मदन भण्डारी क्रिकेट एकेडेमीको शुभारम्भ
काठमाडौँ: नेकपा एमालेका नेता सुवास नेम्वाङले वाम गठबन्धनको सरकार बनेपछि खेलकुद क्षेत्रमा विकास गरिने बताएका छन् ।
मदन भण्डारी स्पोर्टस एकेडेमीको नवौँ स्थापना दिवसका अवसरमा सोमबार मदन भण्डारी क्रिकेट एकेडेमीको शुभारम्भ समारोहमा उनले भने, 'राष्ट्रलाई विश्वसामु चिनाउने खेल क्षेत्रको विकास गर्नुपर्छ, जनस्तरबाट भएका पहलमा सहयोग पुर्याउनुपुर्छ ।'
नेता नेम्वाङले मदन भण्डारी क्रिकेट एकेडेमीको तीन पटक ब्याटिङ गरेर खेलको शुभारम्भ गरेका थिए । यस एकेडेमीमा नेता नेम्वाङ पहिलो खेलाडी भएको घोषणा गर्दै क्रिकेट पोशाकसमेत एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठले क्रिकेट खेलको विकास गर्ने उद्देश्यका साथ एकेडेमीको शुरुआत गरिएको बताए ।
कार्यक्रममा हेल्पिङ ह्याण्ड अस्पतालका अध्यक्ष गुप्तबहादुर श्रेष्ठ र एकेडेमीका अध्यक्ष श्रेष्ठले स्वास्थ्यसम्बन्धी सम्झौता गरेका थिए ।
सम्झौतानुसार खेलाडीलाई उक्त अस्पतालमा उपचार गर्दा ५० प्रतिशत छुट दिइने छ । कार्यक्रममा क्रिकेट खेलाडीलाई सम्मान गर्नाका साथै विभिन्न सांस्कृतिक प्रस्तुति दिइएको थियो ।