वाम कार्यदलले बनायो बाँडफाँट मापदण्ड

वाम कार्यदलले बनायो बाँडफाँट मापदण्ड

काठमाडौं : वाम गठबन्धनको कार्यदलले प्रदेश मुख्यमन्त्री, सभामुख र राष्ट्रियसभाको सिट संख्या बाँडफाँटको मापदण्ड तय गरेको छ। कार्यदलले स्थानीय र प्रदेश निर्वाचनको परिणाम, एकताको भावना, योग्यता र सन्तुलनका चार आधारमा सिट बाँडफाँट गर्न लागेको हो।

एमाले नेता सुवास नेम्वाङको अध्यक्षतामा शुक्रबार बसेको कार्यदल बैठकले प्रदेश सरकार, प्रदेश सभामुख र राष्ट्रियसभा निर्वाचनका लागि सिट संख्या बाँडफाँटको गृहकार्य गर्ने सहमति गरेको हो। राष्ट्रियसभा निर्वाचनका लागि माघ १० गते उम्मेदवारको मनोनयन तोकिएको छ। निर्वाचन आयोगले प्रदेशको समानुपातिकतर्फको नतिजा सार्वजनिक गरेपछि प्रदेश सरकार गठन (मुख्यमन्त्री र मन्त्री) र सभामुखको निर्वाचन प्रक्रिया अघि बढ्नेछ।

प्र्रतिनिधिसभा÷प्रदेशसभा निर्वाचनमा ६० र ४० प्रतिशत उम्मेदवार लिएर चुनावमा भाग लिए एमाले र माओवादीले ७० र ३० प्रतिशत जित हासिल गरेका थिए। राष्ट्रियसभा निर्वाचनमा पनि ६० र ४० कै भागबण्डा गर्नेबारे एमाले र माओवादी नेताबीच अनौपचारिक कुराकानी भए पनि एकताको भावनाअनुसार अघि बढ्ने कुरालाई कार्यदलले जोड दिएको छ। ‘चारवटा आधारमा रहेर बाडफाँट हुन्छ,' नेम्वाङले अन्नपूर्णसँग भने, ‘हामी एक पार्टी हुँदै छौं भन्ने भावनालाई महत्व दिइनेछ।'

आयोगले प्रदेशको समानुपातिकतर्फको नतिजा सार्वजनिक गरेपछि प्रदेश सरकार गठन र सभामुखको निर्वाचन प्रक्रिया अघि बढ्नेछ।

वाम गठबन्धनको दुई नम्बर प्रदेशबाहेक अन्य प्रदेशमा एकल सरकार बन्ने अवस्था छ। ६ वटा प्रदेशमा मुख्यमन्त्री कसले लिने भन्ने कुराको निर्णय कार्यदलले गर्नेछ। ‘यो प्रदेशमा यो दलले लिनेभन्दा पनि त्यहाँबाट प्रतिनिधित्व गर्ने व्यक्तिको योग्यता पनि हेरिनेछ,' उनले भने। १, ३, ४ र ५ को मुख्यमन्त्री एमालेले दाबी गरेको छ भने ६ र ७ को मुख्यमन्त्रीमा माओवादीले दाबी गर्ने अनुमान गरिएको छ। तर ६ र ७ नम्बरमा एमालेभन्दा माओवादीको उपस्थिति निकै कमजोर छ।

प्रदेश १ मा एमालेका शेरधन राईको चर्चा छ। प्रदेश २ मा मधेसकेन्द्रित दलसँग मिलेर सरकार बनाउने योजनामा वाम गठबन्धन छ। प्रदेश ३ मा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, काठमाडौंका पूर्वमेयर केशव स्थापितको चर्चा छ। प्रदेश ४ मा पृथ्वी सुब्बा गुरुङ र किरण गुरुङले मुख्यमन्त्री दाबी गरेका छन्। प्रदेश ५ मा एमाले नेता शंकर पोखरेल मुख्यमन्त्री बन्ने सहमति चुनावअघि नै भइसकेको एमालेको दाबी छ।

प्रदेश ६ मा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही र नरेश भण्डारीले दाबी गरेका छन् तर एमाले पोलिटब्युरो सदस्य प्रकाश ज्वाला र पूर्वमन्त्री यामलाल कँडेलले पनि दाबी छाडेका छैनन्। प्रदेश ७ मा एमाले र माओवादी केन्द्रका स्थापित नेता प्रदेशसभा सांसद नभएकाले धेरैको दाबी छ। एमालेका वैकल्पिक केन्द्रीय सदस्य प्रकाश शाह, कञ्चनपुर जिल्ला अध्यक्ष तारा लामा, कैलाली अध्यक्ष दीर्घ सोडारीले मुख्यमन्त्रीमा दाबी गरेका छन। माओवादी केन्द्रका वीरमान चौधरी, झपट बोहरा र अक्कल रावलले पनि ७ नम्बर प्रदेशको मुख्यमन्त्रीका लागि दाबी गरेका छन्।

राष्ट्रियसभामा प्रत्येक प्रदेशबाट आठ जनाका दरले निर्वाचित हुने व्यवस्था छ। वामगठबन्धनले ६ नम्बर प्रदेशमा आठवटै जित्ने आधार देखिए पनि १, ३, ४, ५, ६ र ७ प्रदेशमा खुलातर्फ दुई र महिला कोटाबाट दुई÷दुई जना जित्ने देखिन्छ। यी प्रदेशमा दलित र अपांगता भएका व्यक्ति वा पिछडिएको कोटाका एक÷एक जना सदस्य पनि वामगठबन्धनले नै जित्ने अवस्था छ। प्रदेश २ मा भने वाम गठबन्धनले एक खुला र एक महिला सदस्य मात्र जित्ने देखिन्छ। कांग्रेसले प्रदेश ६ बाहेकमा एक खुला र एक महिला सदस्य जित्ने सम्भावना छ। ‘हामीले स्थानीय र प्रदेशसभाको नतिजा र सन्तुलनका आधारहरू बाँडेका छौं,' एमाले नेता नेम्वाङले भने, ‘यी सबै आधारमा बाँडफाँट हुन्छ।'

एमाले अध्यक्ष केपी ओली बैंककबाट फर्किनुअघि नै कार्यदलले बाँडफाँटको टुंगो लगाउने नेताहरू बताउँछन्। शुक्रबारको कार्यदल बैठकमा एमाले सदस्य सुरेन्द्र पाण्डे काठमाडौंबाहिर रहेकाले अनुपस्थित रहे भने पूर्वनिर्धारित जिल्लाको कार्यक्रमका लागि एमालेकै सदस्य शंकर पोखरेल पनि अनुपस्थित रहे। कार्यदलमा रहेका माओवादी केन्द्रका वर्षमान पुनः झाडापखालाबाट बिरामी भन्दै अनुपस्थित रहे पनि रामबहादुर थापा र मातृका यादव उपस्थित थिए। कार्यदलको अर्को बैठक आइतबार बस्ने तय भएको नेताहरू बताउँछन्।

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.