चिसोले बिरामी बढे : बालबालिका र वृद्धवृद्धालाई बढी समस्या

चिसोले बिरामी बढे : बालबालिका र वृद्धवृद्धालाई बढी समस्या

काठमाडौं : काठमाडौं उपत्यकामा चिसो बढेसँगै राजधानीका अस्पतालहरूमा रुघाखोकी, झाडापखाला, निमोनिया, दम र ब्रोङकाइटिसको उपचार गर्न आउने बिरामी बढेका छन्। सरकारी अस्पतालमा उपचारका लागि जाने यस्ता बिरामीमध्ये करिब ६० प्रतिशत चिसोका कारण बिरामी हुने गरेका छन्।

चिसोले सबैभन्दा धेरै प्रभावित हुनेमा बालबालिका र वृद्धवृद्धाको संख्या बढी छ। कान्ति बाल अस्पतालमा उपचार गराउन आएकामध्ये आधाभन्दा बढी रुघाखोकीबाट पीडित छन्। कान्ति बाल अस्पतालका निर्देशक डा. गणेशकुमार राईका अनुसार रुघाखोकी बिग्रेर निमोनिया, ब्रोङकाइटिस र बालबालिकाको दमका बिरामीको संख्या बढेको छ। ब्याक्टेरिया र भाइरस संक्रमणबाट हुने निमोनियाले २ वर्षमुनिका बालबालिकालाई सताएको चिकित्सक बताउँछन्। डा. राई भन्छन्, ‘रोटा भाइरसबाट हुने झाडापखालाबाट पनि बालबालिका पीडित छन्।' अस्पतालमा दैनिक उपचारका लागि आउने करिब ५ सय बिरामीमध्ये आधाभन्दा बढी रुघाखोकी र झाडापखालाका भएको डा. राईले बताए।

वीर अस्पतालको आकस्मिक विभागका प्राडा. सुशील शाक्यका अनुसार उपचार गर्न आउनेमध्ये करिब ६० प्रतिशत दमखोकीका बिरामी छन्। काठमाडौंमा व्याप्त प्रदूषण र चिसोका कारण रुघाखोकी, दम र ब्रोङकाइटिसका बिरामी बढी समस्याग्रस्त छन्। महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालका फिजिसियन डा. निरज बमले चिसो बढेसँगै भाइरल इन्फेक्सनका बिरामीको संख्या बढेको बताए। उनले भने, ‘दम र रुघाखोकीका बिरामीको संख्या निकै बढेको छ।'

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पाका उमेरका बिरामीको भीड लाग्ने गरेको छ। अस्पतालको आकस्मिक कक्षमा कार्यरत डा. सविना महर्जनले दम, निमोनिया र झाडापखालाका बिरामी आउने क्रम बढेको बताइन्। अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक एवं सरुवारोग विशेषज्ञ डा.शेरबहादुर पुनले ‘सिजनल फ्लु'का बिरामीको संख्या बढेको बताए। ज्वरो आउने, खोकी लाग्ने, घाँटी दुख्ने र सास फेर्न अप्ठेरो हुने खालका लक्षण भएका बिरामी उपचारमा आउने गरेको डा. पुनले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.