कांग्रेसमा विशेष महाधिवेशन आैचित्यहीन : फागुनभित्रै महासमिति बैठक बोलाइने

कांग्रेसमा विशेष महाधिवेशन आैचित्यहीन : फागुनभित्रै महासमिति बैठक बोलाइने

काठमाडौं : कांग्रेसका युवा नेताहरूले महाधिवेशनबाट नेतृत्व परिवर्तन गर्नुपर्ने माग गरे पनि पार्टी सभापति शेरबहादुर देउवालगायत केन्द्रीय नेताहरू नेतृत्व छाड्ने पक्षमा देखिएका छैनन्। निर्वाचन परिणामपछि युवा नेताहरूले समीक्षाका क्रममा दोस्रो पुस्तामा नेतृत्व हस्तान्तरण नभएसम्म कांग्रेसले राष्ट्र र देशवासीको आकांक्षा सम्बोधन गर्न नसक्ने निष्कर्षमा पुगेका छन्।

युवा नेताहरूको औपचारिक÷अनौपचारिक छलफलले सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत पुरानो पुस्ताले बिदा लिएर पार्टीमा नयाँ ऊर्जा प्रवाह गर्नुपर्ने बताउँदै आएका छन्। पराजयको कारण खोजेर पार्टीलाई थप ऊर्जासहित अघि बढाउनुपर्ने सभापति देउवा पक्षको तर्क छ भने युवा नेताहरू नेतृत्व नै परिवर्तन गर्नुपर्ने पक्षमा छन्।

विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तन गर्नुपर्ने पक्षमा रहेका युवा नेता चन्द्र भण्डारी, विश्वप्रकाश शर्मा, गगन थापा, गुरुराज घिमिरे र प्रदीप पौडेल लगायतले कांग्रेस बचाउन विशेष महाधिवेशन माग गरिरहेका छन्। युवा नेतृत्वले चुनावमा पार्टी पराजित हुनाका कारण प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाभियोग, लोकमानविरुद्धको महाभियोगका पक्षमा लाग्नु, आईजीपी प्रकरण, आर्थिक लाभ लिएर राजदूत नियुक्ति, भारतीय नाकाबन्दीलगायत मुद्दामा नेतृत्वको मौनता नै रहेको निष्कर्ष निकालेका छन्। देउवा पक्षले युवा नेताहरूले गर्दै आएको महाधिवेशनको माग विफल पार्न बालकृष्ण खाँड, डा. प्रकाशशरण महत, महेन्द्र यादव, मीनबहादुर विश्वकर्मा लगायतलाई परिचालन गरेको कांग्रेस स्रोत बताउँछ।

युवा नेता भण्डारीले पार्टीमा व्यापक शुद्धीकरणबिना कांग्रेसले देश र जनताको नेतृत्व गर्न नसक्ने बताए। उनले भने, ‘हामी अभियानबाट पछि हट्दैनौं। हाम्रो अभियान बीपी कोइरालाले स्थापना गरेको कांग्रेसलाई राज्य सञ्चालनको नेतृत्वमा फेरि फर्काउनु हो।' उनले अभियान सत्ता प्राप्ति वा नेतृत्व हडप्न नभएको बताए। ‘कांग्रेस चुनावमा हार्नुको कारण प्रधानन्यायाधीश कार्कीविरुद्ध महाभियोग, लोकमानविरुद्ध महाभियोगको पक्षमा लाग्नु, आईजीपी प्रकरण, आर्थिक लाभ लिई राजदूत नियुक्ति र भारतीय नाकाबन्दीमा नेतृत्वको मौनता भएको निष्कर्षमा पुगेका छौं', उनले भने।

महासमिति बोलाउनुपर्छ : डा. कोइराला

कांग्रेस नेता डा. शेखर कोइरालाले चुनावमा पराजित पार्टीलाई नयाँ गति दिन विशेष महाधिवेशनको साटो महासमितिको बैठक बोलाउनुपर्ने बताए। महासमिति बैठकका लागि केन्द्रीय समितिको बैठक डाकेर चुनावमा पराजयको समीक्षा गर्नु उचित हुने उनले आंैल्याए। महासमितिबाट विधानमा संशोधन अपरिहार्य रहेको उनले प्रत्यक्षतर्फ २ सय ४० सिटको संसद्लाई १ सय ६५ मा झार्नु, स्थानीय तह थोरै हुनु, नगरपालिकाहरू उपमहानगरपालिका र महानगरपालिकामा परिणत भएअनुसार संगठन विस्तार गर्न नसक्नु रहेको बताए। विधानमा प्रादेशिक संरचना नै नरहेकाले पनि महासमिति अपरिहार्य रहेको धारणा उनको थियो।

चुनाव पराजयको समीक्षा गर्न विशेष महाधिवेशनमा जाने र सभापति मात्र परिवर्तन गर्न खोज्नु उचित नभएको बताउँदै केन्द्रीय सदस्य पराजयका लागि जिम्मेवार हुने÷नहुने प्रश्न डा. कोइरालाले गरे। उनले भने, ‘क्रियाशील सदस्यता वितरणमा अहिलेको क्राइटेरिया परिवर्तन, भ्रातृ र शुभेच्छुक संघ, संगठनको छुट्टै निर्वाचन, एक व्यक्ति एक संस्था सदस्यता, पार्टीलाई प्रादेशिक संरचनामा लग्दै केन्द्रीय समितिको बैठक बस्नुपर्छ।'

डा. प्रकाशशरण महतले विशेष महाधिवेशनदेखि महासमितिको बैठक माग गर्नेहरू नै केन्द्रीय समितिमा रहेकाले आगामी केन्द्रीय समिति बैठकमा सबैले आ-आफ्ना भनाइ राख्न सक्ने बताए। उनले भने, ‘महासमितिको बैठक हुन्छ तर केन्द्रीय समितिको निर्णयअनुसार हुन्छ।' अनुशासन सहितको मेलमिलापमा जान पार्टी सभापतिले आग्रह गरिसकेको उनले बताए। उनले गालीगलौजमा नउत्रन युवा नेतासँग आग्रह गरे। पराजयपछि अनेकौं प्रस्ताव ल्याउने युवा नेताले चुनावअघि नै रचनात्मक रणनीतिक प्रस्ताव किन ल्याएनन् डा. महतको प्रश्न थियो।

नेता महेन्द्र यादवले एक्लै सभापतिले मात्र चुनावमा टिकट नबाँडेको, पौडेल, डा. शशांक कोइराला, प्रकाशमान सिंह, डा. मीनेन्द्रलगायत पनि संसदीय बोर्डमा रहेको बताए। पराजयपछि युवा नेताको पहल पार्टीमा एकता हो कि आफू सफल अरू सबै विफल भएको देखाएर प्रदर्शन गर्ने भन्दै आक्रोश व्यक्त गरे। ‘गगन, चन्द्र भण्डारी लगायतले शनिबार भेला गरे भने हामी पनि शुक्रबारको बैठकमा पार्टीभित्र एकता, सहमति र सहकार्य अपरिहार्य रहेको निर्णय गरेका छौं', उनले भने।

तरुण दललगायत भ्रातृ र शुभेच्छुक संगठनको महाधिवेशन रोक्ने काममा पौडेललगायत नेता नै रहेको आरोप उनले लगाए। चार दर्जनभन्दा बढी पार्टी विभाग र संगठनले पूर्णता पाउन नसक्नुमा पनि देउवा मात्र नभएर पौडेल र उनको गुटसमेत जिम्मेवार रहेको दाबी यादवको थियो। उनले भने, ‘विशेष महाधिवेशन आवश्यक छैन र हुँदैन पनि। महासमिति बैठक फागुन अन्तिममा बस्नेछ।'


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.