इन्जुरी समयमा आर्सनलको गोलले चेल्सीलाई धक्का
लन्डन : दोस्रो हाफमा इन्जुरी समयमा आर्सनलले गोल गरेपछि साबिक विजेता चेल्सीको इङ्लिस प्रियिमर लिगको दोस्रो स्थान कब्जा गर्ने इच्छा सफल हुन सकेन। लिगअन्तर्गत आर्सनलको घरेलु मैदानमा बुधबार भएको प्रतिस्पर्धात्मक खेलमा चेल्सी आर्सनलसँग २-२ गोलको बराबरीमा रोकियो। अन्तिम समयमा अग्रता गुमाएपछि चेल्सीको म्यानचेस्टर युनाइटेडलाई पछि पार्ने योजना असफल बनेको थियो।
रोचक खेलको पहिलो हाफमा दुवै टोली गोलरहित बराबरीमा रोकिएका थिए। खेलमा सुरुआती अग्रता आर्सनलले लिएको थियो। आर्सनलका लागि ज्याक विल्सरले ६३औं मिनेटमा गोल गरेका थिए। आर्सनलको अग्रतापछि आक्रामक देखिएको चेल्सीले ६७औं मिनेटमा पेनाल्टीमार्फत बराबरी गोल फर्कायो। इडन हाजाडले पेनाल्टीको सदुपयोग गरे। आर्सनलका मेसुट ओजिलले फल खेलेपछि पाएको पेनाल्टीलाई हाजाडले सही सदुपयोग गरेका थिए।
पेनाल्टी गोलपछि थप जोसिएको चेल्सीका लागि मार्कोस एलोन्सोले ८४औं मिनेटमा गोल गर्दै खेललाई २-१ को अवस्थामा पु¥याए। अन्तिम समयमा रक्षात्मक रणनीति अपनाएको चेल्सीको रणनीति असफल बनेको थियो। इन्जुरी समयमा आर्सनलका हेक्टोर बेलेरिनले गोल गरेपछि चेल्सी बराबरीमा रोकिन बाध्य बन्यो। यसअघि आर्सनलले दुईवटा उत्कृष्ट अवसर खेर फालेको थियो। आर्सनलका लागि एलेक्सिस सान्चेज र अलेक्सेन्डर लाकाजेटीले उत्कृष्ट अवसर गुमाएका छ। बराबरीसँगै २२ खेल सकेको चेल्सी ४६ अंकका सात तालिकाको तेस्रो स्थानमा छ। समान खेलबाट ३९ अंक बनाएको आर्सनल छैटौं स्थानमा छ। शीर्ष स्थामना आसीन म्यानचेस्टर सिटीको ६२ अंक छ। दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको ४७ अंक छ।