क्रिकेटका लोभलाग्दा दर्शक
काठमाडौं : एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको फाइनल खेल शनिबार बिहान ११ बजेदेखि सुरु हुने कार्यक्रम थियो । तर, बिहान ७ बजेदेखि नै कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा दर्शक भने ओइरिन थालिसकेका थिए । बिदाको दिन फाइनल खेलको मजा उठाउने उद्देश्यले आफ्नो टिकट सुरक्षित गर्न दर्शक बिहानदेखि नै आतुर देखिन्थे । बिहान साढे ११ बजे खेल सुरु भएपछि त दर्शकको भीड झनै बढेको थियो ।
विराटनगरले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएसँगै मैदानमा ‘पारस, पारस’को नारा घन्किएको थियो । विराटनगरको पहिलो पालि सकिनु अघिसम्म पनि दर्शक भित्रने क्रम जारी थियो । आयोजकले सर्वसाधारणका लागि एक सय र विद्यार्थीका लागि ५० रुपैयाँ दरको टिकटको व्यवस्था गरेको थियो । बालाजुबाट बिहानै क्रिकेट मैदान पुगेका राजकुमार कार्कीले दर्शकहरू बिहानै मैदान पुगे पनि टिकट वितरण ढिला हुँदा भीड निकै बढेको बताए ।
‘ईपीएलको फाइनल जसरी पनि हेर्नुपर्छ भनेर बिहानै कीर्तिपुर मैदान पुग्दा दर्शकको भीड लागिसकेको थियो’, कार्कीले भने, ‘टिकट वितरण बिहानैदेखि सुरु नहुँदा टिकट पाउन निकै गाह्रो भयो ।’ उनले फाइनल खेल आफूले सोचेभन्दा निकै रोमाञ्चक भएको बताए । ‘फाइनल खेल मैले सोचेभन्दा पनि रोमाञ्चक भयो । मैले समर्थन गरेको विराटगर वारियर्सले नै खेल जित्दा खुसी लाग्यो ।’
अन्तिम ओभरको अन्तिम बलसम्म रोमाञ्चक बनेको उक्त खेलमा विराटनगरले एक रनले खेल जितेको थियो । त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत कीर्तिपुरका महेश महर्जनले अन्तिम दुई ओभरमा खेलले निकै रोमाञ्चक मोड लिएको बताए । ‘मैले हरेक ठूला प्रतियोगिताका खेल हेर्दै आएको छु । आजको खेलले छुट्टै रोमाञ्च दियो’, महर्जनले भने ।
यसैगरी कीर्तिपुरमै बस्दै आएका गोरखाका सुवास श्रेष्ठले पनि ईपीएलको फाइनल भिडन्तले छुट्टै मज्जा दिएको बताए । उनले करिब दुई वर्षपछि मात्रै ठूला प्रतियोगिता आयोजना भएकोमा भने दुःख व्यक्त गरे । ‘पछिल्लो समय किन हो प्रतियोगिताहरू कमै मात्र हुने गरेका छन् । प्रतियोगिता नहुँदा मजस्ता क्रिकेटप्रेमीले निराश हुनु परेको छ । यस्ता प्रतियोगिता नियमित हुनुपर्छ’, श्रेष्ठले भने ।
फाइनल खेल हेर्न करिब १० हजार दर्शक उपस्थित थिए । आयोजकले फाइनल खेल हेर्न आठ हजार दर्शकले टिकट खरिद गरेको र टिकट सकिएपछि पनि थुप्रै दर्शक खेल हेर्न रंगशालाभित्र छिरेको जनाएको छ । शनिबारको विराटनगर र भैरहवाबीचको खेललाई रोमाञ्चक बनाउन आयोजकले पनि निकै मेहनत गरेको थियो । प्रतियोगिता उद्घाटनमा नायिका स्वस्तिमा खड्का लगायतलाई मैदानमा उतारेको आयोजकले शनिबार नेपाल आइडलका फाइनलिस्टलाई मैदान उतारेको थियो ।
नेपाल आइडल बुद्ध लामा, फस्ट रनरअप निशान भट्टराई र सेकेन्ड रनरअप प्रताप दासले विभिन्न गीतबाट दर्शकलाई मनोरञ्जन दिएका थिए । ईपीएल हेर्न पूर्वमन्त्री तथा नवनिर्वाचित सांसद लालबाबु पण्डित, मीनेन्द्र रिजाल, नायक निखिल उप्रेती लगायतका नेता तथा कलाकार पनि कीर्तिपुर पुगेका थिए । नेपाली क्रिकेट अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)बाट निलम्बनमा परेपछि घरेलु क्रिकेट संकटमा परेका बेला ईपीएलले खेलाडी, खेलकर्मी र दर्शकका साथै नेपाली खेलकुद क्षेत्रलाई पनि उत्साही बनायो ।
नेपाली क्रिकेटमा सर्वाधिक पुरस्कार राशिको यो प्रतियोगिताले १३ दिनसम्म क्रिकेटप्रेमीलाई मजैले भुलायो । नेपालमा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुँदा कीर्तिपुर धाउनेजत्तिकै संख्यामा फाइनल खेल हेर्न पनि दर्शक उपस्थित भएका थिए ।
दर्शकको मनोरञ्जनका लागि चियर लिडर्सको समेत व्यवस्था गरिएको उक्त प्रतियोगितामा निष्पक्ष निर्णय दिन ‘थर्ड अम्पायर’को पनि व्यवस्था गरिएको थियो । प्रतियोगिताको विजेता विराटनगरले २१ लाख र उपविजेता भैरहवाले आठ लाख रुपैयाँ पुरस्कार हात पारे । प्रतियोगितामा स्वदेशी र विदेशी गरी एक सय खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।