स्वास्थ्य परीक्षणका लागि ओली थाइल्यान्ड जाँदै
काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि बुधबार थाइल्यान्ड जाँदैछन्। ओली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिउसो साढे १ बजे थाइल्यान्ड प्रस्थान गर्ने उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।
ओली पत्नी राधिका शाक्य, ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, डा. विद्या सिंह र डा. यादव भट्ट ओलीसँगै थाइल्यान्ड जानेछन्।
थाइल्यान्डको बैंककस्थित बुमरुनग्र्याड अन्तर्राष्ट्रिय अस्पतालमा ओलीको फलोअप चेकिङ हुनेछ।
गत भदौ दोस्रो साता नियमित उपचार गरी फर्केका ओली पछिल्लोसमय चुनावी व्यस्तताका कारण नियमित उपचारमा जान पाएका थिएनन्। ओली स्वास्थ्य जाँचपछि सोमबार स्वदेश फर्किने कार्यक्रम छ।
ओलीको २०६४ साल असारमा भारतमा मिर्गौला प्रत्यारोपण गरिएको थियो।