्याटिङमा ओर्लिएको भैरहवाले निर्धारित ओभरमा नौ विकेट गुमाएर एक सय ४८ रनमात्र बनाउन सकेपछि उपाधि विराटनगरको पोल्टामा परेको हो।
विराटनगरले ईपीएलमा आफ्नो अपराजित यात्रालाई कायमै राख्दै उपाधि जितेको हो। उपाधि जित्ने क्रममा फाइनलमा समेत गरी विराटनगरले भैरहवालाई तीन पटक पराजित ग¥यो। विराटनगरले भैरहवालाई यस अघि लिग चरण र पहिलो क्वालिफयार खेलमा पनि पराजित गरेको थियो। कप्तानको रुपमा पनि पारसले शरदविरुद्धको अपराजित यात्रालाई कायमै राख्न सफल भएका छन्। कप्तानको रुपमा पारसले गत बर्ष धनगढी प्रिमियर लिग (डिपिएल) मा पनि शरदको टोलीलाई पराजित गर्दै उपाधि चुमेको थियो। संयोगकवस गत डिपिएलमा पारसको टोली टीम चौराहाले शरदले कप्तानी गरेको विराटनगरलाई फाइनलमा पराजित गर्दै उपाधि जितेको थियो।
पारस र अनिलको अन्तिम दुई ओभरमा मोडियो खेल
भैरहवालाई जितका लागि अन्तिम १२ बलमा ११ रनको आवश्यकता थियो। १९ औं ओभर लिएर आए, कप्तान पारस खड्का। महत्वपूर्ण त्यो ओभरमा पारस निक्कै सफल भए। उनले त्यो ओभरमा मात्र दुई रन दिएर दुई विकेट लिए। पारसले २६ बलमा २७ रन बनाएर उत्कृष्ट प्रदर्शन गरिरहेका आरीफ शेखलाई एलबीडब्ल्यू र सात बलमा एक छक्कासहित सात रनमै खेलिरहेका अर्का विस्फोटक ब्याट्सम्यान रोहित कुमार पौडेललाई आउट गराए।
त्यसपछि भैरहवालाई जितका लगि अन्तिम ६ बलमा नौ रन आवश्यक थियो। कप्तान पारसले ‘पार्ट टाईम’ बलर अनिलकुमार शाहलाई अन्तिम ओभरको जिम्मा लगाए। अनिलले अन्तिम ६ बलमा कृष्ण कार्की (५), भुवन कार्की (०) र पुनित मिश्र (०) लाई आउट गराउदै मात्र सात रन खर्चेपछि विराटनगरले खेल आफ्नो पक्षमा पारेको थियो।
अंसुमानको ओभर र दर्शकको आक्रोस
त्यस अघि खेलको आठौं ओभर पनि निक्कै रोमाञ्चक र नाटकीय देखियो। तर, यस पटक त्यसको फाइदा भैरहवालाई पुग्यो। आफ्ना श्रीलंकाली बलर सहान अदिशा दोस्रो ओभरमै घाइते बनेपछि बलरको कमी देखिएको विराटनरको टोलीमा कप्तान पारसले आठौं ओभरमा ‘पार्ट टाईमर’ हङकङेली खेलाडी अंसुमान रथलाई बलिङमा ल्याएका थिए। त्यो ओभर प्रतियोगिता भरीकै महङ्गो सावित भयो। अंसुमानको त्यही एक ओभरबाट भैरहवाले ३६ रन लियो। हङकङको राष्ट्रिय टोलीबाट धेरै खेल खेलिसकेका अंसुमानको त्यो बलिङ केही अस्वभाविक देखियो। अन्सुमानले सो ओभरमा तीनवटा नो बल र दुई वटा वाईड बल फाल्दा भैरहवाका कप्तान शरदले मात्रै चार छक्का र एक चौका प्रहार गरेका थिए।
उनको बलिङ पश्चात खेल हेर्न उपस्थित दर्शक पनि निक्कै आक्रोसित देखिए। दर्शकले पानीका बोत्तर मैदानमा फ्याक्दा केही बेर खेल नै रोकिन पुगेको थियो। सुरक्षाकर्मी र आयोजकले मैदानबाट बोत्तर हटाएपछि खेल सुरु भएको थियो।
सो ओभरपछि भैरहवा मात्र एक विकेटको क्षतिमा ८० रनको योगफलमा पुगेको थियो। त्यस बेला भैरहवालाई जितका लागि ७२ बलमा ७० रन आवश्यक देखिएको थियो, जुन टीट्वेन्टी क्रिकेटमा सहज अवस्था मानिन्छ। त्यस बेला कप्तान शरद उत्कृष्ट प्रदर्शन गरिरहेका थिए भने आरीफ र रोहीत लगायतका बिस्फोटक ब्याट्सम्यानहरु क्रिजमा आउन बाकिँ थिए।
शरद खेलको १५ औं ओभरको पहिलो बलमा ३९ बलमा ५२ रनको अर्धसतकीय पाली खेलिरहेको अवस्थामा रन आउट हुन पुगे। उनी आउट भएपछि पनि आरीफ र रोहीतले पाली सम्हाल्ने अपेक्षा गरीएको थियो। यद्यपि उनिहरुप्रयास गरेका थिए। यद्यपि उनिहरु दुबै आउट भएपछि खेल भैरहवाको पकटबाट बाहिर गएको थियो। भैरहवाका लागि सुरुवाती ब्याट्सम्यान प्रथम सालुन्केले २७ बलमा ३० रनको योगदान दिएका थिए। शरदले आफ्नो पालीमा समान चार÷चार छक्का र चौका प्रहार गरेका थिए भने आरीफले दुई छक्का र एक चौका प्रहार गरेका थिए। यस्तै सालुन्केले एक छक्का र तीन चौका प्रहार गरेका थिए।
त्यस अघि बिराटनगरका लागि भने सुरुवाती ब्याट्सम्यान अंसुमानले ४१ बलमा ४१ रनको योगदान गर्दा कप्तान पारसले २२ बलमा २७ रन जोडे। अर्का हङ्कङेली बिस्फोटक ब्याट्सम्यान बाबर हायात १० बलमा ११ रन जोड्दै आउट हुदा अनिलकुमार शाहले १७ बलमा २२ रन तथा प्रनित थापा मगरले १३ बलमा १४ रन जोडेका थिए। अंसुमानले आफ्नो पालीमा एक छक्का र चार चौका, पारसले दुई छक्का र एक चौका, अनिलले एक छक्का र दुई चौका तथा प्रनितले एक चौका प्रहार गरेका थिए।
बलिङतर्फ टोलीलाई विजयी बनाउन विराटनगरका कप्तान पारसले तीन विकेट लिए भने करण केसी र अनिल शाहले समान दुई/दुई विकेट लिए। भैरहवाका लागि भने कृष्ण कार्की र हरिशंकर शाहले दुई/दुई तथा आरीफ र शरदले एक/एक विकेट लिए।