दुई खेलमा ३८ गोल
काठमाडौं : राखेप च्याम्पियनसिपअन्तर्गत राजधानीमा जारी १६औं राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा सोमबार दुई खेलमा ३८ गोल भएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा एपीएफले मध्यपश्चिमाञ्चललाई २६-० गोलले हरायो । एकपक्षीय खेलमा मध्यपश्चिम खेलभर निरीह देखिएको थियो । एपीएफले पहिलो हाफमा १४ र दोस्रो हाफमा १२ गोल गरेको थियो । एपीएफका लागि सावित्रा भण्डारी एक्लैले १२ गोल गरिन्।
खेल सुरु भएको तेस्रो मिनेटमा खाता खोलेकी सावित्राले १५औं, १७औं, २४औं, ३४औं, ४०औं, ४७औं, ५२औं, ५९औं, ६०औं, ७७औं र दोस्रो हाफको इन्जुरी समयमा गोल गरेकी थिइन् । अनिता केसीले पाँच गोल गरिन् । अञ्जली योञ्जनले चार, रेखा पौडेलले दुई तथा अनिता बस्नेतले एक गोल थपेका थिए।
यसैगरी अर्को खेलमा त्रिभुवन आर्मी क्लबले पश्चिमाञ्चललाई १२-० गोलले हरायो । आर्मीको जितमा दीपा राईले पाँच गोल गरिन् । कृष्णा खत्रीले ह्याट्रिक पूरा गरिन् । दीपाले ४४ औं, ६३औं, ६९औं, ७८औं र ८२औं मिनेटमा गोल गरेकी थिइन् । कृष्णाले २७औं, ४९औं र ८१औं मिनेटमा गोल गरिन् । इन्दिरा राईले ७२औं र ७५औं मिनेटमा दुई गोल थपिन् । पूजा रानाले ३६औं तथा शर्मिला थापाले ५४औं मिनेटमा एकएक गोल गरेका थिए।