ब्राजाकीको स्वास्थ्य सुधारोन्मुख
काठमाडौं : मस्तिष्कघातबाट पीडित वरिष्ठ साहित्यकार मनु ब्राजाकीको स्वास्थ्यमा सुधार हुँदै गएको छ ।
करिब तीन सातादेखि ललितपुरको पाटन अस्पतालमा उपचाररत ब्राजाकीको स्वास्थ्यमा सुधार आएपछि भेन्टिलेटरबाट सामान्य शैयामा सारिएको साहित्यकार सुनिल पुरीले बताए ।
साहित्यकार ब्राजाकीलाई सामान्य हिँडडुल गराइए पनि उनको बोली आएको छैन । उनका प्रगतिवादी एवं जीवनवादी धारका ‘अन्नपूर्णाको भोज’, ‘तिम्री स्वास्नी र म’ र ‘अवमूल्यन’ कथासंग्रहका साथै गजलसंग्रह तथा पत्रपत्रिकामा लेखरचना प्रकाशित छन् । उनी हाल ‘कान्छी वेगम’ नामक उपन्यास लेखिरहेकाछन् ।
महोत्तरी स्थायी घर भएका ७६ वर्षीय ब्राजाकी हाल ललितपुर भैँसीपाटीमा बस्दै आएका छन् । रासस