खप्तड गोल्डकपको उपाधि नेपाल आर्मीको पोल्टामा
धनगढीः धनगढीमा भएको सर्वाधिक पुरस्कार राशिको सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले कब्जा गरेको छ ।
सोमबार धनगढी रंगशालमा भएको फाइनल खेलमा अर्को विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफलाई पराजित गर्दै आर्मीले उपाधिमा कब्जा जमाएको हो ।
निर्धारित समयमा कुनै पनि टिमबाट गोल हुन नसकेपछि खेलको नतिजा पेनाल्टी सुटआउट मार्फत निकालिएको थियो । आर्मीले एपीएफलाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले पराजित गरेको हो । उपाधिसँगै आर्मीले नगद ११ लाख ११ हजार १ सय ११ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ ।
एपीएफका जर्सी नम्बर १२ का खेलाडी सुदिप सिन्ग्राकारले हानेको प्रहार पलमा लागेर फर्किएपछि एपीएफले उप विजेतामा चित्त बुझाउन परेको हो । योसँगै उपविजेता एपीएफले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँमा चित्त बुझाएको छ ।
म्यान अफ द फाईनल आर्मीका नवयुग श्रेष्ठ भए । निर्धारित समयको खेलमा दुवै टोलीले राम्रा अवसर सिर्जना गर्दै खेलको सुरुवात गरेका थिए । तर आर्मी र एपिएफ दुवैले एक अर्काको डिफेन्स तोड्न नसक्दा निर्धारित समयमा एउटा पनि गोल नभएको हो । खेलको २१ औँ मिनेटमा अन्जन विष्टले एपीएफलाई अग्रता दिलाउने मौका गुमाएका थिए ।
यस्तै खेलको ३१ औँ मिनेटमा आर्मीका जर्ज प्रिन्स कार्कीको फोरी किक एपिएफका गोलकिपर अमृत चौधरीले बचाएका थिए । यसै गरी जर्ज प्रिन्सले ३७ औँ मिनेटमा बक्स बाहिरबाट गरेको प्रहार पनि अमृतले बचाएका थिए ।
प्रतियोगितामा आर्मीका कप्तान भरत खवासले उत्कृष्ट खेलाडी हुँदै यामाहाको मोटरसाइकल पुरस्कार पाए । यस्तै उत्कृष्ट गोलकिपर आर्मीका विकेश कुथु, उत्कृष्ट डिपेन्डर एपीएफका टोप विष्ट, उत्कृष्ट फरवार्ड आर्मीका सन्तोष तामाङ र राईजीङ प्लेयर सुदुरपश्चिम ११ का गोलकिपर अमानत शेख घोषीत भए । तीनैजनाले नगद १५–१५ हजार नगद प्राप्त गरेका छन् ।
उपाधि जितेपछि प्रतिक्रिया दिँदै त्रिभुवन आर्मी क्लबका प्रशिक्षक नवीन न्यौपानेले दुवै टिमले उत्कृष्ट प्रदर्शन गरेको बताए । उनले पेनाल्टी सुटआउटबाट विजयी हुनु परेकाले आफ्नो टिमलाई भाग्यले साथ दिएको बताए ।
यस्तै एपीएफका प्रशिक्षक रत्नकाजी महर्जनले लगातार खेल खेल्न परेपनि खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेको तर पेनाल्टीमा भाग्यले साथ नदिँदा पराजित भएको बताए । आइतबार मात्रै एपिएफले आयोजक सुदूरपश्चिम ११ सँग खेल खेलेको थियो ।