फलोअपमा बैंकक जाँदै ओली

फलोअपमा बैंकक जाँदै ओली

काठमाडौं : चुनावी व्यस्तताका कारण नियमित उपचारलाई थाती राखेका एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओली स्वास्थ्य जाँचका लागि थाइल्यान्ड जाने भएका छन्। नियमित स्वास्थ्योपचारका लागि बैंकक प्रस्थान गर्ने तयारी भइरहेको ओलीको निजी सचिवालयले जनाएको छ।

सचिवालयका प्रमुख देवराज घिमिरेले अन्नपूर्णसँग भने, ‘नियमित उपचारका सिलसिलामा फलोअपका लागि हिजो÷अस्ति नै जान खोजिएको हो। तर, विकनेस (कमजोरी) भएपछि अलिक दिन बसेर जाने भन्ने छ। गम्भीर अवस्था केही होइन। फलोअप उपचारका लागि जान लाग्नुभएको हो।'

ओलीको स्वास्थ्योपचार गर्दै आएको बैंककस्थित बुमरुङगार्ड अन्तर्राष्ट्रिय अस्पतालका चिकित्सकसँग सम्पर्क गरी बैंकक जाने तयारी भइरहेको छ। समय र परिस्थिति मिले आगामी बुधबार ओली बैंकक प्रस्थान गर्नेछन्। यसअघि उनी भदौ दोस्रो साता बैंकक गई नियमित उपचार गरी फर्केका थिए। ओलीका साथ उनकी पत्नी राधिका शाक्य पनि बैंकक जानेछिन्।

प्रदेश र प्रतिनिधिसभा चुनावका बेला ९० भन्दा बढी चुनावी सभामा सम्बोधन गरेका ओलीलाई एक सातादेखि कडा खालको झाडापखालाले सताएको थियो।

झाडापखाला भएपछि पूर्वनिर्धारित कार्यक्रममा उनी अनुपस्थित रहँदै आएका छन्। प्रदेशको अस्थायी राजधानी तोक्ने र प्रमुखको नियुक्तिमा सहमति जुटाउने विषयमा बिहीबार बसेको सर्वदलीय बैठकमा समेत ओली अनुपस्थित थिए।

सचिवालय प्रमुख घिमिरेले झाडापखाला नियन्त्रण भइसकेको उल्लेख गर्दै भने, ‘अढाई महिनादेखि लगातार दोडधुप भयो। कमजोरी मात्र छ। त्यस्तो क्रिटिकल (गम्भीर) अवस्था होइन।'

मिर्गौला प्रत्यारोपण गराएका ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको उनका निजी चिकित्सक प्राडा दिव्यासिंह शाहले बताइन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.