जब सहरा मरुभूमिलाई हिउँले छोप्यो (फोटो फिचर)
काठमाडौँ: विश्वभर जाडोको सिजन चलिरहेका बेला मरुभूमिसमेत यसबाट जोगिन सकेको छैन । विश्वकै सबैभन्दा तातो मरुभूमि सहारामा बाक्लो हिमपात भएको छ। सहाराको प्रवेशद्वार मानिने उत्तरी अल्जेरियाको ऐन सफेरामा रातो माटो सेतो हिउँले ढाकिएको छ। यहाँको एउटा बस्तीमा गत आइतवार १६ इन्चसम्म हिउँ थुप्रिएको छ।
समाचार अनुसार सहारा मरुभूमिको प्रवेशद्वार अल्जेरियाको ऐन सेफरा नगर (जसलाई विश्वकै तातो स्थान पनि भनिन्छ) क्षेत्रमा बाक्लो हिमपात भएपछि त्यहाँका बालबालिकादेखि युवायुवतीसम्म हिउँ खेल्न झुम्मिएका थिए ।
४० वर्षमा तेस्रो पटक
उत्तरी अल्जेरियाको ऐन सेफरामा ४० वर्षमा तेस्रो पटक यस्तो दृश्य देखिएको हो । करिब ३८ वर्षअघि फेब्रुअरी १९७९ मा यहाँ केही घन्टासम्म हिमपात भएको थियो । गत वर्ष डिसेम्बरमा पनि यहाँ हल्का हिमपात भएको थियो । तर, यो साता भने पुरै दिनभरी हिउँ परेको हो ।
४८ डिग्रीसम्म तापक्रम
एलटल पहाडले घेरिएको अल्जेरियाको यो इलाका समुद्री सतहदेखि करिब १००० मिटर माथि छ । गर्मीमा यहाँको तापक्रम ४८ डिग्री सेल्सियससम्म जान्छ । जबकि जाडो यहाँको तापक्रम माइनस १० डिग्रीसम्म झर्ने गरेको रेकर्ड छ।
मौसममा भइरहेको तीब्र बदलावलाई अनुमान गर्दै वैज्ञानिकहरुले अघिल्ला १५ हजार वर्षमा सहारा मरुभूमिम फेरि हराभरा हुने बताएको तथ्य पुष्टि हुने अवस्था यो हिमपातबाट आएको दाबी गरिएको छ ।
जाडोयामका कारण अमेरिकाको न्यूयोर्क र शिकागो समेत कयौँ सहरलाई हिउँले छोपेको छ । अर्कातिर चीनमा जमीनदेखि लिएर घरको छानासम्म पुरै हिउँले कब्जा जमाएको छ ।
तर यही बेला अस्ट्रेलियाको जंगलमा आगो सल्किएको छ । त्यहाँ भीषण गर्मी (करिब ४६ डिग्री) छ । उता अमेरिकाका नदी र तालको पानी हिउँमा परिणत भएका छन् । चीनमा जाडोसँगै सडकमा निस्कन सक्ने अवस्था छैन भने अस्ट्रेलियाको सिड्नीमा भीषण गर्मीले सडकसम्म पगाल्ने अवस्था देखिँदैछ ।