प्रचण्ड-बाबुराम भेटमा सीताले भनिन्, ‘तपाईंहरू मिलिहाल्नुहोस्’

प्रचण्ड-बाबुराम भेटमा सीताले भनिन्, ‘तपाईंहरू मिलिहाल्नुहोस्’

काठमाडौं : नयाँ शक्तिका संयोजक डा.बाबुराम भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर बधाई दिएका छन्।

चुनावमा जित हासिल गरेपछि प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर बधाई दिएका बाबुरामले आइतबार बिहान ‘प्रचण्ड’लाई भेटेरै बधाई दिएका हुन्। भेटमा बधाई तथा शुभकामना आदानप्रदानसँगै नयाँ सरकार गठन, देश विकास र समृद्धिको योजना, राष्ट्रियसभा गठन, वाम एकतालगायतका विषयमा कुराकानी भएको छ।

प्रचण्डको नयाँ निवास खुमलटारमा पहिलो पटक पुगेर बाबुराम र पत्नी हिसिला यमीले प्रचण्डलाई बधाई दिएका हुन्। भेटमा प्रचण्डले बाबुरामलाई मूलधारको राजनीतिमा आउन आग्रह गरेका छन्।

‘समसामयिक राजनीतिक विषयमा कुराकानी भयो’, भेटपछि अन्नपूर्ण अनलाइनसँग कुरा गर्दै नयाँ शक्तिकी नेत्रीसमेत रहेकी यमीले भनिन्, ‘मूलधारको राजनीतिमा सहभागी हुन समेत प्रचण्डले आग्रह गर्नुभएको छ।’ प्रचण्डको आग्रहप्रति धन्यवाद दिँदै बाबुरामले राजनीतिक स्थायित्व र समृद्धिको जनताको चाहनालाई ध्यानमा राख्दै अगाडि बढ्न आग्रह गरेका छन्।

बाबुरामको भनाइ उद्धृत गर्दै नेत्री यमीले भनिन्, ‘राजनीतिक स्थायित्व अहिलेको आवश्यकता हो। स्थायित्व नभएसम्म समृद्धिको सपना पूरा हुन सक्दैन त्यसलाई प्राथमिकतामा राखेर अगाडि बढ्नुहोला।’ प्रचण्डले समृद्धिको योजना बाबुरामसँग भएकाले सँगै अगाडि बढ्दा देश विकास तीव्र गतिमा गर्न सकिने भन्दै एकतामा सहभागी हुन आग्रह गरेको यमीको भनाइ छ।

प्रचण्ड पत्नी सीता दाहालले समेत आइतबारको भेटमा बाबुरामलाई प्रचण्डसँग मिलेर अगाडि बढ्न आग्रह गरेकी छन्। प्रत्येक भेटमा जस्तै सीताले आइतबारको भेटमा तत्काल मिलेर अगाडि बढ्न आग्रह गरेको यमीको भनाइ छ। ‘भाउजू सधैं मिलेर अगाडि बढ्नुपर्छ भन्नुहुन्छ’, यमीले सीताको भनाइ उद्धृत गर्दै भनिन्, ‘तपाईंहरू तत्काल मिलेर अगाडि बढ्नुहोस्। तपाईंहरू अलग भएर होइन सँगै भएर राजनीति गर्नुपर्छ।’

हिसिला र सीताबीच छुट्टै कुराकानी
बाबुराम र प्रचण्डले भेटवार्ता गर्दै गर्दा हिसिलाले सीतासँग छुट्टै भेट गरेकी छिन्। सीता र हिसिलाले पाँच मिनेट छुट्टै बसेर कुराकानी गरेका हुन्। पुत्र प्रकाश दाहालको आकस्मिक निधन हुँदा यमी चुनावी प्रचारका क्रममा गोरखामा थिइन्। प्रकाशको निधनपछि यमीले सीतालाई पहिलो पटक भेटेकी हुन्।

‘सीता भाउजूसँग भेट नभएको धेरै भएको थियो। छोरा प्रकाश बितेको समयमा हामी गोरखामा थियौं, बाबुराम हेलिकोप्टरमा आउनुभयो’, यमीले भनिन्, ‘म आउन सकिनँ। आज भेटेर कुराकानी गरेँ।’ भेटमा सीता भावुक भएपछि पाँच मिनेट मात्र कुरा गरेको यमीले सुनाइन्। ‘धेरै कुरा गर्दा पनि उहाँलाई नरमाइलो हुने भएकाले छोटो कुराकानी गरेँ’, यमीले भनिन्।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.