देउवाको प्रश्नः बहुमतबिना सत्ता छाड भन्न लाज लाग्दैन ?

देउवाको प्रश्नः बहुमतबिना सत्ता छाड भन्न लाज लाग्दैन ?

धनगढी: प्रधानमन्त्री शेरबहादुर देउवाले वाम गठबन्धनले नयाँ प्रधानमन्त्रीको टुंगो नगरेकाले सत्ता हस्तान्तरण गर्न नसकिरहेको बताएका छन् ।

कसलाई सत्ता बुझाऊँ ?

आइतबार विहान कैलालीको गोदावरी धाममा १२ राशी मकर मेलाको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले वाम गठबन्धनले अहिलेसम्म प्रधानमन्त्रीको टुंगो नलगाएको अवस्थामा आफुले सत्ता हस्तान्तरण गर्ने भन्ने प्रश्न गरे ।

‘वाम गठबन्धनभित्र को प्रधानमन्त्री बन्ने टुंगो लागेको छैन, मेरो ब्रतबन्ध भएको स्थानबाट भन्छु, म सत्ता कसलाई हस्तान्तरण गरुँ ?’, देउवाले प्रश्न गरे, ‘म सत्ता हस्तान्तरण गर्नका लागि आतुर छु ।’

देउवा भन्दा अगाडि मकर मेलालाई सम्बोधन गरेका नेकपा एमालेका तर्फबाट कैलाली–५ का सांसद नारदमुनी रानाले देउवालाई सरकार गठनका लागि मार्ग प्रशस्त गर्न आग्रह गरेपछि त्यसको जवाफमा भने ‘कोही बहुमत ल्याएर आउन नसक्ने, अनि कसलाई सत्ता हस्तान्तरण गरुँ ? लाज लाग्दैन ।’

देउवाले अहिले बहुमत प्राप्त गरेर कसैले प्रधानमन्त्री तोक्न नसकेकोले आफूले देशलाई नेतृत्वविहीन बनाउन नचाहेको वताए । उनले धार्मिकस्थलमा आएर आफूले राजनीतिक कुरा नगर्न खोजे पनि बोल्न बाध्य भएको बताएका थिए ।

प्रदेश राजधानी तोक्नै समस्या

प्रधानमन्त्री देउवाले आफुले सबै दलहरुको सहमतिमा प्रदेश सभाको अस्थायी राजधानी तोक्न खोज्दा सहमति हुन नसकेकोले छिट्टै सरकार निर्णयमा पुग्ने बताए ।
आइतबारै राजधानी फर्किरहेका देउवाले आफूलाई सबैभन्दा बढी सकस प्रदेश नम्बर ७ को अस्थायी राजधानी तोक्न भइरहेको बताउदै अन्तिम पटक फेरि प्रयास गर्ने र सहमति नभए आफैँ तोकिदिने बताए ।

‘मलाई सबैभन्दा बढी मेरै क्षेत्रको राजधानी तोक्न समस्या भइसक्यो, कोही दिपायल भन्छन् कोही धनगढी, दलहरुको बैठक बोलाए कोही पनि बोल्दैनन्, ल भन्नुस मैले के गर्ने ?’ उनले भने ।

गोदावरी धाम आफ्नो ब्रतबन्ध भएको स्थान पनि भएकाले यो धाम महत्वपूर्ण भएको भन्दै उनले यसको विकासका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे । ‘म सानो छँदा यो नदीमा नुहाउँथे, मेरो ब्रतबन्ध पनि यतै भएको हो, बहिनीको कन्यादान गर्दा दाइको ब्रतबन्ध गर्नुपर्छ भनेपछि मेरो ब्रतबन्ध यही धाममा भएको हो’, उनले भने, ‘त्यसैले म यसको विकासका लागि लाग्नेछु ।’

मकर मेलाको उद्घाटनमा सांसद राना र गोदावरी नगरपालिकाका मेयर हरिसिंह साउदले पनि गोदावरी क्षेत्रको विकासका लागि सरकारले ध्यान दिनुपर्ने माग गरेका थिए । गोदावरी धाम विकास समितिका संयोजक पदमराज जोशीको अध्यक्षतामा सम्पन्न मेला उद्घाटन समारोहमा धामबारेमा सह–संयोजक मदनराज पाण्डेले प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।

जुत्ता नखोली पूजा

यसअघि प्रधानमन्त्री देउवाले श्रीयन्त्रको पुजा पनि गरेका थिए, तर उनले जुत्ता नखोलेरै पुजा गरेकाले त्यहाँ पुगेका दर्शनार्थीहरुले भने कानेखुसी गर्दै आलोचना गरेका थिए । उनले खैरो छालाका जुत्तामै श्रीयन्त्रको पुजा र परिक्रम गरेका थिए ।

दुईवर्ष अघि गोदावरी धाममा कुम्भमेलाको आयोजना गरिएपछि त्यहाँ हरेक वर्ष माघ महिनाभरी १२ राशी मकर मेला लाग्दै आएको छ । गोदावरी धाम गोदावरी नदीमा आउने बाढीले संकटमा पारेका भन्दै आयोजकहरुले प्रधामनन्त्री समक्ष धाम जोगाउन पनि आग्रह गरेका थिए ।

माघ १ गतेबाट सुरु हुने बाह्र राशि दर्शन मकर मेलाको सबै तयारी पुरा भएको आयोजकले जनाएको छ । मकर मेलाका लागि गोदावरी क्षेत्रलाई निकै झकिझकाउ गरी दुलहीझैं सजाइएको छ । मकर मेलामा मूख्य आर्कषणका रुपमा श्रीयन्त्रलाई विशेष सजावट गरिएको छ । श्रीयन्त्रमा १२ राशी र ९ ग्रहको स्थापना गरिएको छ ।

मेला अवधिभर सुदूरपश्चिम लगायत सीमावर्ती भारतका विभिन्न ठाउँबाट लाखौँ भक्तजनले दर्शन गर्ने अपेक्षा गरिएको गोदावरी धाम ब्यवस्थापन समितिका संयोजक पदमराज जोशीले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.